‘माननीय सदस्यज्यूहरू आजको बैठकको कार्य प्रारम्भ गर्दछु, सभामुखले यति भनेर संसद् प्रारम्भ गर्ने बित्तिकै प्रतिपक्ष बेन्चका माननीयहरू उठ्छन्।
त्यसपछि सभामुख फेरि भन्छन्, ‘माननीय सदस्यज्यूहरू प्रतिपक्ष बेन्चबाट उठ्नुभएको छ। सबै जना आआफ्नो ठाउँमा बसौं। दलीय आधारमा बोल्न दिने हिजो नै प्रमुख सचेतकहरूले सहमति गरेपछि फेरि बिचैमा आज किन ? माननीय सदस्यज्यूहरू बसौं। बैठकका लागि वातावरण बनाऔं।’
यो परिदृश्य थियो, बुधबार भक्तपुरको दुवाकोट भएको नमुना संसद् बैठकको। भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित सुनगाभा इगलिश बोर्डिङ स्कुल दुवाकोट भक्तपुरको आयोजनामा स्कुल नजिकैको दुवाकोट बैक्वेटको ठूलो हलमा नमुना संसद् बैठक बसेको थियो।
बैठकमा सभामुखको भूमिकामा स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा रश्मि बस्नेत थिइन्। सदस्यहरूको रुपमा कक्षा ३ देखि १० सम्मका २३ जना विद्यार्थी थिए।
बैठकलाई अगाडि बढाउँदै सभामुखको भूमिकामा रहेकी बस्नेतले नमुना संसद् चलाउँदै भनिन्, ‘निलो सदन पार्टीका प्रमुख सचेतक माननीय प्रज्ज्वल बस्नेत बोल्न खोज्दै हुनुहुन्छ। माननीयज्यू आफ्ना कुरा ३ मिनेटभित्र राख्नुहोस्। अरु माननीयज्यूहरू बसौं। आ-आफ्नो ठाउँमा आसन ग्रहण गरौं।’
यसरी चलाइएको संसद् बैठक प्रतिकात्मक थियो। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्यहरूले संसद्मा अवरोध सृजना गरेको देखाइएको थियो। बैठकमा बारम्बार रास्वपाका सांसद्हरुले अवरोध गरेको र त्यसलाई साम्य पार्न सभामुखले ‘माननीयज्यू नियमापत्ति मात्रै गरिरहने हो भने संसद् कसरी चल्छ ? संसद् चल्ने वातावरण तपाईँहरूले नै गर्ने हो नि। यसप्रति तपाईँहरू पनि उत्तरदायी बन्नुपर्छ। आसन ग्रहण गर्नुहोस् माननीयज्यूहरू, संसद् सुचारु गरौं’ भनिरहँदा माहौल निकै रोमाञ्चक बनेको थियो।
विद्यार्थीलाई संसदीय विधि र क्रियाकलापबारेमा जानकारी गराउने उद्देश्यले नमुना विद्यार्थी संसद् चलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले जानकारी गराए।
यसअघि स्कुलमा कक्षा ३ देखि १० सम्म अध्ययनरत ५ सय ४५ जना विद्यार्थीहरूलाई मतदाता बनाई निर्वाचन गराइएको थियो। चार वटा जिल्लाबाट प्रति जिल्ला तीन तीन वटा निर्वाचन क्षेत्रबाट गरी १२ जना प्रत्यक्ष रुपमा निर्वाचित भएका थिए।
त्यसमा आठ जना समानुपातिकबाट र तीन जना मनोनीत गरी कुल २३ जना संसद् सदस्य बनाइएको थियो। निर्वाचनमा १२ प्रत्यक्ष निर्वाचितका लागि ४८ जनाको उम्मेदवारी परेको नमुना देखाइएको थियो।
विद्यालयका प्रिन्सिपल महेश गौतमले विद्यार्थीलाई निर्वाचन परिपाटीबारे पनि जानकारी गराउने उद्देश्यका साथ निर्वाचन पनि गराइएको जानकारी गराए।
यसबाट ‘विद्यार्थीलाई हाम्रा सांसदका सदस्यहरू कसरी निर्वाचित हुन्छन्’ भन्नेबारे सिकाउने प्रिन्सिपल गौतमले विश्वास व्यक्त गरे।
कार्यक्रममा भक्तपुरबाट निर्वाचित सङ्घीय सांसद दुर्लभ थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री पनि सहभागी थिए।
सहभागी नमुना संसद्का सदस्यहरूले उनीहरूसँग पनि प्रश्न गरेका थिए। त्यसको जवाफ संसद् सदस्य थापा र नगर प्रमुख खत्रीले दिएका थिए।
संसद् अभ्यास कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रतिनिधिसभाका सांसदले निर्वाह गर्ने भूमिका, संसदीय प्रक्रिया र विधेयक पारित गर्ने विधिबारेमा प्रयोगात्मक अभ्यास गराइएको आयोजक विद्यालयका इसीए कोअर्डिनेटर एवं नमुना मतदानका निर्वाचन अधिकृत दीपककुमार खड्काले बताए।
कार्यक्रममा सत्तापक्ष, प्रतिपक्ष, मन्त्रीको अलगअलग आसनलहरको व्यवस्था मिलाइएको थियो। कार्यक्रम रोचक र सफल भएको सहभागीको धारणा थियो।
प्रकाशित: ११ असार २०८२ १८:३१ बुधबार





