१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

हराएका शिक्षक खोज्दै त्रिवि

बिदा रकमबापत दुई अर्ब रुपैयाँ असुली हुन सक्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अध्ययन बिदाको सुविधा लिएर बिदेसिएका शिक्षकहरू हराउँदै गएपछि खोज्न थालिएको छ।

अध्ययन बिदा लिएर त्रिविमा अध्ययन पूरा गरेका/नगरेका र त्रिविमा नफर्केकाहरूका बारेमा खोजबिन गर्न त्रिविले उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा गठन गरेको समितिले पेस गरेको प्रथिवेदनका आधारमा उनीहरूलाई खोज्न थालिएको हो। त्रिविमा हालसम्म चार सय शिक्षक–कर्मचारीले अध्ययन बिदा लिएर त्यसको दुरुपयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले बिदा दुरुपयोग गर्नेहरूसँग रकम असुलउपरका लागि सिफारिस गरेको छ। त्यसो गर्दा दुई अर्बको हाराहारीमा रकम असुली हुन सक्ने अनुमान गरिएको छ। समितिले प्रतिवेदन पेस गरेलगत्तै त्रिवि कार्यकारी परिषद्को बैठकले उपप्राध्यपाक डा. काफ्लेको अध्यक्षतामा दुई सदस्यीय प्रतिवेदन कार्यान्वयन समिति गठन गरी काम अघि बढाएको छ। सोही समितिले कात्तिक १४ गते शुक्रबार सूचना प्रकाशित गरी हराएका व्यक्तिहरूलाई ३५ दिनभित्र इमेलबाट वा प्रत्यक्ष रूपमा समितिलाई सम्पर्क गरी तिर्नुपर्ने रकम बुझाउन आह्वान गरेको छ।

‘खोजबिन समितिको अध्ययन प्रतिवेदनअनुसार हालसम्म त्रिविका चार सय शिक्षक कर्मचारीले विद्यावारिधिबापत पाँच वर्ष र स्नातकोत्तर तह पूरा गर्न दुई वर्षको बिदा लिएको तर अध्ययन पूरा गरे वा नगरेको कुनै सूचना त्रिविमा नदिएका चार सय फेला परेका छन्,’ समिति अध्यक्ष डा. काफ्लेले नागरिकसँग भने, ‘चार समयमध्ये पनि दुई सय त बिदेसिएर अध्ययन बिदा दुरुपयोग गरेको देखियो। यिनीहरूबाट रकम असुल गर्ने हो भने दुई अर्ब रकम असुल हुन सक्ने अनुमान गरिएको छ। चार सयमा दुई सय १३ जना उत्तीर्ण प्रमाणपत्र त्रिविमा पेस नगरेको र एक सय ८७ जना त्रिविमा नफर्केको तथ्यांक छ। त्रिवि कार्यकारी परिषद्ले अध्ययन बिदा दुरुपयोगबाट असुली भएको रकम त्रिविकै विवृत्तिभरण कोषमा राखेर प्रयोग गर्ने निर्णय नै गरिसकेको छ।’

समितिले आफ्नो काम पूरा गर्न शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेको उनले जनाए।

‘अध्ययन बिदा लिएर अध्ययन नै पूरा नगरेका पनि उत्तिकै छन्,’ उनले भने, ‘त्यस्ता शिक्षक–कर्मचारीको संख्या दुई सय हाराहारीमा छ। यीमध्ये कतिपय अवकाश प्राप्त छन् त कतिपय अध्ययन पूरा नगरी त्रिविमै फर्केर काम गरिरहेका छन्। यसरी पनि अध्ययन बिदाको दुरुपयोग गरेको पाइयो।’

प्रतिवेदनले त्रिविले अध्ययन बिदामा पठाएका शिक्षक–कर्मचारी अध्ययनपछि नफर्किंदा वा अध्ययन पूरा नगर्दा एकातिर त्रिविमा प्राज्ञिक क्षति भएको छ भने अर्को तिर त्रिविको गरिमा आँच पुग्नुका साथै आर्थिक क्षति पनि भएको निष्कर्ष निकालेको छ।

त्रिविले शुक्रबार सूचना प्रकाशित गरी समयावधिभित्र सम्पर्क नगर्नेविरुद्ध त्रिवि ऐननियमअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिएको छ। ‘त्रिविले शैक्षिक र प्राज्ञिक उन्नयनका लागि वर्षौंदेखि आफ्ना शिक्षक–कर्मचारीको क्षमता अभिवृद्धि गर्न उच्च शिक्षा हासिल गर्न विद्यावारिधिका हकमा पाँच वर्ष र स्नातकोत्तर तहको हकमा दुई वर्ष सेवासुविधासहित अध्ययन बिदा दिने गरेको छ,’ डा. काफ्लेले नागरिकसँग भने, ‘तर अध्ययन बिदामा गएका शिक्षक–कर्मचारी विदेशमै परिवारसहित बस्ने, विदेशकै विश्वविद्यालयमा पढाउने तथा विदेशमै हराउने गरेपछि त्रिविको ठुलो प्राज्ञिक क्षति भएको देखियो।’

प्रकाशित: १५ कार्तिक २०८२ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App