प्राकृतिक विपत्तिका कारण त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली, नुवाकोट परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको व्यवस्थापन अध्ययन (एमबीएस) कार्यक्रमअन्तर्गतको परीक्षा स्थगित गरिएको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय, डिनको कार्यालयले बुधबार सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन भइरहेको एमबीएस कार्यक्रमअन्तर्गत ‘व्यवस्थापन ५२२ : अन्तर्राष्ट्रिय व्यवसाय’ विषयको भदौ ११ गतेका लागि निर्धारित परीक्षा त्रिशूली परीक्षा केन्द्रमा मात्र स्थगित गरिएको जनाएको हो।
प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण उक्त परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।
स्थगित गरिएको परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायले जनाएको छ।
तर, त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली, नुवाकोट परीक्षा केन्द्रबाहेकका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै एमबीएसको परीक्षा सञ्चालन हुने विश्वविद्यालयले स्पष्ट पारेको छ।
त्रिशूली तथा आसपासका क्षेत्रमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण जनजीवन प्रभावित हुनुका साथै यातायात र भौतिक संरचनामा समेत क्षति पुगेको अवस्थामा परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो।
व्यवस्थापन सङ्कायका सहायक डिन डा. भरत राईद्वारा जारी सूचनामार्फत सम्बन्धित विद्यार्थी, परीक्षा केन्द्र तथा सरोकारवाला सबैलाई स्थगित परीक्षाबारे जानकारी गराइएको छ
प्रकाशित: १० भाद्र २०८३ १६:२४ बुधबार





