२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १३:३९ अपराह्न
सम्पादकीय

कारागार (अ) व्यवस्था

थुनाभित्र पनि गुण्डा समूहबिच भीडन्त हुँदा एक व्यक्तिको ज्यान जानु भनेको आफैंमा सुरक्षा व्यवस्थामाथिको ठट्टा हो। 

न्यायालयले अपराध ठहर गरी तोकिदिएको सजाय भोग्न थुनामा गएका व्यक्तिलाई समेत थप अपराध गर्नबाट रोक्न सकिँदैन भनेपछि हाम्रो मुलुकको कारागार व्यवस्थालाई के भन्ने? वास्तवमा कारागारको जिम्मेवारी पाएको गृह मन्त्रालय मातहत कारागार व्यवस्था विभागलाई नयाँ नाम दिए हुन्छ– कारागार (अ)व्यवस्था विभाग।

कैलाली कारागारमा शुक्रबार मध्यरातमा भएको झडपमा एक व्यक्तिको मृत्यु र ४९ जना घाइते भएका छन्। एउटा ब्लकबाट अर्को ब्लकमा प्रवेश गरी कैदीहरू आपसमा झडप गर्दा यस्तो स्थिति आएको हो। यो आफैंमा नौलो अवस्था भने होइन। देशका कैयन कारागारमा यस किसिमको अवस्था बेलाबेलामा आउने गर्छ। त्यसलाई प्रहरी प्रशासनको लापरबाहीका रूपमा चित्रण गरिन्छ। कारागारको जिम्मेवारीमा रहेका प्रहरी र अन्य प्रशासनिक कर्मचारीलाई मात्र यसको जिम्मेवारी दिएर पुग्दैन।

वास्तवमा हाम्रा कारागारहरू सुधारगृहभन्दा पनि थप खतरनाक अपराधी बनेर निस्कन सक्ने वातावरण रहेको यसबाट सहजै बुझ्न सकिन्छ। कारागारभित्र आफ्नै संसार हुन्छ। त्यसमा पनि एकथरी कैदीबन्दीले त्यहीबाट अपराधको साम्राज्य चलाइरहेका हुन्छन्। कारागारभित्रै त्यहाँका ‘भाइनाइके’ लगायतका पदमा पुग्न कैदीहरूबिच प्रतिस्पर्धा हुन्छ। जो यस्ता जिम्मेवारीमा पुग्छन्, तिनले आर्थिक उपार्जन गर्न थाल्छन्। त्यहाँ कार्यरत प्रहरी र प्रशासनले यसबाट नाजायज लाभ लिनसमेत थाल्छन्। यो स्थितिले क्रमश: कारागारभित्र रहेर अपराधको निरन्तरताका निम्ति काम गर्ने अवसर पाउँछन्।

कैलाली कारागारमा राति सुतिरहेका एक कैदीको समूहमाथि अर्को समूहले अन्धाधुन्ध सांघातिक हमला गरेपछि अहिलेको दु:खद अवस्था आएको हो। कारागारमा प्रहरी प्रशासन प्रवेश गर्नसमेत नसक्ने अवस्थामा पुग्नु भनेको भयावह अवस्था हो। यसले बल भएको समूहले कारागारभित्र पनि आफूले चाहेको काम गर्न र गराउन सक्ने देखिएको छ। तिनले चाहँदा कारागारभित्रै रक्तपातको स्थितिसमेत आउँछ। यस्तो अवस्था कैलाली कारागारमा मात्र होइन देशमा यसअघि पनि विभिन्न यस्ता क्षेत्रमा खतरनाक ढंगले आक्रमण हुने गरेको देखिएको छ ।

कारागार प्रशासनको जिम्मेवारी कैदीबन्दीलाई अनुशासित बनाउने हो। त्यसका निम्ति तिनले त्यहाँभित्रको अवस्थाबारे पूर्ण जानकारी राख्नुपर्छ । आपसी वैमनस्यता भएका कैदीबन्दीलाई एउटै कारागारमा राख्नु उचित हुँदैन । यसरी राख्ने नै हो भने पनि आवश्यक सुरक्षा व्यवस्थामा ध्यान पुर्‍याउनुपर्छ। कैलाली कारागारको हकमा यस्तो स्थितिमा विचार पुर्‍याएको देखिएन। अझ यस्तो दुर्घटना गराउन खोजिँदैछ भन्ने थाहा भएर पनि त्यसमा रोकथाम गर्न नसक्नु आफैंमा कमजोरी हो।

