३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापनापछि नागरिकता प्रदान गरिने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा भदौ ५ गतेबाट इलाका प्रशासन कार्यालयको सेवा सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तेल्लोकमा ५ गते इलाका प्रशासन कार्यालय स्थापना हुने र सोही दिनदेखि त्यहीँबाट नागरिकतासहितका सेवा आरम्भ हुने जानकारी दिए। 

सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी इलाका प्रशासन कार्यालय तेल्लोकबाट सेवा प्रवाह हुने छ। प्रजिअ दाहालका अनुसार इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने अघिल्लो दिन भदौ ४ गतेसम्म मात्र जिल्ला प्रशासन कार्यालयले सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका नागरिकलाई नागरिकता वितरण गर्ने छ। 

‘इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालयको क्षेत्राधिकारभित्रका नागरिकलाई नागरिकता दिँदैनौँ,’ दाहालले भने। उनले भदौ ५ गतेदेखि सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालय तेल्लोकबाटै नागरिकता प्रमाणपत्र लिनुपर्ने जानकारी दिए।  

जिल्ला प्रशासन कार्यालयले सिरिजङ्गा र सिदिङ्वा दुवै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका जनप्रतिनिधि, दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा तेल्लोक र सिनाममा रहेका क्रमशः इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेसक्याम्पका सुरक्षा प्रमुखसहित सरोकारवालालाई इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा निम्तो दिएको छ। 

प्रजिअ दाहालले इलाका प्रशासन कार्यालयमा कम्प्युटरसहितका प्राविधिक संरचना जडान गर्ने कार्य भदौ २ गतेबाट सुरु हुने बताए। सरकारले इलाका प्रशासन कार्यालयका लागि शाखा अधिकृतसरहका एकसहित छ जनाको दरबन्दी कायम हुने गरी दरबन्दी तेरिज गरे पनि तत्कालका लागि नायब सुब्बा श्यामलाल पन्थीको नेतृत्वमा टोली खटाएको छ। 

पन्थीसहित नासु गोविन्दप्रसाद अधिकारीलाई इलाका प्रशासन कार्यालयमा खटाएको सरकारले पन्थीलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएर कामकाज गर्न भनेको छ। 

जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि तेल्लोक इलाका प्रशासन कार्यालयमा चार जना जनशक्ति खटाउने तयारी गरेको छ। हुलाक कार्यालयका एक जना कर्मचारी, कम्प्युटर अपरेटरको काम गर्ने गरी एक जना कार्यालय सहयोगीलाई कामकाजमा खटाई सेवा सुरु गर्ने र त्यसपछि क्रमशः व्यवस्थापन गर्दै लैजाने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

नागरिकता प्राप्त गरेका व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्रका लागि भर्ने व्यवस्थाका विषयमा समेत छलफल सुरु भएको प्रजिअ दाहालले बताए।  

मतदाता नामावली अद्यावधिक गर्ने, मतदाता नामावलीको ठेगाना सार्ने, सच्याउने र हटाउने कार्य भदौ १५ गतेसम्म कायम रहेकोले सो अवधिमा इलाका प्रशासन कार्यालय तेल्लोकबाट समेत मतदाता नामावली अद्यावधिक गर्ने व्यवस्था मिलाउन जिल्ला निर्वाचन कार्यालयलाई आग्रह गरिएको प्रजिअ दाहालले बताए। 

अहिले जिल्ला प्रशासन कार्यालयबाट सरदर मासिक रूपमा सिरिजङ्गा गाउँपालिकाका करिब सय जनाले नागरिकताको प्रमाणपत्र लिँदै आएको प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: ३० श्रावण २०८३ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App