coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

बेलायतमा उत्कृष्ट शिक्षा अनि रोजगारी

बेलायतको शिक्षा संसारकै उत्कृष्ट शिक्षा हो भन्नेमा दुई मत नै छैन। सायद त्यही कारणले होला, बेलायत पुगेर अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको संख्या बढ्नु पनि।

विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि प्रमुख शैक्षिक गन्तव्य मध्येको एक हो, बेलायत। कोभिड १९ का कारण विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा कमी भए पनि बेलायतमा गएर अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्यामा भने खासै कमी आएको देखिँदैन।

बेलायत अध्ययन गर्न जाने विद्यार्थी भिसा लागेको तीन महिनाभित्र बेलायत जानुपर्ने हुन्छ। आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफरलेटर पाएसँगै नेपालबाट बेलायत जानका लागि अध्ययन अनुमतिपत्र ‘नो अव्जेक्सन लेटर’ लिन सक्छन्। विश्वविद्यालयले लिने अन्तवार्तामा उत्तीर्ण भएका विद्यार्थीले बेलायतमा पढ्न जान ‘स्टुडेन्ट भिसा’ पाउँछन्।

यतिखेर प्लस टु पास भएपछि नै विद्यार्थीको आकर्षण बाहिर गएर पढुँ भन्ने हुने गरेको छ। विदेश गएर पढ्ने मात्रै नभई त्यहाँ काम पनि गर्ने र पैसा पनि कमाउने उद्धेश्य विद्यार्थीको देखिन्छ। गुणस्तरीय शिक्षा र रोजगारीको अवसर दुवै बेलायतमा पाइने भएकाले नेपाली विद्यार्थीको आकर्षण यस देशतर्फ बढेको देखिन्छ।

शैक्षिक परामर्शदाता राइट पाट करिअर काउन्सिलिङ पुतलीसडक काठमाडौंका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत फिलिप डिसी लकडाउनको समयमा अष्ट्रेलियाले बोर्डर बन्द गरे पनि बेलायतले कहिल्यै त्यसो नगरेको बताउँछन्। सोही कारण कोभिडको समयमा अष्ट्रेलिया जाने विद्यार्थी पनि बेलायत गएका कारण बेलायततिर नेपाली विद्यार्थी बढेको डिसीले जनाए।

विद्यार्थीलाई उसले अध्ययन गर्ने विषय, भौतिक शैक्षिक वातावरण, रोजगारी अवसरको बारेमा पूर्ण जानकारी शैक्षिक परामर्शदाताले दिनुपर्नेमा उनको जोड छ। यसो हुँदा बेलायतमा मात्रै नभई अन्य जुनसुकै देशमा पुगेर अध्ययन गर्न जाने विद्यार्थीले दुःख पाउनु नपर्ने उनको भनाइ छ।

यहाँ परामर्शदाताले विद्यार्थीको अवस्था बुझेर करिअर काउन्सिलिङभन्दा पनि विद्यार्थीलाई कसरी भिसा दिलाउन सकिन्छ भन्दै एड्मिसन काउन्सिलिङ गरेको अवस्था रहेको उनको बुझाइ छ। त्यसैले सबैभन्दा पहिले विद्यार्थीलाई उसले अध्ययन गर्ने विषय र विद्यालय छनोट गर्न दिनुपर्ने उनको जिकिर छ। ‘विश्वविद्यालय छनोट गर्दा लागत खर्च, विश्वविद्यालयको श्रेणी, उसले अध्ययन गर्ने विषयको पाठ्यक्रम र विश्वविद्यालयमा उसले अध्ययन गर्न उसको योग्यता पुग्छ वा पग्दैन हेर्ने काम पनि परामर्शदाताकै हो,’ उनले भने।

बेलायतमा अध्ययन पूरा गरेपछि ९ ग्राजुऐट इमिग्रेसन रुटमार्फत २ वर्षको वर्किङ भिसा अप्लाई गर्न पाउने भएपछि विदेशी विद्यार्थीको ध्यान त्यसतर्फ तानिएको देखिन्छ। अहिले विदेशी विद्यार्थीलाई बेलायत सरकारले अध्ययनपश्चात् रोजागारीको अवसरको पनि व्यवस्था गरेको छ।

