१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

‘सर्च कमिटी देखाउने दाँत मात्र’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटका लागि गठन गरिएको सर्च कमिटीले १४ जनाको सर्टलिस्ट गरी त्रुटिपूर्ण कार्य गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिवि उपकुलपति छनौटका लागि गठन गरेको सर्च कमिटी देखाउने दाँत मात्र बनेको शिक्षाविद् विद्यानाथ कोइरालाको ठहर छ।

सर्टलिस्टमा परेका कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन्। सर्टलिस्टमा परेकाको व्यावसायिक कार्ययोजना र सोचपत्र प्रस्तुतीकरण माघ २९ देखि फागुन २ सम्म रहेको थियो।

कुलपतिको हैसियतले दाहालले त्रिवि उपकुलपतिको सर्टलिस्ट हुनुअगावै शिक्षाविद्, समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिविद्लाई बोलाएर छलफल र सुझाव मागेका थिए।

त्रिविमा कायम चरम राजनति भागबन्डा अन्त्य गर्न यसपटक त्रिविमा निष्पक्ष र प्राज्ञिक आधारमा मात्र उपकुलपति नियुक्ति गर्ने वचन दिएका कुलपतिले सर्च कमिटीले नै बौद्धिक चोर र भ्रष्टाचार आरोपितलाई सर्टलिस्ट गरेपछि सर्ट कमिटीको कार्य नै त्रुटिपूर्ण रहेको भन्दै चौतर्फी आलोचना भइरहेको कोइराला बताउँछन्।

सर्च कमिटीको १४ जनाका सर्टलिस्टमा प्रा.डा. तीर्थ खनिया बौद्धिक चोरी गरेमा आरोपित हुन् भने प्रा.डा. केशरजंग बराल भ्रष्टाचार आरोपित हुन्। पछि यी दुवैले सफाइ पाएका थिए। ‘दुईजना कर्मचारी र एकजना उपप्राध्यापक रहेको सर्च कमिटीले सर्टलिस्ट नै त्रुटिपूर्ण ग¥यो। बौद्धिक चोरको आरोप खेपेका र भ्रष्टचारमा जेलसमेत परेका व्यक्ति कसरी सर्टलिस्टमा परे ?’, शिक्षाविद् कोइरालाले प्रश्न उठाए, ‘सर्च कमिटी त देखाउने दाँत मात्र बन्यो। भित्री कुरा त राजनीति भागबन्डा नै देखियो।’ 

उनले थपे, ‘शिक्षक, प्राध्यापक, विद्यार्थी सबै दलदलका रहेछन्। यसरी विश्वविद्यालय कहिल्यै उँभो नलाग्ने पो देखियो। हामीसँग कुलपतिले फोटो मात्र खिचाएर दुरुपयोग गरे। हामीले दिएको उपकुलपति छनौटको सुझाव त कतै कार्यन्वयन गर्नुभएन।’ शिक्षाविद् कोइरालासहित शिक्षाविद् केदारभक्त माथेमा, समाजशास्त्री चैतन्य मिश्र, राजनीतिक विज्ञ कृष्ण खनालसँग कुलपतिले भेटेर उपकुलपति नियुक्तिबारे सुझाव मागेका थिए।

विज्ञहरुले त्रिवि मात्र होइन विश्वविद्यालमा कायम चरम राजनीतिक भागबन्डा अन्त्य गर्न प्रधानमन्त्रीले कुलपति पदबाट राजीनामा दिनुपर्ने र उपकुलपति छनौट गर्न सर्च कमिटी उपयुक्त नरहेकाले विज्ञसहितको उपसमिति बनाएर अघि बढ्न दिएको सुझावसमेत लत्याएर सर्च कमिटीले बौद्धिक चोर र भ्रष्टाचार आरोपितलाई सर्टलिस्ट गरी त्रुटिपूर्ण काम गरेको शिक्षाविद् कोइरालाको निष्कर्ष छ।

‘सर्च कमिटीले आवेदन माग्ने मात्र काम ग¥यो।विभिन्न आरोप लागेका व्यक्तिलाई सर्टलिस्ट गरेर उपकुलपति छनौटको कार्यविधि नै त्रुटिपूर्ण देखियो’,  शिक्षाविद् कोइराला भन्छन्, ‘सर्च कमिटीका संयोजक सहकुलपति एवं शिक्षामन्त्रीले कहिल्यै विज्ञहरुसँग छलफल गर्नुभएन। राजनीति आस्थाकै आधारमा सर्टलिस्ट भयो।’

