१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

एमाले निकट अनेरास्ववियूले क्याम्पसमा तालाबन्दी गरेपछि जग्गा गडबढी प्रकरण छानविनमा समस्या

इटहरीको जनता बहुमुखी क्याम्पस र त्यसले ओगटेको क्षेत्र।

इटहरी उपमहानगरपालिका वडा नं. ५ मा सञ्चालित जनता बहुमुखी क्याम्पसलाई दाताले प्रदान गरेको जग्गामा गडबढी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको तीन महिना बितिसकेको छ।

अख्तियारले जग्गाको विवरणका लागि क्याम्पससँग ताकेता गरेको पनि धेरै पटक भइ सकेको छ। तर, क्याम्पसले जग्गाको विवरण उपलब्ध गराउन सकेको छैन। तीन महिनादेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका कारण जग्गाको विवरण उपलब्ध गराउन नसकेको जनाएको छ।

क्याम्पसको जग्गामा गढबढ भएको जनाउँदै जग्गा दाताका सन्तान हाल काठमाडौँ निवासी जितेन्द्रजंग कार्कीसहितले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरेका हुन्। जितेन्द्रजंगले अख्तियारमा दिएको उजुरीमा कार्की परिवारका तीन जना व्यक्तिको नाममा अलग–अलग रहेको कुल जग्गा एक विघा तीन कट्ठा साढे छ धुर जग्गा उपलब्ध गराएको उल्लेख छ।

तर, क्याम्पसको रेकर्डमा दाता रमेशजंगको नाम उल्लेख नै नभएको र जम्मा दिएको जग्गामा तीन कट्ठा जग्गा नपुग्ने हुँदा त्यसमा चलखेल भएको दाबी गरिएको छ। कार्की परिवारले जग्गा गडबढ गर्ने कार्यमा संलग्न भएको आरोप लगाएर क्याम्पससहित १० जनाविरुद्द उजुरी दिएका हुन्। जसमा राजनीतिक दलका नेता, स्थानीय अगुवा, सरकारी कार्यालयका कर्मचारीलगायत छन्।

क्याम्पसलाई जग्गा प्रदान गर्ने २१ जना दाता रहेको रेकर्डमा उल्लेख छ। ती दाताले उपलब्ध गराएको जग्गामध्ये कतिपयको जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा भेटिदैन। क्याम्पस प्रमुख गीता अधिकारीले विद्यार्थी संगठनको तालाबन्दीका कारण पूराना माइनुट हेर्न नपाउँदा समस्या भएको बताइन्। ‘अहिलेसम्म जग्गा दाता कार्की परिवारले क्याम्पसमै आएर गुनासो गरेकोमा त्यसबारे बुझन पूराना माइनुट हेर्दा क्लियर हुन्छ,’ उनले भनिन्।

उनका अनुसार कतिपय विवाद सञ्चालक समितिले निरुपण गर्नुपर्ने भएपनि त्यसमा चाँसो नदिएकोमा दुखेसो गरिन्। क्याम्पसको रेकर्ड अनुसार कुल जग्गा छ विघा १२ कट्ठा ९.५ धुर रहेको छ। जसमा तीन विघा जग्गा वन उपभोक्ता समूहद्दारा संरक्षण गरि हस्तान्तरण गरिएको छ। अन्य जग्गा भने स्थानीय दाताले उपलब्ध गराएको रेकर्डमा उल्लेख छ।

यसैबीच, जनता बहुमुखी क्याम्पसको छ जना कर्मचारीको पदपूर्ति गर्न परीक्षा लिएको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। त्यसबारे छानविन गर्नका लागि पनि अख्तियारले कागजात माग गरेको छ। तर, क्याम्पसले उपलब्ध गराउनै सकेको छैन। अख्तियारले छानविन गर्नका लागि कागजात माग गर्दा क्याम्पसले तालाबन्दी भएको जनाउँदै कागजात उपलब्ध गराउन सकेको छैन।

यसबीचमा क्याम्पस सञ्चालक समितिले विद्यार्थी संगठनलाई धेरै पटक वार्तामा डाकेर सहज वातावरण बनाउन आग्रह गर्दा पनि कुनै प्रगति हुन सकेको छैन। क्याम्पसमा लामो समयदेखि तालाबन्दी भएर आवश्यक कागजात नै उपलब्ध गराउन नसक्नुको मुख्य कारक भनेको चाँहि राजनीतिक चलखेल नै हो।

क्याम्पस सञ्चालक समिति गठन हुँदा इटहरीका मुख्य राजनीतिक दलकै सहमतिमा गठन भएको थियो। तर, यतिबेला तीनै राजनीतिक दलका नेता क्याम्पसलाई राजनीति गर्ने थलो बनाइ रहेका छन्। अनि, नियमनकारी निकायले गर्ने छानविनमा पनि राजनीतिक दलका नेताहरुकै कारण समस्या भएको जनाइएको छ। 

प्रकाशित: ३ आश्विन २०७९ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App