७ वैशाख २०८१ शुक्रबार
सम्पादकीय

वायु प्रदूषणको जोखिम

काठमाडौँ उपत्यकामा अहिले जे/जसरी वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ, त्यो जनस्वास्थ्यका हिसाबले चिन्ताको विषय हो । वायु प्रदूषणका कारण शुक्रबार र शनिबार दिनभरि नै काठमाडौँ उपत्यका धुम्म भयो भने विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषण मापक स्टेसनले वायु प्रदूषणको अवस्था निकै नै अस्वस्थकर भएको देखाएको छ । वातावरण विभागको वेबसाइटमा शुक्रबार साँझ पौने ६ बजे भैँसेपाटीको वायु गुणस्तर सूचकांक (अक्वा) ४४७ रेकर्ड हुनुले पनि वायु प्रदूषणको स्तर भयाबह हिसाबले बढेको देखिन्छ । यति धेरै मात्रामा वायु प्रदूषणको तह बढ्नु जनस्वास्थ्यका लागि अत्यधिक घातक हो । 

उपत्यकाका अन्य स्थानमा रहेका वायु प्रदूषण मापक स्टेसनमा पनि वायु प्रदूषणको स्तर ३ सय अंकको हाराहारीमा देखिएको छ जुन जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर स्तर हो । वायुको गुणस्तर तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डमा रहेको संस्था एयर भिजुयलका अनुसार शुक्रबार साँझ वायुको स्तर र प्रदूषित सहरको सूचीमा विश्वका झण्डै १ सय सहरमा काठमाडौँ पहिलो नम्बरमा रह्यो । यसरी वायु प्रदूषणका हिसाबले काठमाडौँ सहरले संसारका अन्य सबै स्थानलाई उछिन्नु आफैँमा विडम्बनापूर्ण अवस्था हो । यसले हामी कतिसम्म घातक स्तरको वायु प्रदूषणको अवस्थामा बसिरहेका छौँ भन्ने कुरा देखाएको छ । त्यसैले पनि सर्वसाधारण आफैँले पनि यो बेला सावधानी अपनाउन जरुरी छ ।  

अन्तर्राष्ट्रियरूपमा वायु प्रदूषणको मात्रा नाप्दा प्रदूषणको स्तरलाई विभिन्न ६ तहमा विभाजन गर्ने गरिएको हुन्छ । यसरी नाप्दा इन्डेक्स अक्वा १५० देखि २०० सम्म रहेको अवस्थालाई अस्वस्थकर मानिन्छ जसलाई रातो रङ दिइएको हुन्छ । रातो रङ खतराको हिसाबले चौथोमा पर्छ । त्यस्तै २०० देखि ३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ जुन खतराको हिसाबले पाँचौँ तह हो भने यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ । त्यस्तै ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ जुन तहलाई ‘घातक’ स्तर मानिन्छ यसरी उपत्यकाको वायु प्रदूषणको अहिलेको अवस्था प्रदूषण स्तर मापन वर्गीकरणका हिसाबले घातक स्तरमा रहेको देखिन्छ । वायु प्रदूषणको मात्रा बढेको अवस्थामा जनस्वास्थ्य संकटकाल घोषणा गर्ने र वायु प्रदूषण कम गर्न विभिन्न किसिमका कार्यक्रम संचालन गर्ने आमप्रचलन विभिन्न देशमा छ। र, त्यस किसिमको अभ्यास पनि हुँदै आएको छ। 

विगतमा भारतको दिल्लीमा अत्यधिक वायु प्रदूषण हुँदा जनस्वास्थ्य संकटकाल घोषणा गर्नुका साथै त्यसको असर न्यूनीकरणका लागि कार्यक्रमहरू ल्याइएको थियो । तर हामीकहाँ अत्यधिक मात्रामा वायु प्रदूषण हुँदा पनि सरकारले सर्वसाधारणको स्वास्थ्यका लागि जे/जस्ता कार्यक्रम ल्याउनुपर्ने हो, त्यसतर्फ ध्यान गएको देखिँदैन । त्यसो त सरकारले गत वर्ष काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना पारित गरेको हो जसमा वायु प्रदूषणको तह ३०० एक्युआइ नाघेपछि आपत्काल घोषणा गर्ने प्रावधान छ । तर अहिले सरकारी कार्ययोजनामा उल्लेख भए भन्दा एक्युआइ झण्डै १ सय ५० बढी हुँदा पनि सरकारले खासै चासो दिएको देखिँदैन । उपत्यकाको वायु प्रदूषणको विषयमा सरकार यो हदसम्म उदासीन हुनु दुःखलाग्दो पक्ष हो ।  

