१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिवि विद्यार्थीले अबदेखि घरैबाटै लिन सक्छन् सुविधा! आज हुँदैछ अनलाइन 'डेमो'

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विद्यार्थीहरूलाई बल्खुस्थित कार्यालयमा धाइरहनु पर्ने अवस्थाको अन्त्य गर्ने प्रयासमा लागेको छ।

कार्यालयले आज ‘अनलाइन प्रणाली’को 'डेमो' गर्दै छ। यसलाई माघको पहिलो सातादेखि व्यवहारमा लागु गर्ने बताइएको छ।

त्रिवि अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका कुनैपनि सुविधा विद्यार्थीहरूले अबदेखि घरमै बसेर लिन सक्ने गरी अनलाइन प्रणाली विकास गरिएको छ।

‘हामी विद्यार्थीका समस्यामा केन्द्रीत छौँ। विद्यार्थीलाई स–साना काम लिएर कार्यालयमा धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नेछौं’, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीले नागरिकन्यूजसँग भने, ‘आज हामीले विकास गरेको अनलाइन प्रणालीको डेमो गर्दैर्छौ।’

उनका अनुसार आइतबार डेमो गर्न लागिएको अनलाइन प्रणाली लागू भएपछि विद्यार्थीहरूले सर्टिफिकेट, रि-टोटलिङ गर्न, नाम र ठेगाना सच्याउनेलगायत अन्य कुनैपनि सुविधा घरबाटै लिन सक्छन्। यसका लागि कार्यालयमा धाइरहनु पर्दैन। पैसा बुझाउन बैङ्कमा पनि लाइन बस्नु पर्दैन।

‘मैले आज त्रिविका सबै पदाधिकारी ज्यूहरूलाई बोलाएर डेमो गर्दै छु’, जोशीले भने। उनका अनुसार पूल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा डेमोको कार्यक्रम राखिएको छ। डेमोमा सबै डिन, रेक्टरलगायत पदाधिकारीहरू सहभागी हुदै छन्।

उनले यो प्रणाली आफुले दुई वर्ष अघि नै विकास गरेको जानकारी दिँदै भने, ‘मैले जनशक्ति अभावले गर्दा यो लागू गर्न सकेको थिइन। अब गर्छु।’ तर जोशीले अझै आफूसँग पर्याप्त जनशक्ति नभएको गुनासो गरे। ‘अहिलेसम्म मैले ६ जना मात्र पाएको छु। यो सङ्ख्या पर्याप्त छैन’, उनले भने।

जोशीका अनुसार विद्यार्थीहरूलाई आवश्यक कागजातहरू इमेल मार्फत माग्न सक्छन्। ती कागजात केन्द्रीय तथा क्षत्रिय कार्यालय मार्फत उनीहरूकै ठेगानामा पुग्छ। यसको कार्यालय काठमाडौँको बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगरमा छ। यी कार्यालयहरूबाट पनि परीक्षासँग सम्बन्धित काम भइरहेको छ। मधेस प्रदेशलाई लक्षित गर्दै अर्को कार्यालय थप्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित: २९ पुस २०८० ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App