नेपाली परीक्षा अभ्यासमा यो नौलो पद्धति हो। यसबाट विद्यार्थीलाई सिर्जनशील बनाउन मद्दत पुग्ने विद्यालयका सह-प्राचार्य मनोज आचार्य बताउँछन्। सही जवाफ पत्ता लगाउने र लामो समय सम्झने यसका दोहोरो फाइदा भएको उनको तर्क छ।
यो पद्धति 'हेर खोज र लेख' भन्ने सिद्धान्तमा आधारित छ। शव्द-शब्द केलाएर जवाफ खोज्दा विद्यार्थीले राम्रो ज्ञान पाउने आचार्य्रले बताए।
'पढेन भने कुन पाठ कहाँ छ भन्ने थाहा नहुने रहेछ', कक्षा १० कि छात्रा रज्जु हेक्काले भनिन्। यसबाट आफूमा 'खोज शक्ति' विकास हुने उनले ठानेकी छिन्।
'किताबको किरो बनाएर काम छैन', अभिभावक शान्ता चूडाल दंग थिइन्, 'पहिले-पहिले जाँच आउँदा छोरीहरु रटेर बस्थे। अहिले बुझ्नमै केन्द्रित छन्।'
पाँच वर्षदेखि शिक्षण पेशा अपनाउँदै आएका गोविन्द भट्टराईले पनि यो प्रणाली प्रभावकारी भएको महसुस गरे। 'निश्चित समयमा प्रश्नको उत्तर खोजेर लेख्नुपर्दा विद्यार्थीमा सिर्जनशीलता बढेको पाएँ' उनले भने।
'परीक्षामा किताब हेर्न पाइन्छ भन्ने सुनेर गहिरिएर पढिएन् अहिले गार् हो भयो', कक्षा ८ का सौरभले पहिले कुरा नबुझेका रहेछन्। तैपनि उनलाई फाइदै भयो। 'प्रश्न नबुझ्दा किताब हेर्न पाइयो। परीक्षामा केलाएर हेर्दा पहिले नबुझेको पनि स्पष्ट भयो', उनले भने।
२०५८ सालदेखि एसएलसीको अंग्रेजी र नेपाली विषयको परीक्षामा विद्यार्थीले एउटा पाठ्यपुस्तकमै रहेको र अकॊ बाहिरको अनुच्छेद पढी उत्तर दिनुपर्ने पद्धति लागू गरिएको थियो। 'सोच पहिलेकै हो व्यवहारमा उतारेर अनुसन्धान गर्दैछु', आचार्यले थपे। परीक्षण सफल भएमा आगामी वर्षदेखि यही प्रणाली लागू गर्ने पनि उनले बताए।
प्रकाशित: २ असार २०६६ १९:३५ मंगलबार





