करिब दिउँसोको २ बजेको हुँदो हो। पुस–माघको समय दिउँसै पनि चिसो हुने नै भयो। त्यसैले केही कक्षाका विद्यार्थी बिचमा गुरुबा/गुरुआमा राखेर गोलाकार भएर पढ्दै थिए, बाहिरै चौरमा। कुनै कक्षाका विद्यार्थीचाहिँ खेलकुद अनि कुनै कक्षाका चाहिँ मनोरञ्जनमा व्यस्त। ठुलो र फराकिलो चौर। त्यसैले कसैका क्रियाकलापले कसैलाई अवरोध पुर्याएको महसुस नहुने।
यही रोचक दृश्य वरिपरि नियाल्दै गर्दा देखियो, केही मानिस बारीमा काम गरिरहेका। केराघारी र ड्रागन फ्रुटको सामीप्यमा रहेको बारीमा काम गरिरहेका को रहेछन् भन्नेबारे उत्सुकता जाग्यो। यसरी उत्सुकता जाग्नु स्वाभाविकै पनि थियो किनकि यो काम विद्यालय परिसरमै हुँदै थियो। नजिकै गएर सोधखोज गर्दा पत्तो लाग्यो– लसुनबारी गोड्दै गरेका त यही विद्यालयका विद्यार्थी पो रहेछन्। ‘अरू विद्यार्थी पढिरहेका छन्, तपाईंहरू भने बारीमा काम गर्दै हुनुहुँदो रहेछ नि?’ भन्ने जिज्ञासामा उनीहरूको सामूहिक उत्तर थियो– हामी पनि पढिरहेकै हौं।
हो, भेरीगंगा नगरपालिकाको शिखर माध्यमिक विद्यालयमा देखिने यस्तो दृश्यले जोसुकै नवआन्तुकलाई अचम्मित तुल्याउँछ। किनकि धेरैलाई लाग्न सक्छ– विद्यालय त पढाइ हुने ठाउँ पो हो त, कहाँ खेती गरिरहेको? अनि यसको उत्तरमा बारीमा काम गरिरहेका विद्यार्थीको जवाफ हुने गरेको छ– यो हाम्रो व्यावहारिक पढाइ हो, जसले हामीले कक्षाकोठामा पढेको सैद्धान्तिक कुरालाई यहाँ प्रयोग गरेपछि बल्ल त्यो पक्का हुन्छ।
त्यसैले त अरू कक्षामा पाठ्यपुस्तक पढाइ भइरहँदा यो विद्यालयका बारीमा खेतीको अभ्यास भइरहेको हुन्छ, जहाँ यतिबेला आइएस्सी एजीका विभिन्न सेमेस्टरका विद्यार्थी खेती अभ्यास गरिरहेका छन्। यहाँ उनीहरूले लसुन मात्र लगाएका छैनन्, बन्दा छ, ब्रोकाउली छ, गाजर छ, चुकन्दर छ।
त्यति मात्र पनि होइन, मेथी छ, केराउ छ, धनियाँ छ, प्याज छ। यो छ, त्यो छ, ऊ छ होइन, मौसम अनुसारका सबै तरकारी छन् भन्दा फरक पर्दैन। अझ योभन्दा पनि महत्त्वपूर्ण कुरा यहाँ इच्छाशक्ति छ, मेहनत छ, लगनशीलता छ र कृषिलाई पर्यावरणीय बनाउने अठोट छ। यसलाई पुष्टि गर्न पर्यावरणीय कृषि प्रदर्शनी स्थल भनिने यही थलो साक्षी छ।
