१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘भूत बंगला’ जस्तै देखिन्छ, बेनी अस्पतालको अलपत्र भवन

बेनी अस्पतालको निर्माणाधीन भवन। तस्बिर: हरिकृष्ण गौतम

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शैय्याको निर्माणाधीन बेनी अस्पतालको भवन अलपत्र परेको छ।

निर्माण व्यवसायी हराएको सूचना सहितको तस्बिर सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्री सहित विभागीय मन्त्रीलाई ध्यानाकर्षण, ठेकेदारलाई पटक पटक लिखित ताकेतालाई समेत नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष एवम् ठेकेदार रवीसिंहल श्रेष्ठले अटेर गरेपछि भवनले गति लिएको छैन्।

निर्माणाधीन अवस्थामा रहेको भवनभित्र झार पलाएको छ, निर्माण सामाग्री यत्रतत्र छरिएको छ। तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो।

२० मंसिर २०७६ भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको तीन वर्ष बितिसक्दा समेत अस्पतालको भवन निर्माण योजनाका काम करिब करिब ६५ देखि ७० प्रतिशत मात्रै सकिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बताए।

‘ठेकेदारले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेका छन्,‘विभागीय निर्देशनलाई समेत अटेर गरेको देखिन्छ’ अध्यक्ष सुबेदीले भने।

उनले निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण जोन अस्पताल सहितको धेरै अवसर गुमेको बताए। बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका सांसद हरि भण्डारी सहितको टोलीले अलपत्र भवनको अनुगमन गरी सम्बन्धित निकायलाई आलु आवभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ।

केही दिन अगाडी प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत भेटेर अलपत्र भवनका बारेमा जानकारी समेत गराइएको प्रदेश सांसद हरि भण्डारीले बताए।

‘प्रधानमन्त्रीको सचिवालयबाटै दवाव दिइरहेका छौ, ‘अब काममा फर्किने संकेत देखिएको छ’ सांसद भण्डारीले भने।

अस्पतालले भवन समयमै नसकिँदा अस्थायी संरचनाबाटै स्वास्थ्य उपचार सेवा दिँदै आएको छ। अस्पतालको निर्माणाधीन भवन भूत बंगला जस्तै देखिन्छ। 

बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्। भवन निर्माण आयोजना कार्यालय बागलुङले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरे भन्दा ७१ लाख बढी भुक्तानी दिएको महालेखाको ५९ र्औ प्रतिवेदनमा उल्लेख गरेको थियो।

केही वर्ष अगाडी बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिस गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएको बेनी अस्पताल जनशक्ति र भौतिक संरचनाको अभावले अहिले सेवा प्रवाहमा सेवाग्राहीले गुनासो गर्ने थलो समेत बनेको छ।

बेनी अस्पतालमा शल्यक्रियामार्फत हुने जटिल प्रसूतिलगायतका शल्यक्रिया सेवाका साथै जोखिम अवस्थामा आएका बिरामी समेत उत्साहित हुँदै गरेका धेरै समाचारले बिरामीको चाप ह्वात्तै बढेकोमा अहिले भौतिक संरचना र जनशक्तिको अभावले सेवा प्रवाह खस्किँदै गएको अपाङ संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीको बताए।

अस्पतालको यो अवस्थाले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने चुनावमा दलले सार्वजनिक गर्ने घोषणालाई यस्तै भवनले गिजाईरहेको छ।

प्रकाशित: १ चैत्र २०७९ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App