८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सुदूर पश्चिममा पुनः कोरोना संक्रमण

फाइल तस्वीर

सुदूर पश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ। कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। यो तथ्यांकमा केही दिनअघिका कोरोना संक्रमितको संख्या समेत समेटिएको निर्देशनालयले जनाएको छ।

पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो। कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ। निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्था मार्फत लगाउन थालिएको बताए।

सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ।

स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ। कोरोनाको संक्रमण भएकाले संक्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ।

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूर पश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमुना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रासस

प्रकाशित: २ चैत्र २०७९ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App