३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बंगलादेशमा अध्ययनरत विद्यार्थीबारे निजी मेडिकल कलेज: सरकारले अनुमति दिए इन्टर्नसिप गराउन तयार

राज्यले अनुमति दिए बंगलादेशमा अध्ययनरत मेडिकलका पीडित नेपाली विद्यार्थीलाई निःशुल्क इन्टर्नसिप गराउन आफू तयार रहेको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले जनाएको छ। आइतबार साँझ बसेको निजी मेडिकल कलेजहरूको बैठकले बंगलादेशका विद्यार्थीहरूको विद्रोहका कारण प्रभावित नेपाली विद्यार्थीलाई सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका हुन्।

एसोसिएसनका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बंगलादेशमा उत्पन्न समस्याप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले आफूहरू सामाजिक उत्तरदायित्व निर्वाह गर्न जस्तोसुकै परिस्थितिमा पनि तयार रहेको बताए। ‘यस्तो विषम परिस्थितिमा बंगलादेशमा अध्ययनरत हाम्रा छात्रछात्राको पढाइप्रति हामी चिन्तित छौं। ती हाम्रै छोराछोरी हुन्’, विराट मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रा.डा. कार्कीले नागरिकसँग भने, ‘हाम्रो देशमा यस्ता घटनालाई खासै महत्वका साथ हेरिँदैन। राज्य र सम्बन्धित निकायबाट अनुमति प्रदान गर्न मिल्ने स्थिति रहेमा सबै मेडिकल कलेजहरूले बंगलादेशमा अध्ययनरत हाम्रा छात्रछात्रालाई स्वदेश फर्काई पठनपाठन तथा निःशुल्क इन्टर्नसिप गराउन तयार छौं।’

अब राज्यले देशको परिस्थिति र आवश्यकता बुझेर मेडिकल शिक्षासम्बन्धी ऐन, नियम संशोधन गरी अघि बढ्नुपर्ने प्रा.डा. कार्कीले बताए। उनले भने, ‘नेपालमा सञ्चालित १७ वटा मेडिकल शैक्षिक संस्थाहरू आबद्ध रहेको हाम्रो एसोसिएसनले ती विद्यार्थीलाई इन्टर्नसिप गराउन तयार रहेको र राज्यले देशको परिस्थिति र आवश्यकता बुझेर मेडिकल शिक्षासम्बन्धी ऐन, नियम संशोधन गरी अघि बढ्नुपर्छ।’ उनका अनुसार कुनै पनि कानुन जनताका हितमा बनेको हुन्छ र उत्पन्न समय र परिस्थितिअनुसार कानुन जनताको आवश्यकताअनुसार परिमार्जन गरी सहजीकरण गर्नु नै राज्यको दायित्व हो।

बंगलादेशमा उत्पन्न समस्याले निम्त्यिाएको त्रासकै कारण कतिपय विद्यार्थी नेपाल फर्किसकेका छन् भने कतिपय परिस्थिति सामान्य बन्ने आशासहित उतै अध्ययन गर्न रोकिएको अवस्था छ। बंगलादेशमा नेपाली विद्यार्थी मुख्यगरी मेडिकल अध्ययन गर्न जाने गरेका छन्। यही समस्याबारे जानकारी गराउन बंगलादेशबाट नेपाल फर्केका विद्यार्थीहरू शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका छन्।

नेप्लिज मेडिकल स्टुटेन्ट्स एसोसिएसन नेपाल, बंगलादेशका अध्यक्ष डा. नविन यादवको नेतृत्वको विद्यार्थी टोलीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर समस्याबारे ध्यानाकर्षण गराउनुका साथै मेडिकलका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको अध्यक्ष यादवले बताए।

‘प्रधानमन्त्रीज्यूले म यस समस्याबारे समाधानको पहल गर्छु भनेर आश्वासन दिनुभएको छ’, अध्यक्ष डा. यादवले भने, ‘हामी शिक्षामन्त्री, परराष्ट्रमन्त्री, मेडिकल आयोग, मेडिकल काउन्सिल तथा पूर्वप्रधानमन्त्रीदेखि सबै दलका नेताहरूलाई भेटी समस्याबारे अवगत गराइसकेका छौं।’ उनले थपे, ‘अब त निजी मेडिकल कलेजहरूले समेत निःशुल्क इन्टर्नसिप गराउने सार्वजनिक रूपमै प्रतिबद्धता जनाउनुभएको छ। अब राज्यले हामी पीडित विद्यार्थीको समस्या सम्बोधन गर्न किन ढिलाइ गरेको हो ? हाम्रा अभिभावक राज्य हो। राज्यले हाम्रो भविष्य सुरक्षित गरिदिनुपर्छ।’

