११ माघ २०७७ आइतबार
शिक्षा

फेरिँदै विद्याको मन्दिर

पुनर्निर्माण

२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले मुलुकका करिब १५ जिल्लामा रहेका शिक्षाको मन्दिर (विद्यालय भवन) भत्कायो । विद्यालय भवन नभएपछि बालबालिकाको पढाइ प्रभावित बन्यो । कतिपय सरकारी विद्यालयको संरचना जीर्ण बन्दै गएको र भूकम्पले थप क्षति भएपछि सामुदायिक विद्यालयले ठूलो भौतिक क्षति व्यहोर्नु परेको थियो ।

पुराना जीर्ण भवन र भूकम्पबाट प्रभावित बनेर क्षतिग्रस्त पूर्वाधारको सामना गरेका विद्यालयले नियमित पठनपाठन सञ्चालनमा समेत समस्या खेप्न बाध्य भए । विस्तारै त्रिपाल र पूराना जस्ताको टहराको भरमा पढाइ सञ्चालन गरियो । बर्खामा बाढी पहिरो र हिउँदमा चिसो खेप्दै निरन्तर पढाइ सञ्चालन भयो ।

शिक्षाको मन्दिरको यो समस्या लामो समयसम्म पनि रहेन । सरकार, दातृ निकाय, संघ संस्थाको पहल र लगानीमा क्षतिग्रसत विद्यालय भवनको निर्माण कार्य सुरु भयो । विद्यालयका भौतिक संरचना पुनर्निर्माणले तीव्रता पाएसँगै विद्यालयका स्वरुप फेरिएका छन् । स्वरुप फेरिएसँगै पठनपाठनमा सहज हुनुका साथै विद्यार्थीमा उत्साह आएको छ । विद्यार्थी संख्या, विद्यालयको आवश्यकता अनुसार चारदेखि १२ कोठे भवन, शौचालय, पुस्तकालयका लागि आवश्यक भवन निर्माण भएका छन् ।

विद्यालय भवनको पुनर्निर्माण पूरा हुँदै गएको छ । अस्थायी टहराका विद्यार्थी अहिले आधुनिक प्रविधिसँग जोडिएका छन् । भूकम्प प्रतिरोधात्मक भवनमा बसेर पढ्ने वातावरण तयार भएपछि विद्यार्थी, शिक्षक र अभिभावक खुसी भएका छन् ।

भूकम्प पछि समस्यामा परेका विद्यालयमध्ये त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालय पनि एउटा हो । यो विद्यालयले त्रिपाल र पुरानो जस्ता संकलन गरेर चार वर्षसम्म पढाइलाई निरन्तरता दियो । चार वर्ष अस्थायी टहराले थेगेको विद्यालयमा अहिले भने पक्की भवन निर्माण भएको छ ।

पक्की भवन निर्माणपछि विद्यार्थी खुसी छन् । ‘भूकम्पपछि अस्थायी टहरामा बसेर पढ्नुपढ्दा डरले विद्यालय आउन पनि मन लाग्दैनथ्यो’, कक्षा १० का विद्यार्थी सनोज कडेलले भने, ‘नयाँ भवन पाएसँगै हामी उत्साहित भएका छौं, अब पढाइ प्रभावित हुँदैन ।’

भूकम्प पछि दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता थियो । एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गरेको शिक्षकको भनाइ छ ।

अस्थायी टहरामा कष्टका साथ पढ्दै आएका विद्यार्थी पक्की भवन, शौचालय, ल्याबको सुविधासहितको सेवा पाएपछि खुसी भएका छन् । अब विद्यालयल प्रशासनलाई खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित रूपमा सञ्चालन गर्न विद्यार्थीले आग्रह गरेका छन् । विद्यालयका शिक्षक तथा अभिभावकले पनि पढाइमा सुधार हुने अपेक्षा लिएका छन् ।

पक्की भवन बनेपछि बर्खामा घाम पानी तथा हावाहुरीको समस्या र जाडोमा चिसोमा बस्नुपर्ने समस्या हटेको विद्यालयका प्रधानाध्यपक कुमार नेपालीले बताए । ‘भूकम्पले विद्यालय भत्कियो, चार वर्षसम्म निकै समस्या झेलेर टहरामा पढायौँ, भवन नहुँदा कतिपय बालबालिका विद्यालयनै छाडेका थिए,’ उनले भने, ‘अहिले २० कोठे विद्यालय भवन निर्माण भएको छ । विद्यालयनिर्माणसँगै शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी थपिएको छ ।’ विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याबको समेत निर्माण गरिएको छ । फर्निचरका सामग्री सहित भ्याट बाहेक ७ करोड ३१ लाख लागतमा भवन निर्माण गरिएको प्रअ नेपालीले बताए ।

निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ, भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ । खानेपानीको धारा पनि निर्माण गरिएको छ । विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको छ ।  

