४ कार्तिक २०७८ बिहीबार
सम्पादकीय

असारे विकास अभिशाप

मुलुकमा कोरोना विषाणुविरुद्ध चैत ११ देखि बन्दाबन्दी सुरु भएपछि राजधानी काठमाडौँंका सडक सुधारको सुखद थालनी भएको हो । जताजतै निराशा भएका बेला कतैबाट उज्यालो किरण देखिएजस्तो हुन पुग्नु स्वाभाविक हो । सडकमा धमाधम कालोपत्र हुन थालेपछि यहाँका बासिन्दा आशावादी बन्ने अवस्था देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जिम्मेवारी पाएलगत्तै राजधानीमा कैयन् वर्षदेखि कालोपत्रे हुने प्रतीक्षामा रहेका सडकले काँचुली फेर्न पाएका हुन् । उनको यो कामलाई लिएर धेरैले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले गरेका कामको सम्झना गर्दै सराहना गरेका पनि हुन् ।  

आफ्नै प्रणालीभित्र बसेर सुधार गर्न सक्ने बहादुरहरूलाई अचेल नेपाली नागरिकले ‘कुलमान पहल’ का रूपमा चित्रण गर्ने गरेका छन् । कैयन् वर्षको लोडसेडिङको अभिशापबाट नेपाली समाजलाई मुक्त गरेकामा आमनागरिकले यो श्रेय दिएका हुन् । त्यही श्रेय वसन्तकुमार नेम्वाङले पाउनु स्वाभाविक हो । हामीकहाँ पद पाउन मरिमेट्ने तर त्यो पदको जिम्मेवारी निम्ति मरिनमेट्ने प्रवृत्ति छ । नेम्वाङजस्ता पहिलोपटक मन्त्री भएर आफ्नो नाममा सुवास बढाउन सक्षम युवा नेता पनि हामीकहाँ छन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकार धेरैतिर आलोचित भइरहनुपरे पनि सडकमा गरेको सुधारको श्रेय भने विस्तारै पाउन थालेको हो ।  

आमनागरिकको यो खुसी भने धेरै टिक्न पाएन । असार लाग्दा/नलाग्दै भर्खरै कालोपत्रे गरिएका राम्रा सडक धमाधम भत्काउने काम सुरु भएको छ । भत्काउने पनि कसरी ? भत्काइसकेको सडकमा तत्काल काम सकेर पहिलेकै अवस्थामा छाडिदिए धेरै राम्रो हुन्थ्यो । सडक भत्काएर असरल्ल छाडिदिएपछि आमनागरिक त्यसै निराश हुने अवस्था आउँछ । विगतदेखि ‘असारे विकास’ को अभिशाप नेपाली समाजमा विद्यमान छ । जहिल्यै त्यसमा आलोचना हुन्छ । विकासका काम समयमै थाल्ने र पूरा गर्ने परिपाटी यो मुलुकमा कहिल्यै बस्न सकेन । असार लागेपछि हामी सबैले आफ्नो आसपासमा जताततै खनेको, माटो थुपारेको, झरीले भर्खर गरिएको सडक सुधार ध्वस्त पारेको देखिरहेका छौंँ । मानिस प्रश्न गरिरहेका छन्– यही काम गर्न किन असार कुर्नुप-यो ?

दुई महिनाअघि चावहिल गोपीकृष्ण सिनेमा जाने बाटो नजिकै राम्ररी कालोपत्रे गरिएको हो । वर्षौँसम्म असरल्ल छाडेको सडक बन्दा स्वाभाविकरूपमा स्थानीय बासिन्दा खुसी हुने नै भए । तर अहिले त्यहाँ मुखैमा खनेर छाडिएको छ । त्यहीँ ढल फुटिरहेको छ । दुई महिनामै त्यो सडक खन्नु थियो भने किन पिच गरियो ? प्रायः सबै सडकमा यही नियति दोहोरिएको छ । दैनिक सडकमा हिँड्ने व्यक्तिले त्यसमा सुधारका निम्ति वर्र्षौँ कुर्नुपर्ने हुन्छ । फेरि त्यही ठाउँलाई केही सुधार गरिन्छ र केही महिनामै भत्काउने प्रक्रिया सुरु हुन्छ । यहाँ जति भत्कायो, त्यति फाइदा छ । बनाउने निकायले बनाएर जान्छ । अर्को निकायले त्यसमा समन्वय गर्दैन । फेरि भत्काइन्छ । भत्काएपछि फेरि बनाउने बजेट पाइन्छ ।  