वास्तवमा गृहप्रशासनलाई चुस्तदुरुस्तसँग चलाउन नसक्नुको जिम्मेवारी गृहमन्त्रीकै तहबाट लिनु उचित हुन्छ। यस्तो अवस्था आइरहँदा पनि गृहमन्त्री रमेश लेखकले भूमिका निर्वाह गर्न सकेको देखिएन। कारागारभित्रै यत्रो ठुलो घटना हुन्छ भने गुण्डागर्दीको अवस्था कहाँ पुगेको रहेछ ? हालै राजधानी काठमाडौंमा गुण्डानाइकेहरूको जन्मदिनमा तरबार लिएर केक काटेकोदेखि राति होहल्ला गरेर पूरै समुदायलाई आतंकित तुल्याएको घटनालाई पनि सज्ञानमा लिनु उचित हुन्छ। गुण्डाहरूमा यो तहको मनोबल बढ्नु भनेको प्रहरी प्रशासनको कमजोरी हो। कानुन हातमा लिँदा सजाय हुन सक्छ भन्ने तिनलाई महसुस छैन भन्नुको अर्थ ती आफैं कति दह्रा भइसकेका रहेछन् भनेर बुझ्नुपर्ने हुन्छ। ‘साउथ इन्डियन’ सिनेमा शैलीका गतिविधि समाजमा देखिन थाल्नु भयावह अवस्था हो। यसले कारागारमा संख्या बढाउँदै जाने देखिन्छ। यसै पनि कारागारमा कैदीको संख्या यसको क्षमताभन्दा कैयनगुणा बढी छ।

कैलाली कारागारभित्र पनि दुई गुण्डा समूहबिचको झडपका कारण यो स्थिति आएको देखिन्छ। यो तहको अपराधकर्ममा संलग्न हुनुहुँदैन भन्ने सोचको विकास गराउन सक्नुमा प्रहरी प्रशासनको सफलता निर्भर गर्छ। समाजमा अपराधकर्ममा संलग्न हुनुहुँदैन भन्ने सन्देश प्रवाह गराउनु उचित हुन्छ। हामी कहाँ त कैयन अपराधी कारागारबाट छुटेर गएपछि फेरि अपराधकर्ममा संलग्न भएको पाइएको छ। कैयनलाई असल चालचलनका आधारमा थुनामुक्त गरिएको हुन्छ तर तिनको चालचलन आपराधिक नै देखिन्छ। यसले थुनामुक्त भएपछि पनि विश्वास गर्ने आधार हुँदैन।

हामीले समाजलाई आपराधिक व्यक्तिको पहिचान गर्ने र तिनीहरूबाट सतर्क हुनसक्ने अवस्था सिर्जना गर्नु उचित हुन्छ। एकपटक सजाय भोगिसकेर बाहिरी संसारमा फर्के पनि तिनले पुन: आफ्नो विगतलाई दोहोर्‍याउन सक्ने खतरा पनि उत्तिकै हुन्छ। त्यसकारण पनि समाजलाई तिनका बारेमा जानकारी गराउनुपर्ने हुन्छ। यस्ता व्यक्ति कुन समुदायमा बस्छन्, तिनले के कस्तो गतिविधि गर्छन् भन्ने पक्षमा निरन्तर अनुगमन गर्नुपर्ने हुन्छ। ठुला अपराध कर्ममा संलग्न व्यक्ति रहेको क्षेत्रलाई बाहिरैबाट कुनै संकेत वा चिह्नले समेत सर्वसाधारणलाई जानकारी गराउनुपर्छ।

अमेरिकामा यस्ता आपराधिक पृष्ठभूमिका व्यक्तिलाई अभिलेख, बायोमेट्रिक तथ्यांक संकलन र अन्य अनुगमनबाट पहिचान गर्ने गरिएको हुन्छ। यस्तो प्रणालीका कारण कानुन कार्यान्वयन र अन्य निकायले व्यक्तिहरूलाई निरन्तर अनुगमन गरी आवश्यकताअनुसार अपराधकर्म पत्ता लगाउन भूमिका खेल्छन्। हामी कहाँ भने आपराधिक पृष्ठभूमिका व्यक्तिलाई चिन्न नसक्दा धेरै पटक नोक्सानी भएको छ। कैलाली कारागारमा जस्ता घटना हुन नदिन सरकारले आवश्यक व्यवस्था मिलाउन सक्नुपर्छ। कारागारलाई अव्यवस्थित गरेर समाजमा अनिश्चयको सन्देश दिनु उचित हुँदैन।

प्रकाशित: २६ श्रावण २०८२ ०६:०६ सोमबार

Download Nagarik App
Download Nagarik App