सरकारले अहिलेको अवस्थामा सर्वसाधारण विशेष गरी जोखिम समूहमा रहेकालाई घरबाहिर ननिस्कन, निस्कनुपरे एन–९५ मास्क लगाउन र गाडी कम चलाउन अपिल गर्नुपर्ने हो । साथै यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रम तत्काल ल्याउनुपर्ने हो । तर सरकार शनिबार र आइतबार बिदा भएकाले प्रदूषणको तह घट्ने आशामा रहेको देखिन्छ । गाडीहरूबाट निस्कने धुवाँ, इँटा उद्योग तथा विभिन्न कलकारखानाले उत्सर्जन गर्ने धुवाँ, फोहोर बाल्दा निस्कने धुवाँ तथा सडक निर्माणका क्रममा निस्कने धुलोका कारण वायु प्रदूषण अत्यधिक भएको हो । त्यसैले प्रदूषणका यी स्रोत न्यूनीकरण गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हो । त्यसका साथै अहिले राजधानीमा प्रदूषण अकस्मात बढ्नुमा जंगलमा लागेको डँढेलोलाई प्रमुख कारण मानिएको छ । राजधानी आसपासका मकवानपुर, चितवन, पर्सा, नुवाकोटलगायत मुलुकका ५४ जिल्लाका वनमा डँढेलो लागेको छ । डँढेलोबाट निस्केको धुवाँ र धुलोले काठमाडौँको आकाश ढाकिएको मौसमविद्हरूको भनाइ छ । त्यसैले यो अवस्थामा डँढेलो नियन्त्रणमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।

‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार १ सय जनाको मृत्यु भएकोे छ। त्यस्तै सन् २०१६ को विश्व स्वास्थ संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण राजधानीमा मात्रै झण्डै १० हजार मानिसको मृत्यु हुने गरेको देखाएको छ । वायु प्रदूषणका कारण मुटु रोग, फोक्सोको समस्या, निमोनिया, मस्तिष्क घात जस्ता समस्या उत्पन्न हुने अध्ययनहरूको निष्कर्ष छ ।

कचौरा आकारको काठमाडौँको भूगोल जे/जस्तो छ, त्यसका कारण पनि प्रदूषण सजिलै हटेर नजाने विज्ञहरूले औल्याउँदै आएका छन् । त्यसैले पनि उपत्यकाको प्रदूषण स्तर कम गराउन विभिन्न कार्यक्रम ल्याउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयनका लागि विज्ञहरूले जोड दिँदै आएका हुन् । तर सरकार प्रदूषण घटाउने सवालमा आफैँ अलमलिएको जस्तो देखिन्छ। न प्रदूषण न्यूनीकरणका लागि कार्यक्रमहरू नै ल्याएको छ न त विगतमा ल्याएका कतिपय योजनाकै कार्यान्वयन गरेको देखिन्छ। 

 सरकार प्रदूषण घटाउने सवालमा आफैँ अलमलिएको जस्तो देखिन्छ। न प्रदूषण न्यूनीकरणका लागि कार्यक्रमहरू नै ल्याएको छ न त विगतमा ल्याएका कतिपय योजनाकै कार्यान्वयन गरेको देखिन्छ। 

काठमाडौँको प्रदूषण सवारी साधनले फाल्ने धुवाँ र भौतिक पूर्वाधारहरू निर्माणका क्रममा उत्पन्न हुने धुलोका कारण भएको हो भन्ने बुझ्न कठिन छैन । तर सरकारले प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने कुरामा खासै ध्यान दिएको देखिँदैन । बरु, उल्टै विद्युतीय सवारीमा करको मात्रा बढाउने काम गरेको छ । त्यसैले यो अवस्थामा सरकारले पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनलाई निरुत्साहित गर्नेदेखि उपत्यकाका सडक, ढल, खानेपानीलगायतका अन्य भौतिक संरचना निर्माण गर्दा छिटो भन्दा छिटो गर्ने उपायहरू खोजी गर्नुपर्छ । यसका साथै वायु प्रदूषण बढेका बेला त्यसलाई तत्काल न्यूनीकरण गर्ने कार्यक्रमहरू ल्याइ त्यसको प्रभावकारी कार्यान्वयन गर्न पनि उत्तिकै आवश्यक छ । 

प्रकाशित: १५ चैत्र २०७७ ०३:५३ आइतबार

Download Nagarik App
Download Nagarik App