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शान्तिसुरक्षाको असहज अवस्थाका कारण बंगलादेशस्थित विभिन्न कलेजमा मेडिकल शिक्षाको एमबिबिएस र बिडिएस अध्ययनरत नेपाली विद्यार्थीको पूरा गराइदिने प्रयोजनका लागि सम्बन्धित विश्वविद्यालयको स्वीकृति निजहरूको बाँकी रहेको अवधिको इन्टर्नसिप नेपालमै गर्ने–गराउने वा अन्य कुनै वैकल्पिक व्यवस्था गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन दश दिनभित्र पेस गर्न एक अध्ययन समिति गठन गरेको छ।

चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजन मरहठाको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले विद्यार्थीको विवरण संकलन र हालको अवस्था र समस्या पहिचान गर्ने, इन्टर्नसिपको चरणमा रहेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था वा अन्य कुनै वैकल्पिक व्यवस्था सिफारिस गर्ने, परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश सरकार, सम्बन्धित विश्वविद्यालय र सरोकारवाला निकाय तथा पक्षहरूबिच समस्या समाधानका लागि पहल गर्ने र इन्टर्नसिपसम्बन्धी समस्या समाधानका लागि शिक्षा मन्त्रालयसमक्ष राय सुझावसहितको प्रतिवेदन पेस गर्ने अध्ययन समितिको कार्य तोकिएको छ।

‘हाल बंगलादेशमा हिन्दुहरूमाथि खोजीखोजी आक्रमण भइरहेको अवस्था छ। हामी दुई हजार मेडिकल अध्ययन गरिरहेका विद्यार्थी नेपाल फर्किसकेका छौं’, अध्यक्ष यादवले नागरिकसँग भने, ‘म पनि बंगलादेशको धानमण्डीमा रहेको पपुलर मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेको थिएँ। बिचैमा छाडेर नेपाल फर्किएँ। त्यहाँका कलेजहरूमा अझै पनि हाम्रा नेपाली साथी छन्। कुन बेला कसलाई के हुन सक्छ थाहा छैन।’ उनले थपे, ‘यस्तो संकटको अवस्थामा हामी नेपालमै इन्टर्नसिप गर्न चाहन्छौं। राज्य अभिभावक हो। अभिभावकत्वको जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दछौं।’

हाल बंगलादेशका विभिन्न कलेजहरूमा करिब तीन हजार पाँच सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको एसोसिएसनले बताएको छ । तर नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले यकिन तथ्यांक राख्न नसक्दा वास्तविक विद्यार्थी संख्या भने भन्न नसक्ने अवस्था अध्यक्ष यादवले जनाए । दुई हजार विद्यार्थी आन्दोलनका कारण नेपाल फर्किसकेका छन् भने १५ सय उतै अध्ययन गरिरहेको अवस्था छ।

एमबिबिएसका अन्तिम परीक्षा उत्तीर्ण गरेपछि इन्टर्नसिप गर्न बंगलादेशमा प्राइभेट मेडिकल कलेजमा विद्यार्थीले भर्ना समयमै इन्टर्नसिपको शुल्क तिर्नुपर्ने हुन्छ। त्यही शुल्क नै पछि मेडिकल कलेजहरूले तलब भनेर इन्टर्नसिप गर्दा मासिक फिर्ता गर्ने गरेका छन्, तर सरकारी कलेजमा इन्टर्नसिप गर्नेले कुनै स्टिफेन नपाउने गरेको राजशाही मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका डा. प्रज्ज्वल सिंहले बताए।

‘नेपाल फर्किएका साथीहरू अब बंगलादेश नआउँदा हुन्छ। विदेशीलाई केही नगर्ने आन्दोलनकारीले भनिरहँदा पनि छात्रवासमा पटकपटक आन्दोलनले हामी त्रसित बनेका छौं’, ‘हामी पनि नेपाल फर्कने क्रममै छौं। अब नेपाल सरकारले अभिभावकको भूमिका खेलेर हामी डाक्टर पासलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिनुपर्छ’, उनले थपे, ‘हाल बंगलादेशको पपुलर मेडिकल कलेज, इमान मेडिकविदल कलेज, राजशाही मेडिकल कलेज, अकबर खान मेडिकल कलेजलगायतमा नेपाली विद्यार्थी इन्टर्नसिप गर्न रोकिएका छन्। अब केही दिनमा समस्या समाधान हुन्छ कि भन्ने आशामा हामी यतै पढाइसकेपछि इन्टर्नसिप गर्न रोकियौं, तर अवस्था थप नाजुक बन्दै गयो।’ अध्यक्ष यादवका अनुसार छमेकी मुलुक भारतलगायत विभिन्न देशमा इन्टर्नसिप आफ्नै देशमा गर्न मिल्ने प्रावधान भएजस्तै परिस्थिति र अवस्थाअनुसार नेपालमा पनि हुनुपर्ने उनको ठहर छ ।

प्रकाशित: ३ भाद्र २०८१ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App