शिक्षाविद् कोइरालाका अनुसार सोचपत्र र व्यावसायिक कार्यपत्र प्रस्तुतीकरणको न्यूनतम ८ अंक र अधिकतम १५ अंकमा ठूलो चलखेल हुने निश्चित छ।

प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिविको सर्च कमिटीको उपकुलपति छनौट गर्ने कार्यविधि नै त्रुटि भएकाले हाल सर्टलिस्टमा बौद्धिक चोर र भ्रष्टाचार आरोपितहरु छनौटमा परेकोमा उनले विरोध जनाएकी छन्। उनले आफूले कुलपति र सहकुलपतिलाई भेटेरै पाँच पेजको त्रिवि उपकुलपति छनौट तथा सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्नुपर्नेबारे आधार र प्रमाणसहित पत्र बुझाएको भए पनि त्यसको बेवास्ता गरी राजनीति आस्थाकै आधारमा सर्टलिस्ट भएको बताइन्।

‘त्रिवि उपकुलपति पदका लागि आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक भएसँगै उक्त सूचीमा उत्तरपुस्तिका नष्ट गरेका आरोपित व्यक्तिदेखि बौद्धिक चोरीको आरोप लागेकाहरुले आवेदन दिएको देखिएको र उक्त व्यक्ति नै सर्टलिस्टमा समेत परेका छन्’, प्रतिनिधि सभा सदस्य श्रेष्ठले भनिन्, ‘बौद्धिक चोरीबारे उपकुलपति नियुक्तिको मापदण्डमा नसमेटिएका कारण यसले प्रधानमन्त्रीले त्रिविको ४९औं दीक्षान्त समारोहमा दिएको उत्कृष्ट व्यक्ति छान्ने आश्वासनमाथि नै प्रशन उठेको छ।’ उनले थपिन्, ‘उपकुलपति छनौटको मापदण्डमा भएको विरोधाभाषपूर्ण विषय व्याख्या गर्दै छनौट प्रक्रिया पुनरावलोकन गर्न प्रधानमन्त्री, शिक्षामन्त्रीसमक्ष माग गरेका छौं।’ 

उनले स्वघोषणा गरेरै विभिन्न आरोप खेपेका आरोपितहरुले आवेदन दिएको देखिएकाले स्वघोषणामा विश्वविद्यालय नचल्नेसमेत स्पष्ट भएको बताइन्। उनका अनुसार सरकारले विश्वविद्यालयहरुमा उपकुलपति खोज्ने काम गर्न सकेको छैन। ‘सर्च कमिटी त देखाउने दाँत मात्र बन्यो। भित्र त राजनीतिक भागबन्डामै नियुक्ति गर्ने दाउपेंच देखियो’, श्रेष्ठले भनिन्, ‘भागबन्डा नगर्ने भए बौद्धिक चोर र भ्रष्टाचार तथा उत्तरपुस्तिका नष्ट गर्नेहरु कसरी सर्टलिस्टमा परे।’

उता उपकुलपतिको योग्य उम्मेदवार प्रा.डा. संगीता रायमाझी आफू सबै तवरबाट योग्य, सक्षम र आत्मविश्वास भएकै कारण उपकुलपतिका लागि आवेदन दिएको जनाउँदै राजनीतिक उम्मेदवार नभएकै कारण आफूलाई बाहिर पारेको बताइन्।

‘प्रधानमन्त्रीले विश्वविद्यालयलाई राजनीतिमुक्त पार्ने, योग्यता क्षमता र प्राज्ञिक आधारमा निष्पक्ष उपकुलपति नियुक्ति गर्ने आश्वासन दिएपछि मैले आवेदन दिएकी हुँ। किनभने म योग्य, सक्षम र दक्ष उम्मेदवार भएको आत्मविश्वासका साथ आवेदन दिएकी थिएँ’, प्रा.डा. रायमाझीले भनिन्, ‘तर सर्टलिस्ट हेर्दा कांग्रेस, एमाले, माओवादीका नेताहरु नै छानिएका छन््।’ उनले थपिन्, ‘कुलपतिका भनाइ र गराइमा फरक पर्‍यो।

प्रकाशित: ४ फाल्गुन २०८० १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App