उनीहरू मौसमअनुसारका तरकारी उत्पादन मात्र गर्दैनन्, बिक्री पनि गर्छन्। आफू पनि बाँडेर खान्छन्। बिक्रीबाट आएको पैसा मेहनत गर्नेहरूले नै बाँडेर लिन्छन्। त्यसबाट थोरै भए पनि ‘पकेट खर्च’ मिलेको उनीहरूको संयुक्त हाँसोले नै बताउँथ्यो।
बिहान ६ देखि ११ बजेसम्म कक्षाकोठामा पढ्ने यी विद्यार्थी त्यसपछि भने खाना खाइवरी आउने ठाउँ यही बारी नै हो, जहाँ मौसमअनुसार केही न केही काम जारी रहन्छ। ‘खाना खाएपछि हाम्रो दोस्रो चरणको पढाइ सुरु हुने हो,’ उनीहरू भन्छन्। कृषि विषय नै पढेकाले खेतबारीमा काम गर्नुलाई पढाइकै एक अभिन्न अंग भएको बताउन कुनै पनि हालतमा उनीहरू भुल्दैनन्।
कसले लगायो यस्तो नशा यी विद्यार्थीलाई? लसुन गोड्दा गोड्दैको कुटो टकटक्याउँदै उनीहरू भन्छन्, ‘राष्ट्रिय कृषक समूह महासंघले। त्यसकै सहयोगमा हामीले पर्यावरणीय कृषिसम्बन्धी धेरै व्यावहारिक तालिम पाएका छौं। जसलाई यहाँ अभ्यास गर्ने हो अनि यो अभ्यास थलोका लागि सहयोग पनि उसैले गरेको हो।’
महासंघले बिरुवा दियो रे, बिउ दियो रे, मल दियो रे, ट्र्याप दियो रे। अझ महत्त्वपूर्ण कुरा भर्मी वासलगायत मल र कीटनाशक बनाउने तालिम पनि दियो रे। यो परियोजनाले दिने तालिम पनि गजबकै हुने अनुभव रहेछ उनीहरूसँग। तालिमका लागि कहीँ जानै पर्दो रहेनछ। आफ्नै विद्यालयमा स्थापना गरिएको कृषि पर्यावरण प्रदर्शनी स्थलमै प्रशिक्षक आएर सिकाउँदा रहेछन्।
हो पनि, नेपालमा तालिम भन्नासाथ ठुला होटलमा टाई लगाएर आएकाले प्रवचन दिने, स्क्रिनमा स्लाइड प्रदर्शन गर्ने अनि बाँकीले सुनिरहनुपर्ने, मीठा खाना खान पाइने, राम्रो ठाउँमा सुत्न पाइने, तालिमका क्रममा र बेलुका नाचगान हुने र अन्तिममा प्रमाणपत्र पनि पाइने रूपमा बुझिँदै आएको छ। यस्तो सन्दर्भ भन्दा बिल्कुल पृथक्, बारीमै आएर माटोमै खनजोत गरेर, झारपात र गोबर छोएरै दिइने तालिम देखेपछि विद्यार्थी दंग परेका रहेछन्। भन्दै थिए– त्यसले उनीहरूलाई पर्यावरणीय कृषिबारे छर्लङ्गै पारिदियो रे!