बेलायती सरकारले विदेशी विद्यार्थीलाई प्रवेशको बाटो सहज बनाइदिएको छ। बेलायतले विदेशी विद्यार्थीले अध्ययन पूरा गरेपछि दुईवर्षे वर्क परमिट भिसासमेत दिने भएकाले बेलायत गएर उच्च शिक्षा अध्ययन गर्ने चाहना भएका विद्यार्थीलाई ठूलो अवसर मिलेको छ।

यहीँ कारणले पनि हुनसक्छ, कोरोना महामारीपछि बेलायती विश्वविद्यालयमा नर्सिङ विषय पढ्ने विद्यार्थीको आकर्षण बढेको छ। युनिभर्सिटी एड्मिसन्स सर्भिस (युकास) को तथ्यांकअनुसार नर्सिङ पढ्न आवेदन दिनेको संख्या ३२ प्रतिशतले वृद्धि भएको छ।

बेलायतको शैक्षिक अवस्था, त्यहाँको शिक्षा प्रणाली, कलेजहरूको अवस्था तथा भिसा प्रक्रियाकाबारेमा विद्यार्थीहरूलाई आफ्नै घरदैलोमा जानकारी दिने भन्दै परामर्शदाताले अनलाइनबाट पनि सेमिनारहरू त गर्ने गरेका छन् तर आम अभिभावक तथा विद्यार्थीसँग बेलायतको वास्तविक भौतिक शैक्षिक वातावरण शिक्षा नीतिकाबारेमा जनकारी पुगेको अवस्था देखिँदैन। त्यसैले अनेक किसिमका टिकाटिप्पणी हुने गरेका छन्। त्यसकारण आफू जाने गन्तव्यको बारेमा पूर्णरूपमा खोजी गरेर मात्र अध्ययनका लागि जानु उपयुक्त हुन्छ।

विद्यार्थीलाई बेलायतको शिक्षा प्रणाली, विश्वविद्यालय र कलेजहरूको जानकारी मात्र नभई त्यहाँ जानका लागि के कस्तो तयारी गर्ने? शैक्षिक, आर्थिक अवस्था कस्तो हुनुपर्छ? भिसा प्रक्रिया कस्तो छ? छात्रवृत्ति छ कि छैन? रोजगारीका अवसर कसरी पाइन्छ? त्यहाँको कानुन कस्तो छ? भन्ने विषयमा जानकारी दिन जरुरी हुन्छ। यसो भयो भने मात्रै नेपाली विद्यार्थी विदेशमा पुगेर दुःख पाउनसक्ने सम्भाबनाबाट टाढा हुनसक्छ।

बेलायत मात्रै होइन, विद्यार्थी कुन देशमा अध्ययन गर्न जाने? किन जाने? गएर के हुन्छ? अध्ययन पश्चात् रोजगारिको अवस्था के छ? भन्ने विषयमा अनुसन्धान नगरी लहलहैमा जाने र विदेशमा पढ्न जानका लागि खुल्यो भनेर कसैले भनेकै भरमा जाने विद्यार्थीले पहिले शिक्षाको विषयमा नै बुझ्न जरुरी छ। नेपाली विद्यार्थीलाई अल्पज्ञान भएका केही परामर्शदाताले युकेज एजुकेशन सिस्टमका विषयमा भ्रम छर्ने काम पनि नगरेको भन्न सकिन्न।

विदेशमा जाने विद्यार्थीले विदेशमा पुगेर उसले लिने शिक्षाको बारेमा र आवश्यकतालाई पहिचान नगरी गएको खण्डमा समस्या पर्ने हो। तर विद्यार्थी आफूले राम्रोसँग बुझेर आफू अध्ययन गर्न जाने विश्वविद्यालय, यसले प्रदान गर्ने गुणस्तरीय शिक्षा र अध्ययनपश्चात् अन्तर्राष्ट्रिय रोजगार बजारमा रोजगारीको अवसरका बारेमा बुझेर अध्ययन गर्न जाने विद्यार्थीले कहिल्लै दुःख पाउनु पर्दैन।

जानकारहरूका अनुसार बेलायतमा डिग्री लिन अष्ट्रेलियाको तुलनामा केही कम खर्चिलो छ। विद्यार्थीलाई अनावश्यक आर्थिक भार पनि पर्दैन यसले। पार्टटाइम काम गर्न सकिने अवस्था पनि रहेको छ। तर विद्यार्थी रिसर्च वेस्ड भएर नै उच्च शिक्षा अध्ययन गर्न जानुपर्छ।

