७ वैशाख २०८१ शुक्रबार
सम्पादकीय

महामारीको चेपुवामा डब्लुएचओ

गत डिसेम्बरमा चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस महामारीको चपेटामा विश्वका २ सय १३ देश परेका छन्। यसबाट संक्रमित संख्या १ करोड ३४ लाख पुगिसकेको छ भने झण्डै ६ लाखले ज्यान गुमाइसकेका छन्। यो महामारी रोकथाम गर्न विश्व समुदायको नेतृत्व असफल भएको र शक्ति राष्ट्रहरू, विशेषगरी अमेरिका र चीन आरोप/प्रत्यारोपमा उत्रँदा महामारी नियन्त्रण तथा रोकथामले अपेक्षित गति पाउन सकेको छैन।  

महामारी रोकथामका लागि शक्ति राष्ट्रले जसरी सहकार्य गर्नुपथ्र्यो, त्यसो हुन सकेको छैन। अन्तर्राष्ट्रिय स्तरमा भएको यो कमजोरी र बेमेलले भाइरसलाई अनुकूल अवसर प्राप्त भएको छ र आफ्नो फैलावट बेरोकतोक अघि बढाइरहेको छ।  

शक्ति राष्ट्रहरू एक/अर्काविरुद्ध खनिँदा बहुपक्षीय र तटस्थ प्रयासहरूको आवश्यकता हुन्छ। त्यही तटस्थ प्रयासको आवश्यकता संयुक्त राष्ट्र संघ र यसका निकायले पूरा गर्न सक्छन्। कोभिड–१९ महामारीको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठनको भूमिका अपेक्षित र महत्वपूर्ण रहन्छ।  

दोस्रो विश्व युद्धपछि संयुक्त राष्ट्र संघको एक अभिन्न अंगका रूपमा संगठन स्थापना भएको हो। अन्तर्राष्ट्रिय सहयोग र सहकार्य अनुभूत भइरहेको सो अवधिमा संगठनले ‘मानव स्वास्थ्यको उच्चतम स्तर कायम गर्ने’ भनेर आफ्नो उद्देश्य परिभाषित गरेको छ। यो बृहत् उद्देश्य प्राप्त गर्ने दिशामा संगठनले सम्भावित जनस्वास्थ चुनौतीका विषयमा विश्व समुदायलाई सजग पार्ने, रोगको फैलावट रोक्ने तथा विश्वव्यापी स्वास्थ्य सेवा नीतिको पैरवी गर्ने काम गर्दै आएको छ।  

सात महिनाअघि सुरु भएको कोरोना महामारी रोकथाम गर्न पनि संगठनले यथासम्भव समन्वयकारी भूमिका निर्वाह गरेको छ। यो कार्यका लागि संगठनले आफ्ना ७ हजार कर्मचारी र १५० कार्यालय परिचालन गरेको छ। महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिकार्य, रोकथाम गर्न आवश्यक निर्देशन, आपत्काल घोषणा तथा सदस्य राष्ट्रहरूलाई आपसी सहयोगका लागि अपिल गर्न संगठनको भूमिका महत्वपूर्ण हुन्छ। भाइरस उपचारका लागि खोपको विकास भए पनि त्यसको विश्वव्यापी वितरण र मूल्य निर्धारणमा समेत संगठनको महत्वपूर्ण भूमिका रहन्छ।  

यसो हुँदाहुँदै पनि संगठनले महामारी नियन्त्रणमा नेतृत्व लिन नसकेको, महामारीको उत्पत्तिक्रम र विज्ञानलाई समयमै बुझेर आवश्यक कदम चाल्न नसकेको, कर्मचारीतन्त्र र ढिलासुस्तीको चपेटामा परेको आरोप लागेको छ। विशेषगरी महामारीपछि संगठनको सबैभन्दा ठूलो दाताका रूपमा रहेको अमेरिकासँगको सम्बन्ध बिग्रेको छ। अघिल्लो साताको मंगलबार विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अमेरिकी सहयोग औपचारिक हिसावले रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रक्रिया अगाडि बढाएका छन्।  कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा चीनलाई जिम्मेवार नठानेकामा उनी संगठनप्रति रुष्ट भएका हुन्। सबैभन्दा ठूलो दाताले हात झिक्दा स्वाभाविकरूपमा संगठनलाई ठूलो धक्का लागेको छ।

