१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

कार्बन डाइअक्साईड मापन गर्न विद्यालयमा डिभाईस

वातावरणीय साक्षरता दिलाउन पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता

वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको अवस्था र वातावरण सम्बन्धि साक्षरता फैलाउने गरि पोखराको पश्चिमाञ्चल मावि र जापानको नागोया साङग्यो विश्वविद्यालयका पदाधिकारी सम्झौता गर्दै। तस्बिरः नागरिक

वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययन सुरु भएको छ। पोखरा, काठमाडौं, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत ती ठाउँको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको मापन गर्ने र विद्यार्थीमार्फत सचेतना फैलाउने कार्यक्रम सुरु भएको हो।  

जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थबारे अध्ययन गर्न थालेको हो। त्यससँगै विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने काम पनि गरिने विश्वविद्यालयले बताएको छ।  

विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने र वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्न सहकार्य गर्नेगरि ोखराको गैहपाटनस्थित पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता पनि भएको छ। नेपालमा भएको यो नै पहिलो सम्झौता पनि हो।

विश्वविद्यालयका तर्फबाट प्राध्यापक मासाकाजु इथो र पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पोखरा क्षेत्रमा पश्चिमाञ्चल मावि मार्फत पोखराका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम र वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको मोनिटरिङ पनि गरिने प्राचार्य कोइरालाले बताए। नेपालमा पहिलोपटक विद्यालयस्तरमा गरिने यो अध्ययनले त्यस क्षेत्रको वायुमण्डलमा रहेको कार्बन डाईअक्साईडको अवस्था थाहा हुने उनले बताए।

जलवायु परिवर्तनको असर नेपालमा कत्तिको परेको छ र वायमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्था कस्तो छ भन्ने बुझ्न पनि यो अध्ययनले सघाउने विश्वविद्यालयका प्राध्यापक इथोले बताए। ‘जलवायु परिवर्तनको असर नेपालमा कस्तो छ भन्ने बुझाउनका लागि यो सबैभन्दा सहज माध्यम हुनेछ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर कर्म गर्नका लागि चाल्नुपर्ने कदमबारे विद्यार्थीलाई पनि सिकाइनेछ। यसले समूदायमा वातावरण सम्बन्धि साक्षरता पनि बढ्नेछ।’ पोखरामा पश्चिमाञ्चल मावि, अमरसिंह नमूना मावि र लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा यो अध्ययन गरिने उनले बताए। त्यसको अगुवाई पश्चिमाञ्चल माविले गर्नेछ।

अध्ययनका क्रममो बायुमण्डलको कार्बन डाईअक्साइड मापन गर्नेगरि विद्यालयमा डिभाइस पनि राखिनेछ। त्यो डिभाइसले १० किलोमिटर परिधिभित्रको बायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्ने उनले बताए। ‘बायुमण्डलमा रहेको कार्बन डाईअक्साइडबारे विद्यार्थीलाइ बेलाबेलामा जानकारी गराउन पाइनेछ। त्यसबाहेक बोट विरुवाको नजिक डिभाइस राख्दा आउने परिवर्तन पनि बुझाउन सकिनेछ,’ उनले भने, ‘विद्यालय परिसरमा बोटविरुवाको भूमिकाबारे पनि विद्यार्थीले बुझ्नेछन भने यसले उनीहरुमा वातावरण संरक्षण सम्बन्धि सचेतना पनि बढाउनेछ।’  

यसले पोखराको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थाबारे पनि थाहा हुने उनले बताए । प्राध्यापक इथोका अनुसार जापान सरकारले यो कार्यक्रम नेपालबाहेक अन्य मूलुकका पनि लागु गरेको छ। यो कार्यक्रम जापनासँगै भियतनाम, ताइवान र इन्डोनेसियामा यसअघि नै लागु भएको छ। नेपालमा पोखरा, काठमाडौं, बुटवल र बर्दियाका विद्यालयमार्फत कार्यक्रम गरिनेछ। वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको परिवर्तनबारे पनि बुझाउन सकिने उनले बताए। नेपालका ठाउँठाउँमा गरिएको अध्ययनले भविश्यमा वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडबारे विश्वलाई बुझाउन सकिने पनि उनले बताए।  

पश्चिमाञ्चल माविका प्राचार्य कोइरालाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे बुझाउन आवश्यक रहेको बताए। ‘जलवायु परिवर्तनले पारेको असरबारे अहिले समुदायमस्तरमा खासै वास्ता छैन। बालबालिका मार्फत अभिभावकसामु सचेतना फैलाउन सके मात्र यो समस्यासँग जुध्न सकिन्छ,’ उनले भने, ‘यो अध्ययनले नेपाल सरकारलाई पनि सजग गराएर जलवायु परिवर्तनको असरबारे बुझाउनका लागि कार्यक्रम गर्न झक्झकाउनेछ।’  

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथा ओझाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे समुदाय बेखबर रहेकोले बालबालिकामार्फत अभिभावकलाई सजग गराउनुपर्ने बताए। ‘जलवायु परिवर्तनको असर, वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको असर जनमानसमा परिसकेको छ। तर, समुदाय बेखबर छ। बेलैमा सचेत नहुने हो भने आगामि पुस्ताले जलवायुको असर अझै धेरै खेप्नुपर्ने हुन्छ,’ ओझाले भने, ‘त्यसैले यसबारेमा सचेत हुनुपरेको हो। विद्यालयका बालबालिका मार्फत फैलाएको साक्षरता अभियान बढी प्रभावकारी पनि हुनेछ।’

प्रकाशित: ११ पुस २०८० ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App