हाम्रोमा अभिभावकले विद्यार्थीलाई आफूले नबुझेरै परामर्शदाताकोमा पठाउने र परामर्शदाताले उचित परामर्श प्रदान नगर्ने हुँदा विद्यार्थी लहलहमा लागेर आफूले निणर्य गर्ने गरेको अवस्था छ। अभिभावकले विद्यार्थीलाई यसरी आफै निणर्य गर भनेर छोड्नु उचित नहुने विज्ञको भनाइ छ।

यसका लागि कुनै परामर्शदाताले के भनिरहेको छ? भन्ने विषयमा विद्यार्थीले अध्ययन गर्नुपर्छ। आफू कुन विश्वविद्यालयमा के विषय पढ्न जाने हो? भन्ने विषय प्रमुख विषय हो। आफू अध्ययन गर्न जाने विषयका बारेमा नै नबुझेर विद्यार्थी अध्ययनका लागि गएको अवस्था पनि छ।

विद्यार्थीको इच्छाभन्दा पनि परामर्शदाताले भिसा सहज रूपमा पाउने विषयमा विद्यार्थीको प्रक्रिया अगाडि बढाउँदा विद्यार्थीहरू पीडित भएको अवस्था छ। विद्यार्थी र अभिभावक पनि यस विषयमा सचेत हुनु जरुरी छ।

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले पहिलो वर्षमा शुल्क तिर्नुपर्ने तर दोस्रो वर्षमा शुल्क तिर्न नपर्ने कोर्षहरू धेरै रहेको शैक्षिक परामर्शदाताहरू बताउँछन्। यसले गर्दा एक वर्षको पैसा मात्र हुँदा अन्य देशमा जानुभन्दा आर्थिक भार र खर्च पनि कम पर्छ।

विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउनु मात्रै प्रमुख विषय होइन। हामीले विद्यार्थीलाई परामर्श गर्दा उसको अंग्रेजी भाषा बोल्न र बुझ्नसक्ने क्षमता पनि ख्याल गर्नुपर्छ।

विद्यार्थीको क्षमता नबुझी उसलाई उचित शैक्षिक गन्तव्यको खोजी गर्न सकिँदैन। परामर्शदाताले भनेको भरमा भाषा परीक्षा नदिइकन भर्ना गर्न खोज्नु उपयुक्त हुँदैन। विद्यार्थीलाई उसको क्षमता नहेरी भिसा आवेदन गर्दा विद्यार्थी इमिग्रेसनले लिने अन्तरवार्तामा नै फेल हुनसक्छ।

विद्यार्थी कक्षा कोठामा पुग्यो तर पढ्न सकेन भने के गर्ने? यी विषय महत्वपूर्ण छन्। त्यसैले यस्ता विषयमा गम्भीर हुनुपर्छ। भिसा पाउनु मात्रै ठूलो कुरा होइन विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले उसको ‘करिअर’ महत्वपूर्ण कुरो हो।

कुनै पनि विद्यार्थी नेपालबाट विदेशमा अध्ययन गर्न जाने समयमा म पढ्न सक्छु, मेरो आर्थिक क्षमता राम्रो छ भन्ने आधारमा विदेशमा पढ्न जानु उपयुक्त होइन।

प्रत्येक देशले आफ्नो आवश्यकता हेरेर आफ्नो शिक्षा नीतिमा परिवर्तन गरिरहेका हुन्छन्। यी कुरामा पनि विद्यार्थी अभिभावक जानकार हुनुपर्छ। अध्ययनपश्चात् आफूले अध्ययन गरेको विषयका बारेमा नेपालमा फर्केर केही गर्न सक्छु भन्ने सोच विद्यार्थीले राख्नुपर्छ।

विद्यार्थीले काम गर्न जानेभन्दा पनि पढ्न जाने विषयलाई प्राथमिकतामा राख्नु पर्छ। बेलायतमा जाँदा विद्यार्थीले त्यहाँको शैक्षिक प्रणालीका बारेमा बुझेर मात्र जानुपर्छ। विद्यार्थीले सबैभन्दा पहिला आफू आफ्नो करिअरप्रति स्पष्ट हुनुपर्छ।

प्रकाशित: ३० पुस २०७८ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App