१३ श्रावण २०८३ बुधबार
image/svg+xml
शिक्षा

प्रश्नपत्रभन्दा ठूलो अर्को प्रश्न: एउटा वाट्सएप समूहले उधारेको शिक्षा प्रणाली

त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै वाट्सएपमा पुगेको घटनाले शिक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। भारतमा हालैमात्र यहीँ प्रश्नपत्र बाहिरिएको विषयलाई देशव्यापी प्रदर्शन भयो। शिक्षामन्त्रीको राजीनामासहित तीन वटामात्र सम्बोधन भएपछि आन्दोलन तत्कालका लागि स्थगित भएको छ। लगत्तै यहीँ विषयले नेपालमा पनि गम्भीर प्रश्न उठाएको छ। 

अहिले साइबर ब्युरोले ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरिसकेको छ। तर, यो घटनाको सबैभन्दा ठूलो प्रश्न पक्राउमा होइन, सार्वजनिक भएका स्क्रिनसटहरूले देखाएको मानसिकता र प्रणालीको कमजोरीमा छ।

अनुसन्धानको केन्द्रमा रहेको ‘एमबिएस फष्ट सेम सेक्सन सी’ नामक वाट्सएप समूहका सार्वजनिक स्क्रिनसट हेर्दा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पोस्ट भएको देखिन्छ। त्यसपछि केशव भट्ट नामबाट “सर, सोलुसन पनि पठाइदिनु न” भन्ने सन्देश देखिन्छ। केही मिनेटपछि ‘सुलभ सर’ले अर्को पीडीएफ फाइल पठाएको पनि स्क्रिनसटमा देखिन्छ। त्यसमा के सामग्री थियो भन्ने आधिकारिक रूपमा खुलाइएको छैन। तर, त्यसपछि समूहका अर्का सदस्य सुजन पौडेलले “अब इकोनोमिक्सकोमा ढिला जान पर्ला सर, प्रश्नपत्र यसरी हालिदिनुहोला” भन्ने आशयको सन्देश लेखेको देखिन्छ।

यी संवादहरू कुनै सामान्य च्याटजस्ता लाग्दैनन्। यदि सार्वजनिक भएका स्क्रिनसटहरू अनुसन्धानबाट प्रमाणित भए भने यसले एउटा गम्भीर वास्तविकता उजागर गर्छ, केही विद्यार्थी वा व्यक्तिहरूले प्रश्नपत्र बाहिरिनुलाई असामान्य होइन, सामान्य सुविधा जस्तै स्वीकार गर्न थालेका थिए। प्रश्नपत्र पाएपछि समाधान माग्ने, अर्को परीक्षाको प्रश्नपत्र पनि यस्तै गरी पठाइदिन आग्रह गर्ने प्रवृत्तिले नै हाम्रो शैक्षिक संस्कृतिको चिन्ताजनक चित्र प्रस्तुत गर्छ।

अहिले ‘सुलभ सर’सहित दुई जना पक्राउ परेका छन्। यो अनुसन्धानको सुरुवात हो, अन्त्य होइन। वास्तविक प्रश्न अझै बाँकी छन्—प्रश्नपत्र सबैभन्दा पहिले कसले बाहिर निकाल्यो? त्यो परीक्षा केन्द्रबाट बाहिरियो, छपाइ प्रक्रियाबाट कि वितरण प्रणालीबाट? वाट्सएपमा पोस्ट गर्ने व्यक्ति मात्र दोषी हुन्, वा त्यसअघि नै प्रश्नपत्र बाहिर ल्याउने ठूलो सञ्जाल पनि छ? यी प्रश्नको उत्तर नखोजी केवल पक्राउलाई उपलब्धि मान्नु पर्याप्त हुँदैन।

यो घटनाले अर्को पक्ष पनि देखाएको छ। प्रविधि आफैं दोषी होइन। वाट्सएप एउटा सञ्चार माध्यम मात्र हो। समस्या तब सुरु हुन्छ, जब त्यही माध्यम परीक्षा प्रणालीलाई कमजोर बनाउने साधन बन्छ। त्यसैले समाधान पनि केवल समूह बन्द गराउने वा व्यक्तिलाई पक्राउ गर्ने होइन, प्रश्नपत्रको सम्पूर्ण सुरक्षा प्रणालीलाई पुनरावलोकन गर्ने हो।

त्रिभुवन विश्वविद्यालयले छानबिन समिति गठन गरेको छ भने साइबर ब्युरोले डिजिटल प्रमाण संकलन गरिरहेको छ। अब छानबिन केवल कसले पोस्ट गर्‍यो भन्नेमा सीमित हुनु हुँदैन। प्रश्नपत्र कसरी बाहिरियो, कसले पहुँच दियो, कसले लाभ लिन खोज्यो र यस्तो घटना दोहोरिन नदिन के सुधार आवश्यक छ भन्ने निष्कर्षमा पुग्नुपर्छ।

यो घटनाबाट सबैभन्दा ठूलो क्षति इमानदार विद्यार्थीलाई भएको छ। वर्षभरि मेहनत गर्ने हजारौं विद्यार्थीको मूल्याङ्कनमाथि प्रश्न उठेको छ। यदि परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिन्छ भने त्यो केवल एउटा विषयको प्रश्नपत्र लिक भएको घटना होइन, सम्पूर्ण परीक्षा प्रणालीको विश्वसनीयता कमजोर भएको संकेत हो।

अन्ततः, ‘सुलभ सर’सहित दुई जनाको पक्राउ समाचारको शीर्षक त हुन सक्छ। तर, इतिहासले यो घटनालाई पक्राउका लागि होइन, एउटा वाट्सएप समूहमा सार्वजनिक भएका केही सन्देशहरूले नेपालको उच्च शिक्षा प्रणालीभित्र लुकेको संकट उजागर गरेको घटनाका रूपमा सम्झन सक्छ। अब आवश्यकता दोषी पत्ता लगाउने मात्र होइन, यस्तो अवस्था फेरि दोहोरिन नदिने प्रणाली निर्माण गर्ने हो।

प्रकाशित: १० श्रावण २०८३ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App