३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बाबाधाम गएका रौतहटका तीन तीर्थयात्री मध्ये दुईको दाहसंस्कार आजै

भारतको प्रसिद्ध तीर्थस्थल बाबाधाम दर्शनका लागि गएका रौतहट गरुडा नगरपालिका–६ पोठियाहीका तीन तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका दुई जनाको शव नेपाल ल्याएर शनिबार दाहसंस्कार गरिएको छ भने एक बालकको शव प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको छ ।

भारतमा साउन २९ गते भएको सवारी दुर्घटनामा गरुडा नगरपालिका–६ पोठियाहीका करिब ६५ वर्षीय नवलकोशोर चौधरी, करिब ६२ वर्षीया सुन्दरकला देवी र राजेश महतोका करिब १२ वर्षीय छोरा शिवम महतोको मृत्यु भएको हो।

भारतमा पोस्टमार्टमपछि मृतकका आफन्तले साउन ३० गते बिहान करिब ८ः३० बजे शव बुझेर रौतहट ल्याएका थिए। चौधरी र सुन्दरकला देवीको शव पोठियाहीस्थित झाँझ खोलाको शिवनगर घाटमा लगेर दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ।

शवको दाहसंस्कार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी नायब निरीक्षक विजय डिम्डुङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उक्त घाट इलाका प्रहरी कार्यालय शिवनगरबाट करिब डेढ किलोमिटर पश्चिममा पर्छ।

यस्तै, मृतक बालक शिवम महतोको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ। उनका बुवा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले उनी नेपाल आएपछि मात्रै बालकको दाहसंस्कार गरिने बुझिएको छ।

बाबाधाम यात्राका क्रममा भएको दुर्घटनाले गरुडा–६ पोठियाहीमा शोक छाएको छ। दुर्घटनामा थप यात्रुहरू घाइते भएको विवरण यसअघि नै सार्वजनिक भइसकेको छ।

प्रकाशित: ३० श्रावण २०८३ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App