काठमाडौं, जेठ ३१ (नागरिक)- शान्ति सुरक्षा माग गर्दै काठमाडौं उपत्यकाका सबै विद्यालय बन्द भएका छन्। अपराधीको निसाना विद्यार्थी हुन थालेको भन्दै शिक्षासम्बन्धी संस्थाले बन्द आयोजना गरेका हुन्।
केही दिनअघि सौरद्वीप स्कुलकी छात्राको अपहरण प्रयास भएको थियो। सोही विद्यालयको आह्वानमा भएको बन्दलाई शिक्षासम्बन्धी अन्य संघ/संस्थाले पनि समर्थन जनाएका छन्।
विद्यालयका नानी ओसार्ने सवारी साधन बन्दकर्ताको निसाना बन्न नहुने एवं आपराधिक प्रवृत्तिका घटना नियन्त्रण गरिनुपर्ने भन्दै गरिएको बन्द जायज भएको नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए।
यसैगरी विद्यालय बन्दका आयोजकलाई प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार बिहान भेट गरेका छन्। भेटका अवसरमा प्रधानमन्त्रीले शिक्षण संस्था र विद्यार्थीको सुरक्षाबारे ढुक्क हुन आश्वसन दिए। 'म अहिलै प्रहरी प्रमुखलाई यसबारे निर्देशन दिन्छु'- प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी भण्डारीले भने- तपाईँहरु ढुक्क हुनुहोस्।
प्रकाशित: ३० जेष्ठ २०६६ २३:०३ शनिबार





