१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
शिक्षा

अज्ञात रोगले विद्यार्थी बिरामी, विद्यालय प्रवेशमा रोक

जुम्लाको तातोपानी गाउँपालिकाको एक विद्यालयमा अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय प्रवेशमा रोक लगाइएको छ। तातोपानी गाउँपालिका ७ ताम्ती गाउँमा रहेको जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी अज्ञात रोगले थला परेका हुन। विद्यालयमा बार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी एकाएक विरामी पर्न थालेको विद्यालय बताउँछ।  

टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्ति प्रधानाध्यापक जनक रावत बताउँछन्। उनले भने,‘अज्ञात रोगले विद्यार्थी थला परेका छन्। परीक्षा प्रभावित बनेको छ।’ गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका हुन्।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावत विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको बताउँछन्। बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ। विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रासिद अवस्थामा छ।  

समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले जानकारी दिए। ‘गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्र रुपमा थला पार्न थालेको छ।’ उनले भने,‘तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ।’

लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अहिले छिमेकी गाउँमा समेत बिरामी पर्ने काम सुरु हुन थालेको छ।  

तातोपानी ७ का वडाध्यक्षको सिंगो परिवार अज्ञात रोगबाट संक्रमित भएका छन्। कोरोनाको डरले आतंकित स्थानीयहरु अज्ञात रोगले थप सशंकित भएका छन्। गाउँमा फैलिएको रोग नियन्त्रणका लागि सरोकारवालाको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिइएको छ।

प्रकाशित: १ वैशाख २०७८ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App