डडेल्धुरा, अमरगढी ७ साउन - शिक्षकहरुको आन्दोलनका कारण दुई दिनदेखि डडेल्धुराका विद्यालय ठप्प छन्। विभिन्न पेसागत माग राख्दै शिक्षकले आह्वान गरेको बन्दका कारण विद्यालयहरु ठप्प रहेका हुन्।
शिक्षक युनियनको अगुवाइमा सोमबारदेखि आन्दोलनमा रहेका जिल्लाका सम्पूर्ण शिक्षकले जिल्लाभरिका विद्यालय बन्द गर्दै सोमबार र मङ्गलबार दिनभर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन्। सो धर्नाका कारण दुई दिनसम्म पठनपाठनसँगै जिल्ला शिक्षा कार्यालयको कामसमेत ठप्प भएको छ।
राहत दरबन्दीलाई दरबन्दीमा कायम गरिनुपर्ने, शैक्षिक सेवा सुविधामा विस्तार गरिनुपर्ने, समयसमयमा शिक्षकका लागि आयोग खोलिनुपर्ने, दरबन्दी मिलान गरिनुपर्ने, शिक्षकहरुको अपग्रेडिङको व्यवस्था प्रभावकारी बनाइनुपर्ने र विद्यालयमा कर्मचारीको व्यवस्था गरिनुपर्ने एवम् यसअघि सरकारसँग भएका सहमतिहरु पालना गरिनुपर्नेलगायतका माग राख्दै मङ्लबार डडेल्धुरा सदरमुकाममा विरोध र् यालीसमेत प्रदर्शन गरेका थिए।
नाराबाजीसहित र् यालीले डडेल्धुरा सदरमुकाम परिक्रमा गरेको थियो भने र् यालीपछि शिक्षकहरु जिल्ला शिक्षा कार्यालयमा धर्नामा बसेको थियो ।
आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने शिक्षक युनियन डडेल्धुराका अध्यक्ष मानबहादुर गैरालले बताउनुभयो । उहाँका अनुसार आज बुधबार पनि आन्दोलनको कार्यक्रम जारी रहनेछ । (रासस)
प्रकाशित: ७ श्रावण २०६६ ००:३७ बुधबार





