३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा १२ को परीक्षा केन्द्रबाट २० मोबाइल जफत, पाँच विद्यार्थीको सबै परीक्षा रद्द

राष्ट्रिय परीक्षा बोर्डले संचालन गरिरहेको कक्षा १२ को परीक्षामा चौथो दिनसम्म देशभरिका विभिन्न परीक्षा केन्द्रहरूबाट २० मोबाइल जफत भएको छ।

परीक्षामा मोबाइल प्रयोग गरि अमर्यादित कार्य गरेको भन्दै काठमाडौं चाबहिलको दुई परीक्षा केन्द्र र तराईका केन्द्रहरूबाट कुल २० मोबाइल जफत गरिएकाे कक्षा १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

साथै परीक्षा केन्द्रमा मोबाइल प्रयोग गरि अमर्यादित काम गर्ने पाँच परीक्षार्थीको यस वर्षको सबै परीक्षा रद्द गरिएको उनले सुनाए।

बोर्डले यो वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि संचालन गरेको थियो। वैशाख २६ गतेसम्म संचालन हुने उक्त परीक्षामा हालसम्म सिराहाका एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष समेत कारबाहीमा परेका छन्।

परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले मोबाइल प्रयोग गरि परीक्षामा चिट चोर्ने लगायतका अमर्यादित क्रियाकलाप बढ्दै गएपछि बोर्डले सोमबार सार्वजनिक सूचना प्रकाशित गरि परीक्षा केन्द्रमा मोबाइल पूर्ण रुपमा निषेधित गरिएको जनाउँदै नियम विपरित मोबाइल प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

‘सिराहाको परीक्षा केन्द्रमा पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा ०८० सालकै प्रश्न पत्र डाउनलोड गरि प्रिन्ट गरेर केन्द्राध्यक्षले बाडेको पाइयो। त्यस लगत्तै परीक्षामा लापरबाही गर्ने ति केन्द्राध्यक्षलाई पनि कारबाही गरिएको छ,’ परीक्षा नियन्त्रक शर्माले नागरिक न्युजसँग भने, ‘आइतबारको गणित/ समाजशास्त्र विषयको परीक्षामा चिट चोर्न नदिएको भन्दै वीरगन्जमा रहेको हरिखेतान कलेजमा तोडफोड भएकाे छ।’

उनले थपे, ‘जनकपुर, महोत्तरी र सरलाहीका पाँच परीक्षा केन्द्रका पाँच विद्यार्थीले अनियमितता गरेको प्रमाण भेटिएपछि यो वर्षको सम्पूर्ण परीक्षा रद्द गरिएको छ।’

यो वर्ष कक्षा १२ को परीक्षामा कुल चार लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागि छन् र सबै भन्दा धेरै परीक्षा केन्द्र भएको काठमाडौं हो। यहाँ एक सय ४४ केन्द्र छन् भने सबै भन्दा थोरै मनाङ र मुस्ताङमा एक/एक वटा केन्द्र छन्।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ५२ हजार ४ सय ७१ जनशक्ति परिचालन गरिएको बोर्डले जनाएको छ। देशभरि एक हजार ५ सय २६ केन्द्रबाट परीक्षार्थीले परीक्षा दिइरहेका छन्।

प्रकाशित: १८ वैशाख २०८१ १८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App