२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

कक्षा आरम्भको ९० दिनमा परीक्षा, ९० दिनमै नतिजा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक सत्र २०८१ देखि कार्यान्वयन हुने गरी नयाँ शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असार २५ गते बसेको बैठकले निर्णय गरी कार्यान्वयनका लागि त्रिविअन्तर्गतका अध्ययन संस्थान, संकाय, आंगिक कलेज, केन्द्रीय विभागलगायत सबै निकायलाई आवश्यक कार्यार्थ शुक्रबार (असार २८ गते) परिपत्र गरिएको शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीले बताए।

कार्यान्वयनमा ल्याइएको उक्त नयाँ शैक्षिक क्यालेन्डरअनुसार त्रिविले ९० दिनमा पढाइ सकेर परीक्षा गरिसक्ने र परीक्षा सकेको ९० दिनभित्रै नतिजा प्रकाशन गर्नेछ। नयाँ क्यालेन्डरअनुसार सबै संकायको परीक्षा मिति र परीक्षाफल एकैसाथ प्रकाशन हुनेछ। 

‘नयाँ क्यालेन्डरअनुसार भर्ना प्रक्रियाका सबै काम साउन दोस्रो सातादेखि भदौ तेस्रो साताभित्र सम्पन्न हुनेछ,’ डा. केसीले नागरिकसँग भने, ‘स्नातक प्रथम वर्षको कक्षा भदौको चौथो साता सुरु हुनेछ भने परीक्षा चैतको चौथो साता सम्पन्न हुनेछ। 

कक्षा अन्त्य भने २०८२ जेठ पहिलो साता हुनेछ। परीक्षा २०८२ जेठ चौथो साता र नतिजा प्रकाशन २०८२ असोज दोस्रो साता हुने कार्यक्रम तय गरिएको छ।’ उनले थपे, ‘दोस्रो, तेस्रो र चौथो वर्षको भर्नादेखि परीक्षा र परीक्षाफल प्रकाशनसम्मको सबै काम २०८२ मंसिर पहिलो सातादेखि २०८५ असोज दोस्रो सातासम्म सम्पन्न भएसँगै शैक्षिक तह पूरा हुनेगरी क्यालेन्डर कार्यान्वयनमा ल्याइएको छ।’

उनका अनुसार वार्षिक शैक्षिक ल्यालेन्डर कार्यान्वयन भए/नभएको नियमित अनुगमनका लागि एक समिति गठन हुने उनको भनाइ छ। वार्षिक प्रणालीका परिक्षाहरू त्रिविले विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका बिएस्सी जनरल र विटेक फुड विषयहरू सञ्चालन गरिरहेको छ भने त्यसमा चिकित्सा अध्ययन संस्थानका सबै विषय, शिक्षाशास्त्र संकायका केही विषय र मानविकी संकायका केही विषय छन्। यसैगरी व्यवस्थापन संकायको बिबिएस र एफओएम छन्।

यही क्रममा सेमेस्टर प्रणालीको पनि पहिलोदेखि आठौं सेमेस्टरको अवधि यसपटक २०८१ सालको साउन दोस्रो सातादेखि सुरु भएर भर्नादेखि आठौं सेमेस्टरसम्मको परीक्षा र नतिजा प्रकाशनका कामहरू २०८५ कात्तिकको तेस्रो सातासम्म सम्पन्न हुन्छ। सेमेस्टर प्रणालीमा हाल त्रिविले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कानुन संकाय, मानविकी संकाय तथा व्यवस्थापन संकायका बिआइएम, बिटिटिएम, बिएचएम, बिबिए, बिपिए र बिबिएममा कार्यान्वयन गर्दै आएको छ।

‘सबै प्राक्टिकल परीक्षा पनि अन्तिम परीक्षा सकिएको दुई साताभित्र पूरा गर्नुपर्छ। त्रिविका क्षेत्रीय परीक्षा कार्यलयहरूले आ–आफ्ना क्षेत्रका प्राक्टिकल परीक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष पुस पहिलो सातालाई खेलकुद सप्ताहका रूपमा मनाइने क्यालेन्डरले व्यवस्था गरेको छ।’ उनले थपे, ‘यसैगरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव २०८१ फागुन १५ मा हुन्छ भने अर्को चुनाव २०८३ फागुुन १४ गते हुने मिति तय गरिएको छ।’ 

प्रकाशित: ३० असार २०८१ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App