८ वैशाख २०८२ सोमबार
image/svg+xml १५:२१ अपराह्न
शिक्षा

जापानबाट २९ जनाले एसइई लेख्दै*

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा जापानबाट पनि उल्लेख्य संख्यामा परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार जापानबाट २९ जना विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्।

निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार ती परीक्षार्थीका लागि आवश्यक तयारी नेपालबाटै भइरहेको छ। परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र तथा उत्तरपुस्तिका जापान पठाउने र परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका नेपालमै ल्याएर परीक्षण गर्ने योजना बनाएको छ।

जापानमा रहेका नेपाली विद्यार्थीहरूमध्ये २९ जनाले टोकियोस्थित एभरेस्ट इन्टरनेसनल स्कुलबाट परीक्षा दिनेछन्। उनीहरुले जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम अनुसार अध्ययन गरिरहेका छन्।

सन् २०१३ मा स्थापना भएको उक्त विद्यालय नेपाल सरकारबाट सम्बन्धन प्राप्त गरी कक्षा १२ सम्म सञ्चालनमा छ।

यस वर्ष एसईई परीक्षामा कुल ५ लाख २२ हजार विद्यार्थी सहभागी हुनेछन्। चैत ७ गतेबाट सुरु हुने परीक्षामा नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धि (२०८०) तर्फ ५० हजार, र पुरानो ग्रेड वृद्धि (२०७८–०७९) तर्फ ४ हजार परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

देशभर २१ सय ३१ वटा परीक्षा केन्द्र तोकिएको छ भने प्रश्नपत्र छपाइको कार्य जारी रहेको छ।

*यसअघिको समाचारमा फरक संख्या पर्न गएकोमा सच्याइएको छ- सम्पादक

प्रकाशित: २२ फाल्गुन २०८१ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App