‘नेपाल कृषिप्रधान देश भए पनि अझै हामीले वातावरणमैत्री खेतीपाती प्रणाली अपनाउन सकेनौं, जसले गर्दा माटोदेखि प्रकृतिसम्ममा हानि पुग्यो,’ विद्यालयमा यस्तो पहल गर्नुपर्नाको कारण खुलाउँदै महासंघका कर्णाली अध्यक्ष सन्तबहादुर केसीले भने, ‘जहाँ कृषि पढाइ हुन्छ, त्यहीँका विद्यार्थीलाई प्रत्यक्ष रूपमा सिकाउन सकियो भने त्यसको प्रभाव पुरै विद्यालयमा पर्छ, उनीहरूका घरमा पनि पर्छ र यहाँबाट उत्पादित जनशक्ति भोलि जहाँ जहाँ पुग्छन्, उनीहरूले त्यसलाई पछ्याउँछन् भन्ने हाम्रो अपेक्षा हो।
औजार कुना पनि छ विद्यालयको एउटा कोठामा। जसमा हाम्रा पुर्खाले प्रयोग गर्ने औजारदेखि ती औजारका नाम र उपयोगितासमेत समावेश छ। रैथाने बिउ र परम्परागत खेती अपनाउनुपर्नाको कारण मात्र होइन, यो कसरी दिगो र पर्यावरणमैत्री हुन्छ भन्ने सिकाइ पनि उनीहरूले यही प्रदर्शनी स्थलबाट हासिल गरे। त्यसैले त उनीहरू यस्तो अभ्यासलाई कक्षाकोठा केन्द्रित पाठ्यपुस्तकको पढाइभन्दा कम ठान्दै ठान्दैनन्। भन्छन्– बरु यस्तो अभ्यास गर्न नपाएको भए हाम्रो पढाइ अधुरै पो हुने रैछ।
प्रधानाध्यापक जनकबहादुर सिंह महासंघको पहलमा विद्यालय परिसरमै कृषि कर्म सम्भव भएकाले कृषिका विद्यार्थीले कक्षाकोठामा हासिल गरेका सैद्धान्तिक र किताबी ज्ञानलाई व्यवहारमा उतार्न सहज भएको बताउँछन्।
उनको भनाइ छ– कृषि आफैंमा व्यावहारिक शिक्षा हो। त्यसैले उनीहरूलाई व्यावहारिक ज्ञानका लागि अन्यत्र पठाउनुपर्थ्याे तर आफ्नै विद्यालयमा यो अवसर उपलब्ध हुँदा विद्यार्थी र शिक्षक दुवैलाई फाइदा पुगेको छ।
यस पर्यावरणीय कृषि प्रदर्शनी स्थललाई व्यावहारिक ज्ञानको थलो बनाउनेहरूको समूह पनि अचम्मको छ। आइएससी एजी तेस्रो सेमेस्टरमा पढ्दै गरेकी अर्जुनी बुढा मगर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाकी हुन् भने जानकी खड्का जाजरकोटस्थित जुनेचादे गाउँपालिकाकी हुन्।
त्यसैगरी पाँचौँ सेमेस्टरमा पढ्दै गरेकी तारा रोकाय र छैटौँ सेमेस्टरका विद्यार्थी हेमराज सिंह जाजरकोटको कुसे गाउँपालिकाका हुन्। अनि उर्मिला सञ्ज्याल हुम्लाको ताजाकोट गाउँपालिकाकी हुन् भने सानिया सुनारचाहिँ सुर्खेतकै वीरेन्द्रनगरकी हुन्।
‘सय थरी बाजा एउटै ताल, सयथरि गोडा एउटै चाल’ भनेझैं विभिन्न जिल्लाबाट भेला भएकाहरू विद्यालय वरपरकै घरहरूमा कोठा भाडामा लिएर बस्छन्। कक्षाकोठाको पढाइ सकिएपछि दिनभर के गरौँ के गरौँ भनेर तड्पिनुपर्दैन यिनीहरूलाई।
‘एकातिर पुस्तकको पढाइलाई व्यवहारमा उतार्ने अवसर, अर्कोतर्फ समय बिताउन सहज, त्यसबाहेक कोठाका लागि तरकारी किन्ने पैसा बचत, त्यसमाथि अर्गानिक खान पाइने अनि उस्तै परे पकेट खर्चसमेत उपलब्ध हुने’ फाइदै फाइदाको काइदा बताउँछन् उनीहरू महासंघले उपलब्ध गराएको यो अवसरलाई। उनीहरूका कुरा सुन्दा लाग्छ– यी भविष्यका कृषि नेता हुन् जसले पर्यावरणीय कृषिलाई दिगो र निरन्तर तुल्याउन महत्त्वपूर्ण योगदान दिन सक्छन्।
प्रकाशित: ५ फाल्गुन २०८१ ०७:२१ सोमबार