१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

चालकलाई सडकमै शिक्षा

गाडी चालक र सहचालकलाई सडकमै ट्राफिक नियम सिकाउँदै कालिकोट प्रहरी।

जिल्ला प्रहरी कार्यालय कालिकोटले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमको ‘स्वच्छ सडक अभियान’अन्तर्गत कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले आफू मातहतका प्रहरी युनिटहरूलाई परिचालन गरी चालकलाई सडकमै सचेतना दिन थालेको हो। नाग्म प्रहरी चौकीका प्रहरी नन्दबहादुर रावलको कमान्डमा तीन जनाको टोलीले तिलागुफा नगरपालिकाको-१ नाग्म बजारमा गाडी चालक र सहचालकलाई ट्राफिक नियम तथा सवारी दुर्घटनासम्बन्धी सचेतना दिएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालले कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूलाई सचेतना दिने कार्य गरिरहेको बताए। उनले भने, ‘हामीले राजमार्गसँगै जोडिएका प्रहरी युनिटहरूलाई ट्राफिक नियम र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जोगाउने र गाउँबस्तीमा रहेका प्रहरी युनिटहरूलाई विभिन्न सामाजिक विकृतिहरूका विरुद्ध सचेतना जोगाउने अभियानमा सक्रिय बनाएका छौं।’ यसले सामाजिक अपराध र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।’

प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिकसमेत अग्रसर हुन थालेका छन्। प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा सामाजिक अपराधहरूमा कमी आउनुका साथै नागरिक र प्रहरीको सम्बन्धमा सुधार हुँदै गएको छ।

स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा नेपाल प्रहरीले जिल्लाका नौवटै स्थानीय तहमा विभिन्न सचेतनात्मक क्रियाकलापहरू सञ्चालन गरिरहेको छ। जसले गाउँ टोलमा हुने विभिन्न घरेलु हिंसा, बालविवाह, छाउपडी प्रथा, जातीय छुवाछुत, यौन हिंसा लगायत सबै किसिमका सामाजिक अपराधहरू न्यूनीकरणका लागि सहयोग पुग्ने गरेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०७९ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App