९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यालयको बाँझो जमिनमा हराभरा तोरी

चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ। विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो।

विद्यालयवरपरका क्षेत्रमा तोरी फुलेर ढकमक्क छ। विद्यायलको जग्गा संरक्षणसँगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरिएको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताइन्। उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरिएको जानकारी दिइन्।

यस विद्यालयमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान कार्यक्रमसमेत सञ्चालनमा छ। ‘विद्यालयमा सिकाइ र कमाइ कार्यक्रम चलिरहेको छ, उनले भनिन्, ‘त्यो कार्यक्रमको खाकाले हामीलाई पनि हौसला प्रदान ग¥यो।’ उनले अनुसन्धान कार्यक्रमबाहेक रहेको जमिनमा विद्यालयले नै खेती गर्ने व्यवस्थापन समितिको निर्णयपछि तोरी खेती गरेको बताइन्। ‘झाडीमा परिणत भएको विद्यालयको जमिन ढकमक्क छ’, उनले भनिन्, ‘यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको साथ छ।’

विद्यार्थीलाई माटो चिनाउन र उनीहरूले पढेका ज्ञान व्यावहारिक रूपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उनले बताइन्। कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइमार्फत दिगो बनाउन सकिने जनाउँदै उनले यसले विद्यालयको शैक्षिक गुणस्तरसमेत बढाउने विश्वास व्यक्त गरिन्।

प्रधानाध्यापक रिजालले विद्यालयले गरेको प्रयासमा समुदायको पनि साथ रहेको बताइन्। उनले भनिन्, ‘स्थानीयले भैंसी–बाख्रा चराउने ठाउँ हो तर हामीले खनजोत गरेपछि उनीहरू सबै तपाईंले राम्रो गर्नुभएको छ भन्दै सहयोग गर्न आउँछन्। ‘खेतीले विद्यालयलाई समुदायसँग जोड्ने सेतुका रूपमा काम गरेको अनुभव भएको उनले बताइन्।

विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी पाँच वर्षमा विद्यालयको सबै जमिनलाई उपयोग गर्ने योजना बनाइएको बताए। उनले सिँचाइको समेत तयारी गरिएको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको जानकारी दिए।

‘विद्यालयलाई यो कार्यक्रममार्फत नमुना विद्यालयका रूपमा अघि बढाउने योजना छ’, उनले भने, ‘विद्यार्थीलाई सिकाइसँग र अभिभावकलाई विद्यालयसँग जोड्ने यो कार्यक्रम महत्वपूर्ण छ।’ जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यावहारिक शिक्षाले हरेक घरपरिवार खुसी र सुखी हुने शिक्षक ढकालले बताए। –रासस

प्रकाशित: २८ मंसिर २०८० ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App