अजित तिवारी, विराटनगर असार १६ - साहित्य र राजनीतिमा चासो देखाउने विराटनगरका राकेश गिरी यस वर्षको एसएलसीमा सर्वाधिक अंक ल्याई उत्तिर्ण भएको दाबी गरेका छन्। बाल कल्याण बिद्या मन्दिरमा अध्ययन गरेका गिरीले ९३.१२ प्रतिशत अंक ल्याएका छन्। गिरीले अतिरिक्त गणितमा ९९, कम्प्युटरमा ९९, विज्ञानमा ९७, अनिवार्य गणितमा ९१, जनसंख्यामा ९० र नेपालीमा ८३ अंक ल्याएका छन् ।
एसएलसी परीक्षामा बोर्ड फस्ट भएको दाबी गर्ने गिरीले साहित्य र राजनीतिमा चासो देखाएका छन्। "साहित्य र राजनीतिमा मेरो चासो छ। पढेर दिग्गज राजनीतिज्ञ बन्ने सोचमा छु'-उनले भने।
९ कक्षादेखि विराटनगरको विद्या मन्दिरमा पढेका गिरीले विद्यालयस्तरीय साहित्यिक कार्यक्रममा भाग लिएर पुरस्कार समेत जितेका छन्। राजनीति समाचारहरु पढ्न र सुन्न रुचाउने गिरीलाई नेपालको स्थिती नेताहरुकै कारण बिग्रिएको भन्ने लाग्छ।
विराटनगर-४ पुष्पलाल चोकमा बस्ने गिरीले विद्यालय र घरमा गर्ने नियमित पढाइले एसएलसीमा धेरे अंक ल्याउन सहयोग गरेको बताए। "टियूसन पढ्ने बाध्यता मलाई कहिले आएन विद्यालयमा ध्यान दिएर पढ्थे घरमा गृहकार्य गर्थे" गिरीले नागरिकसँग भने।२०४९ सालमा इलाममा जन्मिएका गिरीले वुवाको सरुवासँगै पढ्ने स्थल परिवर्तन गर्नुपर्यो । बुवा भिष्मराज गिरी सरकारी जागिरे भएकाले गिरीको माध्यमिक तहको पढाई इलाम, पाँचथर, धनकुटा, इनरुवा र विराटनगरमा गरेका हुन्।
प्रकाशित: १६ असार २०६६ ०१:५१ मंगलबार





