यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार आजदेखि सुरु हुँदै छ। कक्षा १० मा लिइने वार्षिक परीक्षालाई अहिले एसइई भनिन्छ। यसअघि यो परीक्षालाई एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) भनिन्थ्यो। पहिलो पटक १९९० सालमा ३४ जना परीक्षार्थीबाट सुरु भएको एसएलसी अहिले एसइईले चिनिन्छ। देशभरि बिहीबारदेखि सुरु हुने यो परीक्षा ९१औं शृंखला हो।
यो वर्ष एसइईमा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन्। जसमध्ये नियमिततर्फ चार लाख २१ हजार पाँच सय ८५ जना छन्। राष्ट्रिय परीक्षा बोर्ड एसइईका सहनियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले एसइईका कुल परीक्षार्थी गत वर्षभन्दा दुई हजारजतिले कम छन्। गत वर्ष एसइईका कुल परीक्षार्थी पाँच लाख १६ हजार थिए।
चैत १९ गतेसम्म सञ्चालन हुने एसइईमा देशभरिका ११ हजार २१६ माध्यमिक विद्यालयका परीक्षार्थी सहभागी हुने सहनियन्त्रक निरौलाले जानकारी दिए। परीक्षा सञ्चालन गर्न दुई हजार ८० केन्द्र निर्धारण गरिएको छ। परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन ७७ हजार ८१७ जनशक्ति परिचालन गर्ने निर्णय बोर्डले गरेको उनले बताए।
‘एसइईको तयारी पूरा भएको छ। उत्तरपुस्तिका छापेर केन्द्रहरूमा पुर्याइएको छ। प्रश्नपत्र पनि सम्बन्धित केन्द्रनजिकै सुरक्षाकर्मीको घेरामा राखिएको छ,’ निरौलाले भने, ‘३४ परीक्षार्थीबाट सुरु भएको एसएलसी/एसइई दिने विद्यार्थी अहिले पाँच लाख हाराहारी पुगेका छन्।’
उनका अनुसार यो वर्ष नियमिततर्फ एसइई दिने चार लाख २१ हजार पाँच सय ८५ परीक्षार्थीमध्ये दुई लाख नौ हजार सात सय पाँच छात्रा र दुई लाख ११ हजार आठ सय ५७ छात्र छन्।
त्यसैगरी प्राविधिक धारतर्फका करिब १६ हजार परीक्षार्थीले एसइई दिँदै छन्। गत वर्ष एसइई परीक्षामा फेल भएर यस पटक एसइईमा ग्रेडवृद्धिका लागि परीक्षा दिनुपर्ने ९० हजार भए पनि ७५ हजार पाँच सय ३२ जनाले मात्र परीक्षा दिन लागेको सहनियन्त्रक निरौलाले बताए। ग्रेडवृद्धिका परीक्षा दिनुपर्ने १५ हजार विद्यार्थी सम्पर्कमा नआएको उनको भनाइ छ।
‘यसपटक ग्रेडवृद्धिका लागि परिक्षा दिनेमध्ये १५ हजार बीचैमा हराए। ग्रेडवृद्धि परीक्षा दिने छात्रातर्फ ४० हजार नौ सय ६२ र छात्रतर्फ ३४ हजार ५ सय ७० जना मात्र छन्। ग्रेडवृद्धि परीक्षातर्फ छात्राको संख्या बढी हुनुले गत वर्ष फेल भएका छात्रमध्ये केही कामको खोजीमा बाहिर गएको वा जाँच दिन नचाहेको बुझिन्छ।’
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस वर्ष प्रदेश र जिल्लास्तरमा रहेका परीक्षा समन्वय समितिका पदाधिकारीले मात्र परीक्षा हलभित्र गएर निरीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ।
उनले भने, ‘विगतमा परीक्षा हलमा परीक्षार्थीभन्दा अनुगमनकर्ता बढी देखियो। त्यसले बालबालिकामा त्रास पनि बढेको अनुभव रहयो। यसै कारण यसपटक परीक्षा हललाई भयरहित र व्यवस्थित बनाउन परीक्षा समितिका बाहेकलाई परीक्षा हलभित्र पस्न बन्देज लगाएका छौं।’ पर्यवेक्षकले परीक्षा केन्द्रको अनुगमन गर्न सक्ने व्यवस्था छ।
पत्रकारलाई परीक्षा हलमा प्रवेश गर्न रोक
विगतमा परीक्षा हलभित्र पत्रकारहरू तस्बिर खिच्न पस्दा विद्यार्थीले असहज महसुस गरेकाले यस पटक त्यस्तो गर्न रोक लगाइएको सहनियन्त्रक निरौलाले बताए।
परीक्षालाई मर्यादित र सुरक्षित बनाउन प्रतिकेन्द्रमा कम्तीमा ६ जना र बढीमा १५ जनासम्म सुरक्षाकर्मी खटाइएको छ। केन्द्राध्यक्षले दैनिक आठ सय, सहकेन्द्राध्यक्षले ६ सय, निरीक्षकले ३ सय र सहयोगी कर्मचारीले २ सय रूपैयाँ भत्ता पाउने व्यवस्था गरिएको छ।
काठमाडौं महानगरभित्र एक सय ३६ परीक्षा केन्द्रबाट ४९ हजार चार सय १६ परीक्षार्थीले एसइई दिँदै छन्। यहाँ एक हजार १५ माध्यमिक विद्यालयका परीक्षार्थी छन्। विगतमा महानगरभित्रका परीक्षा केन्द्रहरूमा परीक्षार्थी भन्दा पर्यवेक्षक र निरीक्षक बढी भएकाले परिक्षार्थीमा नकारात्मक असर परेको महानर शिक्षा विभागका प्रमुख समन्तमणि आचार्य बताउँछन्।
‘विगतमा अनुगमन र निरीक्षणका नाममा शिक्षक, अभिभावकलगायतले कार्ड भिरेर परीक्षा हलभित्र प्रवेश गर्दा परीक्षार्थीमा त्रास पैदा भएको महसुस भयो,’ उनले भने, ‘यस कारण यस पटक परीक्षालाई भयरहित बनाउन त्यसरी वितरण गरिने कार्डमा ३० प्रतिशत कटौती गरिएको छ।’
सहनियन्त्रक निरौलाका अनुसार परीक्षाको मर्यादा उल्लंघन गर्ने पदाधिकारीलाई एक लाख रूपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। विद्यार्थीले परीक्षामा अमर्यादित कार्य गरे एक वर्षदेखि तीन वर्षसम्म परीक्षाबाट वञ्चित गरिने छ।
प्रकाशित: ७ चैत्र २०८१ ०६:०७ बिहीबार