१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कर्णालीमा जहिल्यै पाठ्यपुस्तकको अभाव

फाइल तस्बिर

कालिकोटको महावै गाउँपालिका ५ का रोशन विष्ट स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्। शैक्षिक सत्र सुरु भएको चार महिना बित्दा पनि उनले किताब पाएका छैनन्। ‘किताब नहुँदा कापी बोकेर स्कुल जान्छौं, शिक्षकले कालोपाटीमा लेखेका अक्षर सारेर फर्कन्छौं’, रोशनले भने, ‘किताबबिना नै गरिएको अध्ययनको नतिजा कस्तो होला ?’

रोशनी परियार सोही विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छिन्। उनको कक्षामा २४ जना विद्यार्थी छन्। कुनै पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक छैन। ‘किताबबिना नै स्कुल आउन थालेको चार महिना भयो’, रोशनीले भनिन्, ‘कहिले किताब आउने हो र पढेर पास भइने हो थाहा छैन।’

हुम्लाको सिमकोट गाउँपालिकामा २३ वटा सामुदायिक विद्यालय छन्। यी विद्यालयमा अध्ययनरत कुनै पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक छैन। शिक्षा शाखा प्रमुख वर्ष फडेराले किताब नआइपुग्दा विद्यार्थी समस्यामा रहेको बताए। ‘एजेन्टमार्फत आउनुपर्ने किताब अहिलेसम्म आइपुगेका छैनन्’, उनले भने, ‘शिक्षकले सन्दर्भ सूची हेरेर पढाउनुपर्ने बाध्यता छ।’ सिमकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सदरमुकामकै अवस्था यस्तो हुँदा बाँकी पालिकाका विद्यालयको अवस्था कस्तो होला ?

सडक सञ्जालले जोडिएको कालिकोट र सडक नै नपुगेको हिमाली जिल्ला हुम्लामा मात्रै होइन; प्रदेश राजधानीको जिल्ला सुर्खेतमै विद्यार्थीका हातमा पाठ्यपुस्तक छैन। प्रदेश राजधानी वीरेन्द्रनगरको जेठो विद्यालय जननमुना माविले पाठ्यपुस्तक नहुँदा वैकल्पिक माध्यमबाट पढाउँदै आएको छ। प्रधानाध्यापक यामबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नहुँदा निजी कम्पनीले निकालेका किताब विद्यार्थीका लागि उपलब्ध गराइएको बताए।

 ‘सरकारले उपलब्ध गराउने किताब नआएपछि निजी पब्लिकेसनले निकालेका किताबबाट पढाउन थालेका छौं’, प्रधानाध्यापक श्रेष्ठले भने, ‘प्रदेश राजधानीमै पाढ्यपुस्तकको यस्तो अभाव छ, कर्णालीका दुर्गम क्षेत्रका विद्यार्थीले कसरी पढिरहेका होलान् ?’ प्रधानाध्यापक श्रेष्ठले कक्षा ७ का गणित, विज्ञान र स्वास्थ्य, कक्षा ८ को नैतिक शिक्षा, कक्षा ९ को गणित र विज्ञान, कक्षा १० को स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयका पाठ्यपुस्तक नै नआएको बताए।

कालिकोटमा कक्षा ७, ८, ९ र १० का पाठ्यपुस्तक अहिलेसम्म पुगेको छैन। कालिका माविका प्रधानाध्यापक दीपराज शाहीले पाठ्यपुस्तक समस्या यो शैक्षिक सत्रमा मात्रै नभएर हरेक वर्ष हुने गरेको बताए। ‘जहिल्यै विद्यार्थीले यही समस्या भोग्नुपर्छ। शैक्षिक सत्र सकिने बेला आएका पाठ्यपुस्तक पढेर विद्यार्थीले कसरी सुगमका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकून् ?’

कालिकोटको पचालझरना गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालय छन्। यी विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन। शिक्षा शाखा प्रमुख नमराज शाहीले पाठ्यपुस्तक अभाव हुँदा शिक्षकलाई पढाउन र विद्यार्थीलाई पढ्न समस्या भइरहेको बताए।

कालिकोटका पुस्तक व्यवसायी वीरेन्द्र शाहीले जनक शिक्षाको सुर्खेतस्थित कार्यालयमै पाठ्यपुस्तक अभाव रहेकाले ल्याउन नसकिएको बताए। ‘हामीले पनि जनक शिक्षाले पाठ्यपुस्तक उपलब्ध गराएपछि ल्याएर विद्यालयलाई दिने हो’, उनले भने, ‘सुर्खेतमै छैन, कालिकोटमा कहाँबाट ल्याउनु ?’

शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटका प्रमुख चन्द्रप्रकाश अधिकारीले पाठ्यपुस्तक खरिदको जिम्मा विद्यालयलाई नै दिएकाले कति विद्यालयले पाठ्यपुस्तक पाए/नपाएको तथ्यांक आफूहरूसँग नभएको बताए। उनले पलाँता, सान्नीत्रिवेणी, नरहरिनाथ, महावै, शुभकालिका गाउँपालिकाका साथै रास्कोट, खाँडाचक्र र तिलागुफा नगरपालिकाका केही विद्यालयले आंशिक पुस्तक पाएको आफूलाई जानकारी भएको बताए।

जुम्लामा पनि यस्तै समस्या छ। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले पाढ्यपुस्तक अभाव हुँदा विद्यार्थीको पढाइमा त्यसको प्रत्यक्ष असर परिरहेको बताइन्। ‘शैक्षिक सत्र सुरु भएको चार महिना पूरा हुँदा पनि पाठ्यपुस्तकबिना नै विद्यार्थी स्कुल जान बाध्य हुनु राम्रो होइन’, उनले भनिन्, ‘सम्बन्धित निकायमा कुरा राखेका छौं, कहिले पाठ्यपुस्तक आइपुग्छ पत्तो छैन।

जनक शिक्षा सामग्री केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले मागअनुसारका पाठ्यपुस्तक नआउँदा समस्या भएको बताए। उनले ५२ हजार थान पुस्तक स्टक रहे पनि कर्णालीका लागि आवश्यक पुस्तक नआउँदासम्म वितरण गर्न नसकिएको बताए। ‘केन्द्रबाट १ लाख ११ हजार थान किताब माग गरेका छौं’, प्रादेशिक कार्यालय प्रमुख केसीले भने, ‘मगाएको किताब नआउँदासम्म वितरण गर्न सकिने अवस्था छैन।’ केही दिनअघि पुस्तक व्यवसायीले कार्यालयमा पुगेर तोडफोड गरेपछि स्टक रहेका पुस्तक पनि वितरण गर्न नसकिएको उनले बताए।

‘५२ हजार थान पुस्तक गोदाममा स्टक छन्। थप १ लाख ११ हजार थान किताब केन्द्रसँग माग गरेका छौं’, उनले भने, ‘केन्द्रबाट किताब नआउने र व्यवसायीले कार्यालयमै आएर तोडफोड गर्न थालेपछि स्टक रहेका किताब पनि वितरण गर्न सकेका छैनौं।’ उनले समयमै किताब नछापिँदा समस्या भएको बताए। ‘हामी यहाँ किताब बिक्री गर्न बसेका हौं, आवश्यक मात्रामा समयमै आइदिए धेरै सहज हुन्थ्यो’, उनले भने, ‘किताब नहुँदा सबैभन्दा ठूलो मारमा विद्यार्थी परेका छन्।’

प्रकाशित: २ भाद्र २०७९ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App