१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको जगका रुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन गाउँपालिकाले रु नौ लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको हो 

प्रारम्भिक बालविकास केन्द्रमा सिकाइलाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्नका लागि भाषिक, पूर्वगणितीय, विज्ञान तथा वातावरण, दृष्यकला र सिर्जनाशीलता, सामाजिक अध्ययन र अभिनय सीपसँग सम्बन्धित विभिन्न एक सय २६ किसिमका शिक्षण सिकाइ सामग्री प्रदान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए।

उनका अनुसार पालिकाभित्र रहेका ३८ प्रारम्भिक बालिविकास केन्द्रमध्ये यस वर्ष १८ वटा विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ। बाँकी सिकाई केन्द्रलाई आगामी वर्षमा शैक्षिक सामग्री उपलब्ध गराउने तयारी गरिएको छ। गाउँपालिकाले हरेक बालविकास केन्द्रलाई रु ५० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराउँदै आइएको जनाएको छ।

गाउँपालिकाले विभिन्न १५ आधारभूत विद्यालयलाई डेस्कटप कम्प्युटर वितरण गरेको छ। आधारभूत तहमा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी) सुदृढीकरण कार्यक्रमअन्तर्गत छ लाख ५० हजार रूपैयाँ बजेटबाट उक्त कम्प्युटर खरिद गरेर उपलब्ध गराइएको शिक्षा अधिकृत कटुवालले बताए। गत वर्ष ७५ प्रतिशत अनुदानमा १० विद्यालयमा एकएकवटा कम्प्युटर उपलब्ध गराएको थियो।

पालिकाले विद्यालयको पाठ्यपुस्तकमा अनिवार्य भएको कम्प्युटर विषयको पठनपाठनमा सहजताका लागि कम्प्युटर अभाव रहेका विद्यालय छनोट गरी यस वर्ष निःशुल्क रुपमा कम्प्युटर उपलब्ध गराएको जनाएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निःशूल्क सेनेटरी प्याड र डिस्पोजल मेसिनसमेत वितरण गरिएको छ।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि विनियोजन भएको रु पाँच लाख ९४ हजार बजेटबाट पालिकाले १४ सामुदायिक विद्यालयलाई सेनेटरी प्याड र प्याडलाई नष्ट गर्ने मेसिन खदिर गरेर उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, वडाध्यक्ष ओमप्रसाद फगामी, शिक्षा अधिकृत कटुवाल लगायतले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई उक्त सामग्री वितरण गरेका थिए।

सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पुनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तर सुधार र शिक्षण सिकाइमा सूचना, प्रविधिको उपयोग बढाउन जोड दिइएको बताए।

यसैबीच गाउँपालिकाले कोभिडबाट भएको सिकाइ क्षति न्यूनीकरणअन्तर्गत आपूरणीय क्षति र दु्रत सिकाइ सम्बन्धी ३६ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण समेत गरेको छ। 

प्रकाशित: १४ असार २०८१ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App