१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अभियान

विराटनगर महानगरपालिका वडा नं ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ। सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो।

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडाका दुईवटा सामुदायिक विद्यालयमा अभियान सुरु गरिएको विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले बताए। उनले  पहिलो कार्यकालमा वडाको भौतिक पूर्वाधार सुधारको काम गरेको र अहिले  विद्यालय शिक्षाको गुणस्तर सुधार अभियान सुरु गरेको जानकारी दिए।

‘पहिलो कार्यकालमा भौतिक विकास निर्माणलाई ध्यान दिए पनि दोस्रो कार्यकालमा शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर अभियान थालेका छौं।’ शिक्षालगायत  स्वास्थ्य, बालबालिका, पिछडिएको वर्गका क्षेत्रका कामलाई पनि वडाले प्राथमिकता दिएको उनले बताए।

शिक्षा सुधार अभियानअन्तर्गत शुक्रबार विराटनगर– ११ स्थित जनपथ माध्यामिक विद्यालयमा अभिभावक अन्तक्र्रिया कार्यक्रम गरिएको छ। विद्यालयको गुणस्तर सुधारमा अभिभावकको निगरानी, सुझाव र सहयोग आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए।

उनले विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न चरणमा व्यवस्थापन समिति, अभिभावक,शिक्षक र विद्यार्थीसँग अन्तक्र्रिया गरिरहेको जानकारी दिए।

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शिक्षामा सुधार नभई अरु क्षेत्रको विकास सम्भव नभएको बताए। भट्टराईले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि महानगरले काम गरिरहेको बताए। उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय र अभिभावक प्रतिबद्ध हुन आवश्यक रहेको धारणा राखे।

शिक्षाको गुणस्तर सुधारका लागि महानगरपालिका सहयोग गर्न सँधै तत्पर रहेको भट्टराईले बताए। उनले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि बालबालिकालाई नियमित विद्यालय पठाउन, विद्यालयको निगरानी गर्न, आफ्ना बालबालिकाको पठनपाठनका विषयमा विद्यालयमा शिक्षकसँग सोधपुछ गर्न अभिभावकलाई आग्रह गरे।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावक विश्वस्त नहुँदा सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर विद्यार्थी बढाउन अभिभावक बाध्य भएको भट्टराईले बताए।

कार्यक्रममा अभिभावक सन्तोष साह, विद्यालयका प्रधानअध्यापक हरि पराजुलीलगायतले  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानिय तह र राजनीतिक दलहरूबीच सहकार्य आबश्यक रहेको धारणा राखे।

विराटनगर महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्रका विद्यालयमा ७० हजार बालबालिका अध्ययन गरिरहेका छन्, जसमा संस्थागत विद्यालयमा ४० हजार र सामुदायिक विद्यालयहरूमा ३० हजार विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: १२ फाल्गुन २०८० ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App