२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

जाँदाजाँदै पूर्वप्रधानमन्त्री दहालले भने- त्रिविमा शैक्षिक क्यालेन्डर लागु भएकोमा खुशी छु

फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयले आफनो शैक्षिक क्यालेन्डर कार्यन्वयन गरेकोमा पूर्वप्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दहालले धन्यवाद दिएका छन् । विश्वविद्यालय शैक्षिक क्यालेन्डर अनुसार चल्न नसक्दा दशकदेखि विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक गतिविधि अस्तव्यस्त भएको भन्दै उनले जाँदाजाँदै आफनो कार्यकालमा मुलुकमै जेठो विश्वविद्यालयमा कम्तीमा शैक्षिक क्यालेन्डर लागु भएको बताए । 

आइतबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालसँगको भेटमा उनले अब विश्वविद्यालयलाई शैक्षिक  प्राज्ञिक तथा मर्यादित बनाएर लानु पर्ने जिम्मेवारी विश्वविद्यालयको पदाधिकारीको भएकोले त्यसलाई निरन्तरता दिँदै अघि बढ्न आग्रह गरे ।  

विश्वविद्यालयभित्र बढ्दै गएको राजनीतिलाई अन्त्य गर्ने र योग्यताको आधारमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरि स्वच्छ र प्राज्ञिक विश्वविद्यालय बनाउने आफनो एक मात्र लक्ष्य रहेको प्रधानमन्त्री दहालले बताएको भेटपछि उपकुलपति बरालले जानकारी दिए ।  

‘खासमा हामी पदाधिकारीहरुले सोमबार बस्ने त्रिवि सभाका लागि कुलपतिको हैसियतले प्रधानमन्त्री ज्यूसँग अनुमति लिन भेटेका थियौं । तर राजनीति परिस्थिति पविर्तन भएकोले अब त्यो सभा स्थगनको स्वीकृति लिएर फर्कियौं,’ उपकुलपति बरालले आइतबारसम्म कुलपतिको हैसियतमा रहेका दाहालसँगको भेटपछि नागरिकसँग भने, ‘प्रधानमन्त्री ज्यूले अब विश्वविद्यालयभित्र हरेक पदमा योग्यताको आधारमा नियुक्ति गर्दै जानु पर्ने आग्रह समेत गर्नु भयो । यति मात्र होइन उहाँले विश्वविद्यालयबाट विस्तारै राजनीतिकरण न्यून हुँदै विश्वविद्यालय सुधारको बाटोतिर बढ्दै गएकोमा धन्यबाद दिनु भयो ।’  

बरालले थपे ‘त्रिविले कक्षा सुरु भएको ९० दिनमा पढाइ सकेर ९० दिनमै परिक्षाको नतिजा प्रकाशन गर्ने क्यालेन्डर कार्यन्वयन गरेको देख्दा वहाँ खुशी हुनु भयो । धन्यबाद दिनु भयो।’

प्रधानमन्त्री दाहालसँगको भेटपछि रजिष्ट्रार रिजालले प्रधानन्त्रीले विश्वविद्यालयभित्र हुने कुनै पनि नियुक्तिमा आधार र मापदन्ड सम्बन्धी बिनियम कार्यकारि परिषदबाट पारित गरि कार्यन्वयनमा ल्याएकोमा समेत धन्यवाद दिएको सुनाए।  

‘विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्र देशको मुहार फेर्न सकिन्छ। त्यसकालागि मैले लगातार मेहनत गर्दै आएको छु,’ दाहालको भनाई उद्दृत गर्दै रजिष्ट्रार रिजालले भने, ‘खुला प्रतिस्पर्धाबाट पदाधिकारीको नियुक्ति, शैक्षिक क्यालेन्डर लगायतका क्षेत्रमा महत्त्वपुर्ण सुधार आएको छ । यसले राम्रो सन्देश दिएको छ ।’  

उनले थपे, ‘प्रधानमन्त्री ज्यूले जाँदाजाँदै हामीलाई भविष्यमा समेत यी प्रयासहरु लागू गर्दै जान आग्रह गर्नु भयो ।’  

शिक्षाको सुधार नगरि देशले मुहार फेर्न नसकिने भन्ने मूल मन्त्र आफुले बुझेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई सुधारमा जोड दिएरै अगाडि बढेको उल्लेख गरेका थिए । यही क्रममा दाहालले त्रिवि र संस्कृत विश्वविद्यालयको अधिग्रहण भएको जग्गा खोजी फिर्ता ल्याउन समिति समेत गठन गरेको रजिष्ट्रार रिजालको भनाइ थियो ।  

उपकुलपति बरालले अब नयाँ प्रधानमन्त्री नियुक्ति भएपछि मात्र त्रिवि सभाको समय तोकिने बताए । ‘अब सरकारमा नयाँ प्रधानमन्त्री आउनु भएपछि त्रिवि सभाको लागि कुलपतिको हैसियतले उहाँले दिनु भएको समयले मात्र सभाको समय निर्धारण गर्छ,’ उपकुलपति बरालले भने, ‘सभाले बजेट, नीति तथा कार्यक्रम र अब हुने अगामी दीक्षान्त समारोहमा योग्य विद्यार्थीको ग्रेसलिष्ट पास गर्ने हो ।’ 

प्रकाशित: ३० असार २०८१ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App