१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई दुई लाख

टीकापुरमा आयोजित स्मृति सभामा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर : नागरिक

इजरायलमा हमास विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा टीकापुरमा स्मृति सभाको आयोजना गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकायले सभाको आयोजना गरेको हो।

सभामा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल घटनाबाट मुलुकले ठुलो क्षति ब्यहोर्नुपरेको बताए। उनले अनाहकमा नागरिक गुमाउनुपर्दा जीवनभर बिर्सन नसकिने पीडा महसुस भइरहेको बताए। ‘मृत्यु सत्य हो। हरेकले जन्मेपछि मर्नै पर्छ,’ उनले भने, ‘तर कुनै कुनै मृत्यु जीवनभर बिर्सन सकिँदैन। यो घटना पनि त्यस्तै हो।’

उनले घरपरिवारका सपना साकार पार्ने विद्यार्थीहरूको लक्ष्य अधुरो रहन पुगेको बताउँदै प्रदेश सरकार सदैव पीडित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे पीडित परिवारको जीविकोपार्जनका लागि सक्दो सहयोग गर्ने बताए।

सोही सभामा बोल्दै इजरायली राजदूत खनान गोदरले त्यहाँ मारिएका विद्यार्थीका परिवार अब आफ्ना परिवार सरह भएको बताए। उनले इजरायल सरकारले मृतकका परिवारलाई आफ्नै परिवार सरह सहयोग गर्ने बताए। ‘अब तपाईंहरू हाम्रो परिवार हो,’ उनले भने, ‘इजरायल सरकार तपाईंहरूको साथमा छ।’ 

उनले त्रिभुवन विमानस्थलबाट आफैले हात मिलाएर बिदाइ गरेका विद्यार्थीहरूका बारेमा खबर सुन्नुपर्दा निकै दुःख लागेको बताए। उनले त्यो क्षण आफ्ना लागि जीवनकै कठिन भएको बताए। ‘त्यो मेरा लागि निकै कठिन क्षण थियो,’ उनले भने, ‘मैले नै हात मिलाएर बिदाइ गरेको थिएँ।’

उनले इजरायल र नेपालको झन्डै ६० वर्ष लामो सम्बन्धमा हमासले तिक्तता ल्याउन खोजेको बताए। उनले खराब मान्छेहरूले समस्या खडा गरे पनि दुई देशबिचको सम्बन्धमा कुनै असर नपर्ने बताए।

कार्यक्रममा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्द जोशीले छोरो फर्किने पर्खाइमा रहेको बताए। उनले इजरायली राजदूतसँग छोरालाई फर्काइदिन आग्रह गरे। उनले युद्धविरामको अन्त्यपश्चात आफ्नो परिवार थप निराश भएको बताए। राजदूत गोदरले जोशीसँग कुराकानी गर्दै विपिनलाई सकुशल उद्धार गर्नेबारे पहल भइरहेको बताए। उनले विपिन नेपाल फर्किने कुरामा विश्वस्त रहन आग्रह गरे।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायका १० विद्यार्थीको असोज २० मा इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गएको थियो। ज्यान गुमाउनेमा बझाङका गणेशकुमार नेपाली, डोटीका पदम थापा, डोटीकै राजन फुलारा, दार्चुलाका लोकेन्द्र सिंह धामी, दार्चुलाकै दिपेशराज विष्ट, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीकै आशिष चौधरी, सल्यानका प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साह रहेका छन्। उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्र्तगत त्यहाँ पुगेका थिए। सोही कार्यक्रममा उनीहरूसहित विश्वविद्यालयबाट ४९ विद्यार्थी गएका थिए। तीमध्ये कञ्चनपुरका विपिन जोशी अहिलेसम्म सम्पर्कमा छैनन् ।

मृतकका परिवारलाई सहयोग हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकारले मृतक विद्यार्थीका परिवारलाई आर्थिक सहयोग गरेको छ। घटनालगत्तै घोषणा गरेको सहयोग रकम आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले स्मृति सभामा हस्तान्तरण गरेका छन्। उनले प्रतिपरिवार दुई लाखका दरले सहयोग रकम हस्तान्तरण गरेका छन्।

सो रकम सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थायी घर भएका सात जना मृतक विद्यार्थीहरूका परिवारलाई हस्तान्तरण गरिएको हो। सोही अवसरमा विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरूबाट संकलित रकमसमेत मृतक विद्यार्थीका परिवारलाई प्रदान गरिएको छ।

अक्षयकोष स्थापना गर्ने घोषणा

मृतक विद्यार्थीका परिवारले अक्षयकोष स्थापनाको घोषणा गरेका छन्। उनीहरूमध्ये राजन फुलारा र पदम थापाका परिवारले यस्तो घोषणा गरेका हुन्।

फुलाराका दाइ टीका फुलाराले एक लाख ५१ हजार १०१ रूपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरे। उनले कार्यक्रममा आफ्ना कुरा राख्न नदिएकोप्रति दुःख व्यक्त गरे। उनले मृतकका परिवारको पीडालाई बेवास्ता गरेको महसुस भएको बताए।

थापाका दाइ दानबहादुर थापाले समेत भाइको स्मृतिलाई जीवित राख्न अक्षयकोष बनाउने बताए। उनले पैसाले भाइ फिर्ता नआउने भन्दै भाइलगायत सबैको स्मरण हुने गरी कुनै काम गर्न सुझाव दिए।

मृतकका परिवारहरूको कुरा सुनेपछि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डिन डा. विष्णुविलास अधिकारीले विद्यार्थीहरूको सम्झनामा अक्षयकोष र सालिक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २७ मंसिर २०८० ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App