२९ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

रूपान्तरण कक्षाले ल्यायो बालबालिकामा परिवर्तन

कैलालीको घोडाघोडी नगरपालिका-१ हिम्मतपुरकी गुञ्जन चौधरी १४ वर्षकी भइन्। हिम्मतपुर मुक्तकमैया बस्ती हो। उनको पारिवारिक पृष्ठभूमिसमेत मुक्तकमैया हो।

उनी सुखडस्थित राष्ट्रिय माविमा कक्षा ६ मा अध्ययनरत छिन्। उनी गाउँघरदेखि विद्यालयसम्म परिचित छिन्। उनको परिचय एक हक्की बालिकाका रूपमा स्थापित छ। उनी आफ्नो मनमा लागेका कुरा सबैसामु निर्धक्क राख्छिन्।

उनी केही समय अघिसम्म भने निकै लजालु थिइन्। उनलाई घरपरिवारका सदस्यबाहेक अरूसँग बोल्न निकै अप्ठ्यारो लाग्थ्यो। कक्षा कोठामा समेत उनी कसैसँग बोल्दैनथिन्। उनका सीमित साथी थिए; जोसँग मात्रै उनको कुराकानी हुन्थ्यो। कक्षा कोठामा नजानेका कुरा शिक्षकलाई सोध्न समेत उनलाई डर लाग्थ्यो। ‘म आफैंमा आएको परिवर्तन देखेर दंग छु’, उनले भनिन्, ‘म अहिले आफ्नो कुरा जुनसुकै ठाउँमा गएर राख्न सक्छु।’

गुञ्जनको जीवनमा परिवर्तन ल्याएको रूपान्तरण कक्षाले हो। वर्ल्ड भिजन र बाल कल्याण संघको साझेदारीमा कैलालीका ५ पालिकाका २४ वडामा सञ्चालित रूपान्तरण कक्षाले गुञ्जनमा जस्तै धेरै बालबालिकाको जीवनमा परिवर्तन ल्याएको छ। रूपान्तरण कक्षा लिएपछि आफ्नो जीवनमा परिवर्तनको महसुस गर्नेमध्ये भजनी नगरपालिका-१ की १४ वर्षकी जेनिसा चौधरी पनि एक हुन्।

उनी वडास्तरीय बालअधिकार समितिकी उपाध्यक्ष समेत हुन्। उनी स्थानीय महुन्याल माविमा कक्षा ५ मा अध्ययनरत छिन्। उनको क्षमता देखेर सबैले समितिको उपाध्यक्षमा बस्न भनेका थिए। उनी अहिले बालबालिकाको हक अधिकारका क्षेत्रमा मात्रै नभई हरेक किसिमका विभेदविरुद्ध वकालत गर्छिन्। उनी समितिमा आउने मुद्दा-मामिलाका बारेमा समेत बोल्छिन्।

‘हिजो आफैं बोल्न डराउँथें आज अरूको हक अधिकारका लागि बोल्ने गरेकी छु’, उनले भनिन्, ‘कोही गाह्रो-अप्ठ्यारोमा परे मकहाँ आउने गरेका छन्।’ सुखडस्थित राष्ट्रिय माविमा कक्षा ६ मा अध्ययनरत १५ वर्षकी सोनु चौधरी रूपान्तरण कक्षापश्चात् आफ्नो अध्ययनमा समेत रुचि बढेको बताउँछिन्।  

उनी समाजमा अरूभन्दा अब्बल बन्नुपर्छ भन्ने सोचको विकास भएको बताउँछिन्। उनले अरूभन्दा अब्बल बन्नका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताइन्। ‘आफू कमजोर भएर अरूलाई सिकाउन सकिँदैन’, उनले भनिन्, ‘त्यसका लागि आफू अरूभन्दा अब्बल हुनुपर्छ; जसले मलाई अध्ययनमा रुचि बढायो।’

घोडाघोडी नगरपालिका-१० आमखैयाकी २३ वर्षीया अनिता चौधरी साथी शिक्षक हुन्। उनी रूपान्तरण कक्षा लिएपछि साथी शिक्षक बनेकी हुन्। स्थानीय बुलबुले क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत उनी रूपान्तरण कक्षापछि आफ्नो जीवन रूपान्तरण भएको बताउँछिन्। ‘म पहिले आफूलाई निकै कमजोर महसुस गर्थें’, उनले भनिन्, ‘अहिले बिहान अँध्यारैमा जंगलको बाटो काटेर क्याम्पस जान्छु। मलाई त्यो हिम्मत रूपान्तरण कक्षाले दिएको हो।’

उनी विगत एक वर्षदेखि साथी शिक्षकका माध्यमबाट बालबालिकालाई रूपान्तरण गर्ने अभियानमा सक्रिय छिन्। उनी १३ देखि १९ वर्ष उमेर समूहका २५ बालबालिकालाई हरेक शनिबार जीवनोपयोगी कुरा सिकाउँछिन्। भजनी नगरपालिका–१ की २२ वर्षीया नितु चौधरीसमेत साथी शिक्षिका हुन्। उनी स्थानीय महुन्याल बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन्। उनका अनुसार रूपान्तरण कक्षाले बाल विवाह न्यून गरेको छ। उनले हालै १६ वर्षको उमेरमा बिहे गरेकी एक युवतीलाई पुनः विद्यालय भर्ना गर्न सफल भएको बताइन्। उनका अनुसार भजनी नगरपालिका– १ मधुवन गाउँकी ती युवती अहिले कक्षा ९ मा अध्ययनरत छिन्।

बालबालिकाले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन्। क्लबमा आबद्ध बालबालिका हरेक महिनाको एक दिन जम्मा हुन्छन्। उनीहरू अनुभव आदानप्रदान गर्छन्। गाउँघरमा देखिएका समस्या समाधानका बारेमा छलफलसमेत गर्छन्। बालबालिकालाई यस कार्यमा साथी शिक्षकलगायतले सहयोग गर्छन्।

अभिभावक समेत बालबालिकाको कामप्रति सन्तुष्ट छन्। जिल्लाका घोडाघोडी, भजनी, टीकापुर, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका गरी पाँच पालिकामा १४ वटा रूपान्तरण कक्षा सञ्चालित छन्। ती कक्षामा २५ जनाका दरले बालबालिका सहभागी छन्। हरेक एक कक्षामा दुईजना साथी शिक्षकले बालबालिकालाई जीवनोपयोगी कुरा सिकाउँछन्। रूपान्तरण कक्षामार्फत बालबालिकालाई यौन तथा प्रजनन शिक्षा, योजना तर्जुमा, नेतृत्व विकास, आत्मरक्षा, असल साथी चिन्नेलगायतका बारेमा जानकारी दिइन्छ।

प्रकाशित: २२ चैत्र २०७९ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App