६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट बञ्चित

सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन देशभर स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरेको छ। विशेष गरी आर्थिक रुपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुराउने लक्ष्यका साथ मुलुकमा 'स्वास्थ्य बिमा कार्यक्रम' सुरु भएको हो।

तर कर्णाली जस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भएपनि अझै विपन्न नागरिक अपेक्षित रुपमा स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बीमाका फाइदाबारे जानकारी नपाउदा,र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखौ विपन्न नागरिक अझै स्वास्थ्य बीमा कार्यक्रमबाट बञ्चित भएका छन्।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ। जसमध्ये स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ६ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका तीन चौथाई नागरिक बीमा कार्यक्रमबाट बञ्चित रहेका छन्। करिब १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा हाल सम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेको सरकारी तथ्यांक छ। जुन कुल जनसंख्याको २१ प्रतिशत मात्रै हुन आउँछ। 

यसरी हेर्दा कर्णाली प्रदेशका १३ लाख ३८ हजार २ सय ६६ जना अर्थात ७९ प्रतिशत नागरिक अझै स्वास्थ्य बीमाबाट बञ्चित रहेको तथ्यांकले देखाएको छ। वार्षिक ३५ सय रुपैया तिरेपछि ५ जनाको परिवारले १ लाख सम्मको निशुल्क उपचार पाउने व्यवस्था छ। 

बीमाबारे शिक्षा दिन नसक्नु सरकारकै कमजोरी रहेको रहेको जुम्लाका राजबहादुर महत बताउँछन्। 'बीमाको सेवा प्रवाह केहि ढिलासुस्ती छ, धेरै जनतालाई थाहा पनि छैन' उनी भन्छन् 'बीमामा आवद्ध भएकाहरुले भने कार्यक्रमबाट राहत पाएका छन्।'

प्रदेश सरकारले सबै नागरिकलाई बीमाको पहुँचमा पुराउने नीति ल्याउनु जरुरी रहेको उनको बुझाइ छ। कर्णालीमा २०७४ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। सुर्खेतमा बढी र डोल्पामा कम कर्णाली प्रदेशका साढे तीन लाख नागरिक स्वास्थ्य बीमित भएका छन्।

कार्यक्रम संचालन भएको ५ वर्ष बित्दा कर्णालीमा करिब १७ लाख जनसंख्या रहेकोमा हाल सम्म ३ लाख ५६ हजार ६ सय ३८ नागरिक मात्रै बीमाको पहुँचमा पुगेका हुन्। जस मध्ये जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बीमाको पहुँचमा पुगेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय जुम्लाले जनाएको छ। करिब १ लाख २० हजार जनसंख्या रहेको जुम्लामा अझै ५२ हजार २ सय ६२ बढी नागरिक बीमाबाट बञ्चित रहेको पाइन्छ।

यदपी, बीमाको पहुँच विस्तार तथा सचेतनाको कार्यक्रम अघि बढेको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका लागि सेवा क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ। त्यस्तै राष्ट्रिय बीमा बोर्डको तथ्यांक अनुसार सुर्खेतका ७५ हजार ४ सय २३ जना, दैलेखका २० हजार ३ सय ४४ जना, हुम्लाका १४ हजार १ सय ४२,सल्यानका ९ हजार २ सय १ नागरिक बीमाको पहुँचमा पुगेका छन्।

साथै डोल्पाका २ हजार ६ सय ६०, रुकुम पश्चिमका ७० हजार २ सय ५१, जाजरकोटका ४४ हजार २ सय १७, कालिकोटका ४५ हजार ५ सय ५४ र मुगु जिल्लाका ६ हजार ९३ जना गरी कर्णालीका जम्मा ३ लाख ५६ हजार ६ सय २३ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बीमा बोर्डको तथ्यांकमा उल्लेख छ। हालसम्म कर्णालीका सबैभन्दा बढी सुर्खेत र कम डोल्पाका नागरिक बीमित रहेका छन्।

प्रकाशित: ९ माघ २०७९ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App