देव क्षेत्री र दीप जबराको जोडीले मन्डिखाटार दोस्रो एमेच्योर टेनिस टुर्नामेन्टको ३५ वर्षमाथिको डबल्समा उपाधि जितेको छ।
मन्डिखाटार टेनिस कोर्टमा शुक्रबार भएको फाइनल झिडन्तमा देव र दीपको जोडीले भीष्मजंग गुरुङ र सीमान्त गुरुङको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो। ६–३, ४–६ पछि नतिजा १४–१२ ले निकालिएको थियो।
४५ वर्षमाथिको डबल्समा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीले उपाधि जितेको छ। उनीहरूले धर्म लामिछाने र गोपी भट्टराईको जोडीलाई सुपर टाइब्रेकरमा पराजित गरेका हुन्। उनीहरूले ६–३, २–६ र १०–७ ले जित हासिल गरेका थिए।
४५ वर्षमाथिको सिंगल्समा सूर्य गिरी र देव क्षेत्रीबीच उपाधि भिडन्त हुनेछ। सेमिफाइनलमा सूर्यले आशिष सिग्देललाई ६–१, ६–२ को स्कोरमा पराजित गर्दा देवले महेश श्रेष्ठलाई ६–२, ६–४ को स्कोरमा स्तब्ध गर्दै फाइनलमा स्थान बनाएका हुन्।
५५ वर्षमाथिको इभेन्टमा मनोजविक्रम शाह र सञ्जीव श्रेष्ठ तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि भिडन्त गर्ने भएका छन्। सेमिफाइनलमा घिमिरे र विष्टको जोडीले मनोजशमशेर जबरा र डिगेन्द्र श्रेष्ठको जोडीलाई ६–३, ६–२ को स्कोरमा स्तब्ध बनायो।
यसै गरी मनोज शाह र सञ्जीव श्रेष्ठको जोडी तथा हिमाल शाह र शिव सेढाईंको जोडीबीच ६–४, ४–६ भई सुपर टाइब्रेकर हुँदा घिमिरे र विष्टको जोडीले १०–३ ले बाजी मारेको थियो।
५५ वर्षमाथिको सिंगल्समा विमल वाइबा र मनोजबिक्रम शाहले उपाधि भिडन्त गर्नेछन्। विमलले उत्तम बोगटीलाई ६–१, ६–१ को सहज स्कोरमा पराजित गर्दा मनोजले जीवन घिमिरेलाई ६–०, ६–४ को स्कोरमा स्तब्ध बनाए।
यसैगरी, ६५ वर्ष माथिको डबल्समा कमल थापा र छाम्बा ढुन्डुपको जोडीले उपाधि जितेको छ। उनीहरूको जोडीले मनोजशमशेर राणा र प्रकाशसिंह बोगटीको जोडीलाई ६–२, ६–३ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगिताअन्तर्गत शनिबार विहान ७ बजेदेखि बाँकी इभेन्टका फाइनल खेल हुनेछन्। बिहान ७ बजे ६५ वर्षमाथिको सिंगल्समा उपाधिका लागि कमल थापा र कर्मा घलेबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: ३० चैत्र २०८१ ०८:२१ शनिबार