अमेरिकामात्र होइन, विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्हरूले समेत भाइरस नियन्त्रणमा संगठनको प्रतिकार्य कमजोर रहेको टिप्पणी गरेका छन्। त्यसका केही आधार पनि छन्।  

पहिलो, सुरुदेखि नै रोगको लक्षण नदेखिएकाबाट रोग सर्छ भन्ने पक्षलाई संगठनले स्वीकार गरेन। दोस्रो, प्रमाणहरूले भाइरस नियन्त्रणका लागि मास्क आवश्यक रहेको देखाउँदा देखाउँदै पनि संगठन आमनागरिकले मास्क लगाउनुपर्ने विषयमा मौन रह्यो। जुन महिनामा मात्र संगठनले आफ्नो धारणा परिवर्तन गरेको थियो र त्यतिबेला विश्वका कैयन् राष्ट्र तथा अधिकांश वैज्ञानिकले मास्क लगाउन सिफारिस गरिसकेका थिए। तेस्रो, चीनका डाक्टरले मानिसबाट मानिसमा भाइरस सर्न सक्ने भनेर डिसेम्बर अन्तिममै भने पनि संगठनले यसलाई जनवरीको मध्यमा आएरमात्र स्वीकार गरेको छ। चौथो, चिनिया अधिकारीले जनवरी २० मा मानिसबाट मानिसमा भाइरस सर्न सक्ने तथ्य स्वीकार गरेका थिए र त्यतिबेला यो भाइरस चीनका धेरै सहरमा विस्तार भइसकेको थियो। साथै युरोप र अमेरिका पुगिसकेको थियो। त्यसो हुँदाहुँदै पनि अर्काे १० दिनसम्म संगठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेन। पाँचौँ, ताइवानका स्वास्थ्य अधिकारीले डिसेम्बरमै वुहानमा निमोनियासँग मिल्ने अनौठो रोग देखिएको भनेर बेइजिङ र विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएका भए पनि त्यसमा सुुनुवाइ भएन। समयमै रोग पहिचान गरेकाले ताइवानमा पनि भाइरसका कारण पाँच सयको मृत्यु भयो तर अन्य मुलुकको तुलनामा यो ठूलो मानवीय क्षति होइन।  

यसरी भाइरसको विश्वव्यापी फैलावटको तीव्र गति र  विश्व स्वास्थ्य संगठनको प्रतिकार्यको समयसारिणीबीच एकापसमा बेमेल देखिन्छ। यसैगरी गत सातामात्र विश्वका ३९ देशका २३९ वैज्ञानिकले संगठनको हावामार्फत कोरोना संक्रमण नहुने धारणा पुरानो र अवैज्ञानिक रहेको भनेर एक पत्र लेखेका थिए र त्यसको केही दिनमै संगठनले ती वैज्ञानिकको दाबीमा दम रहेको स्वीकार गरेको थियो। त्यसो त संगठनको वार्षिक बजेट र यसको कार्यक्षेत्रबीच पनि बेमेल छ। ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको वार्षिक बजेटले यो संस्थाले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन।

विगत ७ महिनामा वैज्ञानिक समुदायले कोरोना भाइरस बुझ्न धेरै अध्ययन÷अनुसन्धान गरेका छन्। तर पनि यो रोगको रहस्य अझै खुल्न सकेको छैन। विशेषगरी यो रोग कसरी सर्छ, यसले कसलाई बढी प्रभाव पार्छ, यसको उपचार कसरी गर्ने भन्ने विषय अझै अनुत्तरित छन्।  

जे÷जस्ता कमजोरी भए पनि स्थापनाको ७२ वर्षसम्म आएर संगठन आफूलाई राम्रो काम गर्ने शक्तिका रूपमा उभ्याउन सफल भएको छ। विश्वव्यापी महामारी रोकथामका लागि डब्लुएचओलाई मात्र जिम्मेवार मान्न सकिन्न। यसमा सबै राष्ट्रको सहकार्य र सुझबुझ आवश्यक छ। महामारीको यो अवधिमा संगठनलाई अझ बढी शक्तिशाली बनाउन र वित्तीय हिसावले सशक्त तुल्याउन आवश्यक छ। डब्लुएचओलाई अमेरिकी र चिनियाँ तिक्तताले प्रभाव पार्नुहुँदैन। 

प्रकाशित: १ श्रावण २०७७ ०५:०० बिहीबार

Download Nagarik App
Download Nagarik App