२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने

ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।

बुधबार महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसबारेमा जानकारी गराएको हो । महानगरपालिकाले सङ्घीय र प्रादेशिक प्रहरीसँग नगर प्रहरीको समन्वयात्मक सहसम्बन्ध स्थापना गरी नगरवासीको सुरक्षा र गुनासा व्यवस्थापन गर्ने जनाएको छ।

विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य र नवीनतम र सिर्जनशील क्रियाकलाप एवं कर सङ्कलन लगायतका कार्यमा आवश्यकता अनुसार नगर प्रहरीको प्रभावकारी परिचालन गर्ने र साइकल लेनमा पार्किङ निषेध गर्ने व्यवस्था मिलाउने जनाएको छ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बलमा संलग्न जनशक्तिको उत्प्रेरणा एवं मनोबल अभिवृद्धिका लागि आवश्यक व्यवस्था गर्ने र नगर प्रहरीको सेवालाई केन्द्रबाट प्रभावकारी रुपमा परिचालन गर्ने व्यवस्था मिलाउने बताए।

विपद् सुरक्षा तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना विकासका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई अनुकरण गर्ने गरी क्षमता विकास गर्ने पनि जानकारी गराए। संघ संस्था दर्ता, नियमन र अनुगमनलाई व्यवस्थित गर्ने, महिला तथा विपन्न वर्गको सशक्तीकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्ने, वडा स्तरीय÷टोल स्तरीय महिला समूह, एकल महिला÷पुरुष समूह, जेष्ठ नागरिक समूह, युवा समूह गठन, तथा सञ्चालनका लागि छुट्टै कार्यविधि जारी गर्ने बताए।

दलितहरूको परम्परागत सीप तथा पेसालाई आधुनिकीकरण गर्दै स्वरोजगारमुखी बनाउन जोड दिइने, महानगर अन्तर्गत सञ्चालित कम्तीमा दुई वटा सामुदायिक विद्यालयलाई क श्रेणीको विशेष सुविधायुक्त विद्यालय वा अन्य संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा कार्यविधि बमोजिम नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने बताए।

ललितपुर महानगरपालिका क्षेत्र भित्र सञ्चालित बाल विकास केन्द्रहरूको नक्शाङ्कन गरी बाल विकास केन्द्रलाई एकीकरण तथा सुदृढीकरण गर्ने, संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा महानगर भित्रका कम्तीमा पाँच वटा बाल विकास केन्द्रहरू (सञ्चालित/नयाँ) लाई कार्यविधि बमोजिम नमुना बाल विकास केन्द्रको रुपमा सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ।

महानगर क्षेत्रभित्रबाट दैनिक फोहर मैला उत्पादन तथा उत्पादन हुने क्षेत्र वृद्धिको व्यवस्थापनका लागि अस्थायी ट्रान्सफर स्टेसन उपयुक्त स्थानमा स्थानान्तरण सम्बन्धमा अध्ययन गर्ने, फोहर मैला वर्गीकरण प्लान्ट र कम्पोस्ट प्लान्टको सम्बन्धमा अध्ययन गर्ने कार्यक्रम अघि सारेको छ। 

प्रकाशित: ५ असार २०८१ १८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App