लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातकोत्तर तहमा पनि अध्यापनको तयारी थालेको छ।
लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको योजना अन्तर्गत २०७९ असार १८ गते बाँकेमा उक्त विश्वविद्यालय स्थापना गरेको थियो। उक्त विश्वविद्यालयले स्थापना लगत्तै नेपालगन्जबाट अध्यापन कार्य गर्दै आएको छ।
विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत एम.टेकइन कम्प्युटर साइन्स र एम.टेकइन आइटी कार्यक्रममा अध्यापन सुरु गर्न लागेको हो। आगामी साउन ७ गतेबाट पठन–पाठन सुरु हुने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोद ढकालले यो कार्यक्रम पश्चिम नेपालकै पहिलो भएको बताए। ‘एम.टेक इन कम्प्युटर साइन्स र एम.टेक इन आइटी विषयमा पढ्ने यस क्षेत्रका विद्यार्थीहरुले जुन अवसर पाउनु भएको छ, यो अत्यन्तै राम्रो हो,’ उनले भने।
स्नातकोत्तर तहमा कार्यक्रम चलाउँदै गर्दा विश्वविद्यालयका सामु अवसर र चुनौती दुवै रहेको उनले बताए। उपकुलपति ढकालले भने, ‘मास्टर डिग्री चलाउने कार्यक्रम जुन सुरु गरेका छौं, एकदमै चुनौती पनि छ, हामी ख्याति प्राप्त विद्धानहरूलाई कक्षा सञ्चालन गर्नेछौँ।’
विश्वविद्यालयका रजिष्ट्रार (कुल सचिव) रेगबहादुर भण्डारीले स्नातकोत्तर तहमा अध्यापन सुरु गर्नुअघि आवेदन माग गरेर प्रवेश परीक्षा गराइएको बताए। ‘विद्यार्थीहरूले आवेदन भरिसकेपछि प्रवेश परीक्षामा सहभागी हुनुभयो, प्रवेश परीक्षामा उर्तीण भएका विद्यार्थीका लागि पठन पाठन सुरु गर्ने हामी अन्तिम तयारीमा छौं,’ भण्डारीले भने। उनका अनुसार दुई वटा कार्यक्रममा ३८ जना विद्यार्थी भर्ना भएका छन्।
अध्यापन गर्दा विश्वविद्यालयले विद्यार्थीको उत्कृष्ट दक्षता र व्यवहारिक ज्ञान प्रदान गर्ने उनले बताए। ‘शैक्षिक विकासका लागि आवश्यक पर्ने जनशक्ति, अत्याधुनिक प्रयोगशाला र नवप्रवर्तनहरू व्यवस्थापनका बारेमा हामीहरू सचेत नै छौं, त्यसैअनुरूप कार्यान्वयनका लागि अघि बढ्नेछौँ, सफलताको सूत्र परिश्रम, दृढ सङ्कल्प र निरन्तर अभ्यास हो,’ कुल सचिव भण्डारीले भने।
विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले पछिल्लो समयमा सूचना प्रविधिको प्रचुर सम्भावना रहेको बताए। ‘अहिलेका युगमा हामीहरू सूचना प्रविधिको घनघोर जंगलमा छौं, लुम्बिनी प्राविधिक विश्वविद्यालयले सूचना प्रविधिमा नयाँ कार्यक्रम ल्याएको छ,’ उनले भने।
विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन निरज केसीले सञ्चालित कार्यक्रम अन्तर्गतका विषयहरू अत्यन्तै उपयोगी रहेको बताए।
आर्थिक वर्ष ०८०/८१ बाट विश्वविद्यालयले इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तहमा पनि बिटेक इन आइटी, बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई, बिटेक इन आइटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङ गरी चार वटा कार्यक्रममा अध्यापन गर्दै आएको छ। उक्त कार्यक्रममा १ सय ७० जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।
विश्वविद्यालयले छोटो समयमै गरेको कार्यप्रगतिको प्रशंसा गर्दै म्यानेजमेन्ट एसोसिएसन नेपालका महासचिव ईन्द्रकुमार श्रेष्ठले एम.टेकइन कम्प्युटर साइन्स र एम.टेकइन आइटीमा विद्यार्थीको भविष्य सुन्दर रहेको भन्दै विचलित नभएर यस क्षेत्रमै लाग्न सुझाव दिए।
एम. टेक ईन सिएसका विद्यार्थीद्वय प्रदिपश्री अधिकारी र अञ्जली शर्माले लुम्बिनी प्राविधिक विश्वविद्यालयकै भएकै कारण घरमै बसेर जागिरसँगै स्नातकोत्तर तहमा पढ्ने अवसर मिलेको बताएका छन्।
प्रकाशित: २८ असार २०८२ २१:३१ शनिबार