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङ जिल्लामा ५ सय ८१ वटा विद्यालयमा क्षति पुगेको थियो । भूकम्प प्रभावित जिल्लाहरूमा नीजि आवाससँगै विद्यालयको पुनर्निर्माण पनि भइरहेको छ । धादिङ जिल्लामा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न गरिएका विद्यालयमा पठनपाठन समेत सुचारु भइरहेको छ । विद्यालय निर्माणमा ढिला भएका कारण विद्यार्थीहरू अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन् ।  

भूकम्पपछि ध्वस्त भएका विद्यालयको संरचना निर्माणका लागि जिल्ला कार्यान्वयन इकाई धादिङको सहयोगमा मात्र नभएर विद्यालयमा अध्ययन गरेर रोजगारीका लागि विभिन्न मुलुकमा रहेको पूर्व विद्यार्थीहरूले पनि सहयोग गरेका छन् । आफूले पढेको विद्यालयमा भवन निर्माण, फर्निचर आधुनिक प्रविधिको उपकरणका लागि सहयोग गराएको पाइन्छ ।  

पुनर्निर्माण जिल्ला कार्यान्वयन इकाई धादिङ कार्यालयका अनुसार संघ संस्था, विद्यालय व्यवस्थापन समिति र ठेक्का गरी तीन प्रकारले विद्यालय निर्माण भइरहेको छ । विद्यालय व्यवस्थापन समितिबाट २ सय १६ वटा निर्माण सम्पन्न भइसकेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४५ वटा र गत आर्थिक वर्षमा ५९ गरी १ सय ४ वटा मध्ये ५५ वटा भवन निर्माणाधिन छ । त्यसै २०७६/०७७ मा ५५ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेको कार्यालयका सव इन्जिनियर शेरबहादुर खातीले बताए ।

खुला चौर र भूकम्पले भत्काएको विद्यालय भवनमा कठिनपूर्ण रूपमा पढ्दै आएका विद्यार्थीलाई मध्यनजर गरेर पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए । उत्तरी क्षेत्रका विकट बस्तीहरूमा खच्चडमा सामान बोकाएर पुर्‍याउँदै विद्यालय निर्माण गरिएको छ । सडक सञ्जाल र हिड्ने बाटो समेत नभएका ठाउँमा पनि पक्की भवन निर्माण भएपछि विद्यार्थीहरूको खुसी भएका छन् ।  

भूकम्पपछि अस्थायी टहरामा पढ्नुपर्ने बाध्यता अब सधैंका लागि अन्त्य भएको खनियाबास गाउँपालिका–२, झार्लाङका पेमा तामाङले बताइन् । पहिलो पटक पक्की भवन निर्माण भएपछि आफूहरू खुसी भएको उनको भनाइ छ ।  

जिल्लाको उत्तरी क्षेत्रका विद्यालय निर्माणमा निकै कठिनाइ छ । भौगोलिक विकटता, सडक सञ्जालको विस्तार नहुँदा निर्माण सामग्री ढुवाली गर्न समस्या हुने गरेको छ । जसका कारण समयमा नै भवन निर्माण हुन सकेको छैन ।

विद्यालय बालबालिकाको दोस्रो घरका रूपमा मानिन्छ । तर, ती घर नै सुरक्षित नहुँदा कतिपय बालबालिकाले विद्यालय नै आउन छाड्ने गरेको शिक्षकको भनाइ छ । भूकम्पपछिका अधिकांश दिनहरू अस्थायी सिकाई केन्द्रमा बसेर अध्ययन गर्नुपरेको विद्यार्थीको भनाइ छ । तर, अहिले अवस्था फेरिएको छ । ढिलै भएपनि विद्यालय भवनको पुनर्निर्माण पूरा हुँदै गएको छ । टहराका विद्यार्थी अहिले आधुनिक प्रविधिसँग जोडिएका छन् । भूकम्प प्रतिरोधात्मक भवनमा बसेर पढ्ने वातावरण तयार भएपछि विद्यार्थी, अभिभावक अहिले खुसी भएका छन् ।

हाल निर्माण गरिँदै गरेका विद्यालयको काम छिटो र गुणस्तरीय बनाउन अनुगमनको काम समेत भइरहेको छ । निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमी जस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिला भइरहेको कार्यान्वयन इकाई धादिङले जनाएको छ । त्यस्तै ठेक्कामार्फत ६२ वटा विद्यालय भवन निर्माणको क्रममा छन् । संघ संस्था मार्फत ६३ वटा विद्यालय निर्माण भएको छ ।

केन्द्रीय आयोजना अन्तर्गत जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोग, एसियाली विकास बैंक (एडिबी) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा विद्यालय पुनर्निर्माणको काम भइरहेको छ ।  

एसियाली विकास बैकले बनाउने ६ वटा विद्यालयमध्ये सदरमुकामको नीलकण्ठ मावि नमुना विद्यालयको रूपमा निर्माण गरिसकेको छ, भने अन्य ठेक्का प्रक्रियामा छन् । त्यस्तै जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुने ४९ विद्यालयमध्ये ६ वटा मात्रै निर्माण सम्पन्न भएको छ, भने भारत सरकारको अनुदान तथा ऋण सहयोगमा निर्माण हुने १० वटा विद्यालय भवन पनि निर्माणाधीन छ ।

प्रकाशित: २९ पुस २०७७ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App