२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

गर्मी नघटेपछि उदयपुरका विद्यालयमा थप बिदा

अत्यधिक गर्मीका कारण बिदा गरिएका विद्यालय अझै केही दिन सञ्चालन नहुने भएका छन्। गर्मी घट्नुको साटो झन्झन् बढ्दै गएकाले उदयपुरका विद्यालय थप केही दिन बिदा दिइएको छ।  

साता दिनयता अत्यधिक गर्मी बढेपछि पठनपाठन गर्न गराउन नसक्ने भन्दै स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा २ दिन बिदा दिने निर्णय गरेका थिए। तर, अझै गर्मी कम नभएको भन्दै सदरमुकाम त्रियुगालगायत जिल्लाका ३ स्थानीय तहले थप बिदा दिने निर्णय गरेका छन्। अत्यधिक गर्मी बढेर बालबालिका कक्षाकोठामा बस्नै नसक्ने अवस्था भएपछि त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरले सामुदायिक तथा संस्थागत विद्यालय जेठ २१ देखि २३ गतेसम्म बिदा दिएका थिए। 

तर २४ गतेदेखि थप गर्मी बढेको भन्दै शुक्रबारसम्मका लागि बिदा थपिएको त्रियुगा नगरपालिका शिक्षा शाखा अधिकृत शिवकुमारी राउतले बताएकी छिन्। राउतद्वारा जारी सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकालाई पठनपाठन गर्न कठिनाइ हुने भएकाले सुरुमा २ दिन गर्मी बिदा दिने निर्णय गरिएकोमा थप गर्मी बढ्दै गएको हुनाले शुक्रबारसम्म बिदा थपिएको उल्लेख छ। नगरपालिकाले विद्यालयहरूलाई आउँदो साउन भदौमा दिइने बर्खे बिदासँग समायोजन गर्नेगरी अहिले नै बिदा दिन आग्रह गरेको राउतले बताइन्। उता चौदण्डीगढी र बेलका नगरपालिकाले पनि छुट्टाछु्ट्टै सूचना जारी गरी गर्मी बिदा दिएका छन्।  

गर्मीका कारण सबभन्दा बढी विद्यालय प्रभावित भएका छन् भने निर्माण क्षेत्र पनि उत्तिकै प्रभावित छ। खासगरी ज्याला मजदुरी गरिखाने मजदुर र खेतबारीमा कम गर्ने किसान गर्मीबाट प्रभावित भएका छन्। त्रियुगा नगरपालिकाका १४, १५ र १६ पहाडी वडाबाहेक अन्य वडा तराई र भित्री मधेसमा पर्छन्। त्यस्तै चौदण्डीगढी र बेलका नगरका केही वडाबाहेक सबै खोंच र भित्री मधेसमा छन् भने कटारी नगरपालिकाका १ देखि ८ सम्म खोंच तथा भित्री मधेसमा छन्। ९, १०, ११, १२, १३ र १४ नम्बर पहाडी भेगमा परे पनि सुनकोसी नदीकिनार आसपासका बेंसी क्षेत्रमा उत्तिकै गर्मी बढेको स्थानीयको भनाइ छ। 

प्रकाशित: २६ जेष्ठ २०८० ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App