दरबन्दी विवरण लुकाउने, नयाँ स्थायी शिक्षक आउनुभन्दा केही समय अघि शिक्षक दरबन्दी साटफेर गर्ने जस्ता गलत परम्परा रोक्न शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाभर खाली भएका शिक्षकको दरबन्दी विवरण सार्वजनिक गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङको प्रमुखको कार्यभार सम्हालेलगत्तै इकाइ प्रमुख युगमणि सवेहाङले जिल्ला भर रिक्त भएका शिक्षक पदहरूको विवरण सार्वजनिक गरी स्थानीय तह छान्न सिफारिस शिक्षकलाई समयसीमा दिएका छन्। सवेहाङका अनुसार प्राथमिक तह तृतीय श्रेणीतर्फ स्थायी नियुक्तिका लागि सिफारिस भई आएकाहरूले आफू पदस्थापनमा जान चाहने स्थानीय तह छनौट गर्नुपर्ने हुन्छ।
शिक्षा विकास तथा समन्वय इकाइले चैत पहिलो साताभित्र जान चाहेको स्थानीय तह छान्न प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएका १ सय ४ जनालाई समयसीमा दिएको हो। रिक्त भएकै स्थानमा पदपूर्ति गर्नुपर्ने भएकोले रिक्त हुनुको कारणसहित विवरण सार्वजनिक गरेको सवेहाङले बताए।
शिक्षा विकास तथा समन्वय इकाइले थालेको उक्त अभियानको सर्वत्र प्रशंसा भएको छ। ताप्लेजुङमा लामो समय शिक्षण पेसा अंगाली अहिले झापामा कार्यरत कृष्णप्रसाद घिमिरेले शिक्षा विकास तथा समन्वय इकाइको उक्त कार्यले दरबन्दी लुकाउने, नयाँ स्थायी शिक्षक आउनुभन्दा केही समय अघि शिक्षक दरबन्दी साटफेट गर्ने जस्ता गलत कार्य रोकिने भन्दै यस कार्यको निरन्तरताको माग पनि गरेका छन्।
शिक्षा विकास तथा समन्वय इकाइले सिफारिस भइ आएकाहरूको मेरिटलिष्टका आधारमा (जो पहिलो नम्बरमा सिफारिस भएको छ, उसले रिक्त दरबन्दी अनुसार रोजेको ठाउँ पाउने व्यवस्था) उसले रोजेको स्थानीय तह छान्न सक्ने व्यवस्था गरेको छ। रिक्त दरबन्दी अनुसार स्थानीय तह छान्न पाउने अधिकार प्राप्त शिक्षकले आवेदनले तोकेको प्राथमिकता क्रम र मेरिटलिष्ट हेरेर शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित स्थानीय तहमा पठाउने गर्छ।
शिक्षा विकास तथा समन्वय इकाइले दिएको नियुक्तिका आधारमा सम्बन्धित स्थानीय तहले शिक्षकलाई पालिकाका रिक्त विद्यालयहरूमा खटाउने काम गर्ने छन्। संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पेको छ।
प्रकाशित: ४ चैत्र २०८१ १३:२३ सोमबार