coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसइई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७७ को नतिजा सार्वजनिक गरेको छ। शनिबार बसेको बोर्ड बैठकले ४ लाख ८४ हजार २ सय ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्ड अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए।

कोरोना संक्रमणको उच्च जोखिमका कारण यसपटक पनि विद्यालयहरूले आन्तरिक मूल्यांकन गरी जिल्ला समन्वय एकाइमार्फत पठाएको नतिजा बोर्डले प्रमाणीकरण गरी प्रकाशन गरेको उनले जानकारी दिए।‘विद्यालयहरूले आ–आफ्नो तरिकाले दिएको नम्बरलाई बोर्डले प्रमाणीकरण गरेर नतिजा प्रकाशन गरेको हो,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘विद्यालयहरूले प्रमाण पेस गरेका आधारमा बोर्डले प्रमाणीकरण गरिदिएको हो।’ कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले विद्यालयहरूले आफ्नो तरिकाले परीक्षाको आन्तरिक मूल्यांकन गरी नतिजा पठाएकाले बोर्डले विश्लेषण नगरेको स्पष्ट पारे। उनले सबै विद्यालयको मूल्यांकनमा एकरूपता नभएकाले विश्लेषण नगरिएको तर्क गरे।  

यसैबीच बोर्ड बैठकले कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएको परिस्थितिको विश्लेषण गरी यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा अर्को सूचना नआउन्जेल स्थगित गरेको छ।  

बोर्डका कक्षा १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले कोरोना महामारीको जोखिम घटेपछि परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको जनाए। उनले पुनः परीक्षा सञ्चालनको तालिका १५ दिनअगावै प्रकाशन गरिने जानकारी दिए।

कोरोना संक्रमण जोखिम उच्च दरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३१ गतेदेखि सञ्चालन हुने परीक्षा तालिका सार्न सिसिएमसीलाई शुक्रबार सिफारिस गरेको थियो। सिसिएमसीले सोही पत्र शुक्रबारै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको हो र मन्त्रालयले रायका लागि राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबारै सो पत्र पठाएको थियो।  

दैनिक साढे ३ हजारको संख्यामा कोरोना संक्रमित बढ्दै गएको र हाल स्वास्थ्य मन्त्रालयसँग शिक्षक र विद्यार्थीलाई खोप तथा परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गर्न सक्ने अवस्था नरहेको भन्दै हाललाई परीक्षा स्थगन गर्न अनुरोध गरेको पत्र प्राप्त भएको बोर्ड अध्यक्ष पौडेलले स्पष्ट पारे। उनले साउन ३१ गतेदेखि परीक्षा सञ्चालनको आधार तयार पार्न बोर्डले स्वास्थ्य मन्त्रालयलाई विद्यार्थी र शिक्षक तथा केन्द्रमा सहभागिता जनाउने सबैलाई खोपको व्यवस्था गर्न र परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाए। ‘सोही पत्रको जवाफमा स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई विद्यार्थी र शिक्षकलाई खोप तथा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गर्न नसक्ने पत्र सिसिएमसीलाई पठाएको रहेछ,’ बोर्ड अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘पत्रमा कोभिड संक्रमण बढिरहेको अवस्थामा परीक्षा तालिका सार्नेबारे राय मागेको छ।’

पौने ४ लाख विद्यार्थीको भौतिक उपस्थितमै परीक्षा सञ्चालनका लागि बोर्डले सबै तयारी गरिरहेको तर स्वास्थ्य मन्त्रालयले भने आफूसँग खोप नभएकाले व्यवस्था गर्न नसक्ने स्पष्ट जवाफ दिएको उनको भनाइ थियो। परीक्षा सार्ने वा मोडालिटी परिवर्तन गरी परीक्षा सञ्चालन गर्नेबारे बोर्डले आगामी शनिबार बैठक बसेर तय गर्ने उनको भनाइ थियो।

केही दिनअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमा कोभिडका कारण निकट भविष्यमै सञ्चालन हुने परीक्षा स्थगन गर्ने र आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजाका लागि मन्त्रालयमा आन्तरिक रूपमा छलफल ल्याउने भनी दिएको अभिव्यक्तिले सरोकारवालामा भ्रम सिर्जना गरेको थियो।

प्रकाशित: २४ श्रावण २०७८ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App