१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मुलुकका स्वास्थ्य संस्थाले दिने सेवाप्रति अविश्वास वा गुणस्तरमा कमी?

नेताहरूको विदेशमा उपचार

बाँयाबाट क्रमशः प्रथम राष्ट्रपति रामवरण यादव, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा।

डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै छ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य परीक्षणका लागि मंगलबार सिंगापुरतर्फ लागेका छन्। देउवा दम्पती नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गरेका छन्। यसपटक पनि नियमित स्वास्थ्य जाँच गराउन सिंगारपुर गएको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। ‘खास के भएको हो थाहा छैन, उहाँ नियमित स्वास्थ्य परीक्षण गराउन सिंगापुर नै जानुहुन्छ,’ उनले भने।

नियमित स्वास्थ्य परीक्षण होस् या सानो/ठूलो रोग लागेमा नेताहरू विदेशमा जाने चलन पुरानै हो। तत्कालीन राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतले भारत, चीन, जापान, थाइल्यान्ड, सिंगापुरलगायत देश पुगेर उपचार गराएका छन्।

डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै छ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा भिभिआइपी र भिआइपीको उपचार गर्न छुट्टै व्यवस्था छ। पछिल्लो समय सरकारी र निजी दुवै तहका अस्पताल जटिल रोगको पनि उपचार गर्न सक्षम भएको चिकित्सक बताउँछन्। ‘हामीले धेरै रोगको उपचार नेपालमै गर्न सक्छौं भनेका छाै, नेपालमा उपचार हुन नसक्ने अति जटिल रोगका लागि मात्र राज्यको उच्च तहमा रहेका नेताहरूलाई विदेश जान सिफारिस गर्छौं तर कतिपय नेताहरू आफ्नो छनोटका कारण विदेश जान्छन्,’ वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने। उनका अनुसार विदेश गएर उपचार गराउनुपर्ने भएमा मेडिकल बोर्डले सिफारिस गर्छ।

‘उपचार कहाँ गर्ने? कसरी गर्ने भन्ने व्यक्तिको रोजाइ हो, यसमा चिकित्सकले कुनै अंकुश लगाउन मिलेन,’ उनले भने। आर्थिक पहुँचका कारणले पनि कतिपय नेताहरू उपचार गराउन विदेश जाने गरेको पौडेल बताउँछन्। ‘व्यक्तिहरू खर्च गर्ने क्षमता र सामाजिक प्रतिष्ठाका कारण पनि उपचार गराउन विदेश जान्छन्,’ उनले भने। कतिपय सांसद र दुवैजना पूर्वराष्ट्रपतिले वीरमै आएर दाँतको उपचार गराएको उनले स्मरण गरे। आफ्नै देशको स्वास्थ्य उपचार प्रणालीमा विश्वास नलागेर पनि नेताहरू विदेश जाने गरेको उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहायक निर्देशक डा. सन्तकुमार दास स्वास्थ्य उपचारतर्फ नेपालले राम्रै फड्को मारे पनि कतिपय नेताहरूमा अहिले पनि उपचार गराउन विदेश जानुपर्ने मानसिकता कायमै रहेको बताउँछन्। ‘नेपालमा उपचार हुने रोगका लागि पनि नेताहरू विदेश जान्छन्,’ उनले भने।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहायक निर्देशक डा. सन्तकुमार दास स्वास्थ्य उपचारतर्फ नेपालले राम्रै फड्को मारे पनि कतिपय नेताहरूमा अहिले पनि उपचार गराउन विदेश जानुपर्ने मानसिकता कायमै रहेको बताउँछन्।

नेपालमा पनि ठुला रोगको उपचार हुन थालेपछि कतिपय नेताहरूमा विदेश जाने क्रम रोकिएको डा. दासले औंल्याए। उनका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै गराएका थिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निमोनियाको उपचार पनि यसै अस्पतालमा भएको थियो। कतिपय चिकित्सकले सामान्य रोगको उपचारमा पनि विदेश जान सुझाउने गर्दा नेताहरू विदेश जाने गरेको पाइएको पनि डा. दासले बताए।

