नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा बुधबार दिउँसो तालाबन्दी भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखीले राखेका ५१ बुँदे माग कार्यान्वयन नगरेको भन्दै क्याम्पस प्रमुख लालमणी आचार्यसहित सहायक प्रमुख सुवास गौतम, भुवनेश्वर लामिछाने र बीसीए कार्यक्रम निर्देशक कोषराज रेग्मीलाई कार्यकक्षमै थुनिएको हो।
स्ववियु सभापति केशरजंग शाहीका अनुसार मागपत्र साउन ६ गते प्रशासनलाई बुझाइए पनि अझैसम्म कुनै ठोस कार्यान्वयन नभएको कारण बाध्य भएर तालाबन्दी गरिएको हो। ‘एक महिना बित्दा पनि कुनै प्रगति नदेखिएकाले तालाबन्दी गर्नुपर्यो,’ उनले बताए।
विद्यार्थीहरूले पुस्तकालय व्यवस्थापन गर्दै ईलाइब्रेरीको व्यवस्था गर्नुपर्ने, खेलमैदान व्यवस्थित बनाउनुपर्ने, छात्रावास सञ्चालनमा ल्याउनुपर्ने, कक्षाकोठामा डिजिटल बोर्ड जडान गर्नुपर्ने, प्रयोगशाला र शिक्षक–कर्मचारीको व्यवस्था मिलाउनुपर्ने लगायत शैक्षिक तथा प्रशासनिक सुधारका माग अघि सारेका छन्।
यसबारे क्याम्पस प्रमुख आचार्यले प्रशासनले माग क्रमशः पूरा गर्ने योजना बनाइरहेको बताए। तर, लेखासम्बन्धी केही प्रक्रिया लम्बिएकाले तत्काल हुने काममा समेत ढिलाइ भएको उनले स्वीकार गरे।
प्रकाशित: ११ भाद्र २०८२ १७:४६ बुधबार





