coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कटौती गरेको सेवा सुरु नगर्दा क्यान्सरका बिरामी मर्कामा

भक्तपुर क्यान्सर अस्पतालले कटौती गरेको रेडियोथेरापी सेवा पुनः सञ्चालन नहुँदा क्यान्सरका हजारौँ बिरामी मर्कामा परेका छन्। क्यान्सर रोगको रोकथाम र उपचारमा संलग्न काठमाडौं उपत्यकामा सञ्चालित एक मात्र सरकारी अस्पताल भए पनि यसले यस्तो सेवा कटौती गरेपछि कयौं बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन्। कतिपय बिरामी भने अनिश्चित पालो कुरेर बस्न बाध्य छन्।

अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेलले २०७९ फागुन १ गते नै रेडियसन अन्कोलोजी विभागलाई लेखेका पत्रमा २०७९ चैत १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो सेवा (इएचएस) बन्द गरेको जानकारी गराएका थिए। तर अहिलेसम्म पनि अर्को व्यवस्था नभएकाले बिरामी मर्कामा परेका हुन्।

गएको चैत १ गते सिटी स्क्यान गरिएको आफ्नो ३१ महिने भानिजलाई डक्टरले १५–१६ दिनपछि रेडियोथेरापी गर्नुपर्ने बताएका तर आजसम्म कहिले गर्ने भन्ने कुनै पत्तो नभएको मामा शिव निरौलाले बताए। पाँचथरको कुमायक गाउँपालिका–५ का बालक गत साउनमा उपचारका लागि काठमाडौं ल्याइएका थिए। १४ पटक किमो दिनुपर्नेमा अस्पतालमा भएको ढिलाइले १० चोटि मात्र दिन पाएको उनको भनाइ छ। आफैं भाडामा बस्दै आएका शिव भन्छन्, ‘निजी अस्पतालमा निकै महँगो छ, उपचार गराउनै सकिन्न, त्यसैले भानिज र बहिनी दुवैलाई आफूसँगै राख्दै आएको छु।’

यसैगरी सिन्धुपाल्चोकको साँगाचोककी शान्ति तामाङले सिटी स्क्यान गरेको चैत २० गते २ महिना पुग्छ। उनलाई डक्टरले रेडियोथेरापीका लागि खबर आउँछ भनेका छन्। शान्ति भन्छिन्–मोबाइलको घन्टी बज्यो कि अस्पतालकै फोन होला भनेर हेर्छु तर अहिलेसम्म आएको छैन। अस्पतालमै बुझ्न जाँदा पनि पालो आएको छैन भन्छन्। ख्वै कहिले आउने हो पत्तै छैन।

अस्पतालले चैत १ गतेदेखि विस्तारित स्वास्थ्य सेवा (इएचएस) अन्तर्गतको रेडियोथेरापी सेवा बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन्। यसअघि प्रतिदिन १ सय जना भन्दा बढीले रेडियोथेरापी सेवा पाइरहेकामा त्यसयता करिब ४० जनाको हाराहारीमा मात्र सेवा उपलब्ध गराइने गरिएको छ।

रेडियोथेरापी गरेको यो अस्पतालमा ७५ हजारदेखि १ लाख १५ हजार रूपैयाँसम्म शुल्क लाग्छ भने अन्य निजी अस्पतालमा २ लाखबाट सुरु भएर ३ लाख ५० हजार रुपियाँसम्म लिने गरिन्छ। त्यसैले यही अस्पतालका बिरामी मात्र नभई अन्य सरकारी अस्पतालले समेत यहीँ रिफर गर्ने भएकाले बिरामीको चाप बढी हुने गर्छ।

यही कारण यो अस्पतालमा इएचएस सेवाअन्तर्गत बिहान ६ बजेदेखि रातको १२ बजेसम्म रेडियोथेरापी सञ्चालन गर्दै आएको तर हाल भने कार्यालय समयबाहिर यस्तो सेवा सञ्चालन नभएका कारण धेरै बिरामी लामो पालो कुर्न बाध्य भएको अन्कोलोजी विभागका डा. उज्ज्वल चालिसेले जानकारी दिए। उनका अनुसार अहिले यही कारण आज सिटी स्क्यान गरेको बिरामीको रेडियोथेरापी गर्न ३ महिनाभन्दा पछि मात्र पालो आउने अवस्था सिर्जना भएको छ।

बाग्लुङको काठेखोला गापा–७ बौराकी गङ्गा बिक त रेडियोथेरापी भन्दा पहिले गर्नुपर्ने सिटी स्क्यानकै लागि लामो पर्खाइमा छिन्। फोक्सोमा क्यान्सर भएकी उनलाई फागुन तेस्रो साता अस्पतालले वैशाख २७ गते आउन भनेको छ। यति धेरै अवधि काठमाडौँमा बस्ने खर्च नभएकै कारण आफूहरू बाग्लुङ नै फर्किएको छोरा भीमबहादुर बिकले जानकारी दिए। डा. चालिसेका अनुसार सिटी स्क्यान गर्न पनि डेढ महिनाभन्दा बढी समय कुनुपर्ने अवस्था छ।

सञ्चालन भइरहेको सेवा रोक्ने निर्णयप्रति अस्पतालकै वरिष्ठ डक्टरहरूसमेत असन्तुष्ट छन्। चालिसे उक्त सेवा सुचारु गराउन आफूहरूले पनि अस्पताल प्रशासनलाई पटक–पटक अनुरोध गरेको तर किन ढिलाइ भइरहेको छ भन्नेबारे बुझ्न नसेकेको बताए। उक्त अस्पतालका पूर्वमेडिकल डाइरेक्टर तथा हाल सिनियर कन्सल्टेन्ट सर्जनमा कार्यरत प्राडा ऋषिकेशनारायण श्रेष्ठ बिरामीलाई मर्का पर्ने यस्तो सेवा चाँडै सञ्चालन नगरे बिरामीको जुलुस निकालेर दबाब दिने बताउँछन्।उनले लिखितरूपमै अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदै यसो गर्नु निजी अस्पताल पोस्ने खेल हुन सक्ने दाबी गरेका थिए।

कार्यालय समयबाहिर यस्तो सेवा उपलब्ध गराएबापत अन्कोलोजी विभागका कर्मचारीले थप पारिश्रमिक पाउँछन्। अन्य विभागका कर्मचारीले यस्तो सुविधा आफूहरूले पनि पाउनुपर्ने दाबी गरेपछि विवादकै कारण इएचएस सेवाअन्तर्गतको रेडियोथेरापी बन्द गरिएको थियो।

अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेल भने विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ लागु गर्ने क्रममा सेवा केही प्रभावित भएको तर अब समस्या समाधान हुने बताउँछन्। उनले भने, ‘हामी सेवाग्राहीको मर्काप्रति जानकार छौं, गम्भीर पनि छौं। अब यो समस्या कार्यविधिअनुसार चाँडै समाधान हुन्छ।’

प्रकाशित: १७ चैत्र २०७९ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App