प्रसूति गृह अस्पतालका पूर्वनिर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले कतिपय नेतालाई लागेको रोगको उपचार नेपालमै सम्भव भए पनि उनीहरू विदेश जाने गरेको बताए। ‘स्वास्थ्य उपचारका लागि अब विदेश जानुपर्छ भन्ने छैन, नेताहरू भने आफैंले निर्माण गरेको स्वास्थ्य सेवा प्रणालीप्रति विश्वास नभएर विदेश उपचार गराउन जान्छन्,’ उनले भने।

डा. गौतमका अनुसार नेपालमा चिकित्सा क्षेत्रमा अन्य देशकै जत्तिको सक्षम जनशक्ति छ तर स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक प्रणाली र उपकरणको कमी छ। यसैकारण नेताहरू विदेश जाने गरेको उनले बताए। ‘सक्षम चिकित्सक भएका अस्पतालमा छिटो सेवा, पर्याप्त उपकरणको कमी छ,’ उनले भने।

देशका स्वास्थ्य संस्थालाई कुनै न कुनै रूपमा कमजोर बनाएर विदेश धाउने नेताहरूको प्रवृत्ति र आफैंले निर्माण गरेका स्वास्थ्य संस्थाप्रति विश्वास नगर्नु मुलुकका लागि घातक भएको उनले बताए। स्वास्थ्य सेवालाई गुणस्तर बनाउनेतर्फ सरकारकै ध्यान पुग्न नसकेको पनि उनले बताए। स्वास्थ्य सेवा थप भरपर्दो र आधुनिक उपकरणलेयुक्त बनाउन यस क्षेत्रमा बजेट बढाउनुपर्ने उनको माग छ।

डा. गौतमका अनुसार छिमेकी राष्ट्र भारतले अल इन्डिया मेडिकलबाट मात्र दैनिक २५ हजार बिरामीको निःशुल्क उपचार गर्ने क्षमता विकास गरेको र आफ्नो देशबाट बाहिरिएका चिकित्सकलाई फिर्ता बोलाएर स्वास्थ्य प्रणाली बलियो बनाएको बताए। उनले यसबाट नेपालले पनि सिक्नुपर्ने बताए। ‘भारतले अमेरिकामा रहेका भारतीय चिकित्सकलाई स्वदेश फर्काएको छ। बंगलादेशका नेता पनि बिरामी परे भने उपचार गर्न विदेश जाँदैनन,’ उनले भने।

डा. गौतमका अनुसार नेपालमा चिकित्सा क्षेत्रमा अन्य देशकै जत्तिको सक्षम जनशक्ति छ तर स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक प्रणाली र उपकरणको कमी छ।

जनस्वास्थ्य विज्ञ डा. झलक गौतम शर्माका अनुसार मुलुकमै पर्याप्त स्वास्थ्य उपचार सेवा हुँदाहुँदै पनि नेताहरू विदेश जानु भनेको आफ्नै स्वास्थ्य प्रणालीप्रतिको अविश्वास हो। विदेश उपचारमा जाँदा प्रतिष्ठा बढ्ने गलत मानसिकताबाट नेताहरू मुक्त हुन नसकेको उनले बताए। डा. गौतमका अनुसार नेताहरू विदेशमा उपचार गराउन जाँदा देशको स्वास्थ्य प्रणाली राम्रो छैन भन्ने सन्देश जान्छ, यसतर्फ नेता नै सजग हुनुपर्छ।

नेताहरू स्वास्थ्य उपचारका लागि विदेश जाँदा मुलुकका स्वास्थ्य संस्थाप्रति अविश्वास पैदा हुने मात्र होइन, देशको पैसा पनि बाहिरिन्छ। नेताहरू राज्यकोषबाट उपचार खर्च पाइने भएकाले पनि विदेश जाने प्रवृत्ति मौलाएको देखिन्छ। अब नेताहरू उपचार गर्न विदेश होइन, मुलुकका स्वास्थ्य संस्थालाई आधुनिक, गुणस्तरीय र भरपर्दा बनाउनेतर्फ लाग्नुपर्ने डा. गौतम बताउँछन्। नेपालको स्वास्थ्य प्रणालीप्रति विश्वास बढाउन अस्पतालमा दु्रत सेवा, आवश्यक जनशक्ति, उपकरण र अन्य सुविधाको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। गुणात्मक र मात्रात्मक सेवा विस्तार गर्न सकेमा उपचारका लागि विदेश जाने प्रवृत्ति रोक्न सकिन्छ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App