सामान्य वर्षामै विद्यालय परिसर डुबानमा पर्ने र कक्षाकोठासम्म पानी पस्ने समस्या रौतहटको दुर्गा भगवती गाउँपालिकाका सामुदायिक विद्यालयमा वर्षौंदेखि दोहोरिँदै आएको छ।
वर्षाको पानी निकासको उचित व्यवस्था नहुँदा विद्यालयको भौतिक अवस्था मात्रै प्रभावित भएको छैन, विद्यार्थीको नियमित पठनपाठनसमेत जोखिममा पर्ने गरेको पाइएको छ।
साउन २८ गते दिउँसो परेको वर्षापछि दुर्गा भगवती–१ गंगापिपरास्थित जनता प्राथमिक विद्यालय तथा वडा नं. ५ बडहर्वाका दुई आधारभूत प्राथमिक विद्यालय परिसरमा पानी जमेको थियो। पानीको निकास नहुँदा विद्यालय हाताभित्रै जलमग्न बनेको स्थानीयको भनाइ छ।
विद्यालय परिसरमा पानी जमेको कारण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवतजावतमा समस्या हुने गरेको स्थानीय राजेश ठाकुरले बताए।
कक्षाकोठामा पानी पस्ने अवस्थाले विद्यालयको शैक्षिक वातावरणसँगै भवन, फर्निचर तथा शैक्षिक सामग्रीको सुरक्षामाथि समेत प्रश्न उठेको ठाकुरको कथन छ।
विद्यालय भवन तथा पूर्वाधारका लागि हरेक वर्ष बजेट तथा अनुदान आउने गरे पनि वर्षायाममा डुबानमा पर्ने विद्यालयको समस्या समाधान हुन सकेको छैन।
आवश्यकता भन्दा बढी भवन निर्माणमा जोड दिइएको तर जोखिममा रहेका विद्यालयमा पानी निकास, परिसर उकास र सुरक्षित कक्षाकोठाजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो छ।
भवन थपिँदैछन्, तर विद्यार्थी पढ्ने वातावरण असुरक्षित
स्थानीय अभिभावकले गाउँपालिकाको शिक्षा नीति र पूर्वाधार विकासको प्राथमिकतामाथि प्रश्न उठाएका छन्। विद्यार्थीको चाप र भौगोलिक जोखिमलाई आधार बनाएर विद्यालयको पूर्वाधार योजना बनाउनुपर्ने उनीहरूको भनाइ छ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न तथा ग्रामीण परिवारका हुने भएकाले विद्यालयलाई सुरक्षित र व्यवस्थित बनाउनु स्थानीय सरकारको प्राथमिक दायित्व भएको अभिभावकहरू बताउँछन्।
हाल विद्यालय बन्द रहे पनि भदौ १ गतेदेखि पठनपाठन सुरु हुँदैछ। विद्यालय खुल्नुअघि पानी निकासको स्थायी व्यवस्था, परिसरको उचाइ बढाउने काम तथा कक्षाकोठा संरक्षण नगरे वर्षासँगै पठनपाठन प्रभावित हुने जनता प्राथमिक बिद्यालयका प्रधानाध्यापक मुकेश चौधरीको भनाइ छ।
वर्षौंदेखि एउटै समस्या दोहोरिँदा पनि समाधान हुन नसक्नुले विद्यालय पूर्वाधारमा विनियोजित बजेटको प्राथमिकता, कार्यान्वयन र अनुगमनमाथि गम्भीर प्रश्न उठेको छ। विद्यालय खुल्नुअघि नै डुबानको समस्या समाधान गरी विद्यार्थीका लागि सुरक्षित र नियमित सिकाइ वातावरण सुनिश्चित गर्न स्थानीय अभिभावकले गाउँपालिका तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित: ३० श्रावण २०८३ ११:३९ शनिबार