भत्काउँदै÷बनाउँदै गर्दा प्राप्त हुन्छ– कमिसनरूपी मीठो मह ! हो, यसैका निम्ति निरन्तर सडक भत्काइन्छन् । केही महिनामै भत्काउनु थियो भने किन बनाइरहनु ? यसमा सबै निकायबीच समन्वय गरी काम गरेको भए हाम्रो स्रोतसाधनको सदुपयोग हुन पाउने थियो । मुलुक यसै पनि कोरोना संक्रमणसँग जुध्न रकम अभावमा गुज्रिरहेको छ । यस्तो बेलामा भत्काइहाल्ने सडकमा पिच गरिरहनु आवश्यक थिएन । वास्तवमा समन्वय गरेरभन्दा नगरेर व्यक्तिगत लाभ आर्जन गर्न सकिन्छ । सार्वजनिक सम्पत्ति र स्रोत जति दुरूपयोग गर्न सक्यो, त्यति नै व्यक्तिगत फाइदा हुन्छ । यही फाइदामा मुलुक अघि बढेको छ ।  

सडक डिभिजन कार्यालय काठमाडौंँले जेठ तेस्रो सातादेखि भदौ मसान्तसम्म कुनै पनि बहानामा सडकको कुनै पनि संरचना नखन्न सार्वजनिक सूचना जारी गरेको छ । यो निकायले सूचना प्रकाशित गरे पनि त्यसको पालना हुन सकेको छैन । सडक खन्ने काम भइरहेको छ । बल्ल राजधानीका सडक हेर्न हुने अवस्थामा पुगेका थिए । अहिले राजधानीका कतिपय सडक खण्डमा फेरि पुरानै दुःख सुरु भइसकेको छ । सडक खनेर छाडिदिँदा सर्वसाधारणले गन्तव्यमा पुग्न फेरि सास्ती झेल्नुपरेको छ । घामलाग्दा धुलो र पानी पर्दा हिलोको उही पुरानै अवस्था फेरि दोहोरिएको छ । राजधानी काठमाडौँंका कपन, गोपीकृष्ण, तीनकुने, लाजिम्पाट, गौरीधारा, चुच्चेपाटी, मित्रपार्क–चावहिल–चुच्चेपाटी, जोरपाटी–साँखुलगायत सडकको यतिबेला फेरि बिजोग अवस्था देखिन थालेको छ ।

केही सडक खण्डमा यतिबेला बिजुलीका तार भूमिस्थ गर्ने काम भइरहेको छ । त्यसका निम्ति खनिएका सडकसमेत समयमा काम नगरी अस्तव्यस्त तुल्याइएको छ । राजधानी काठमाडौँंले मेलम्ची खानेपानी आयोजना नामक अभिशापबाट मुक्त हुनै पाएका छैनन् । त्यसका कारण गत वर्षसम्म राजधानीले दुःख पायो । अहिले बिजुलीका तार भूमिस्थ गर्ने नाममा फेरि सडक आतंक देखिएको छ । समयमै यी काम पूरा गराउनेतर्फ ध्यान दिन सकेको देखिएन । मन्त्री नेम्वाङले सडकमा भइरहेको यो अव्यस्थापन नियन्त्रण निम्ति फेरि सक्रिय हुने अवस्था छ । जसले विनाअनुमति सडक खनेर हायलकायल बनाइरहेका छन्, तिनीमाथि कारबाही हुनुपर्छ । मन्त्री नेम्वाङ सक्रिय भए भने यो अराजकता अन्त्य हुन सक्छ । असारे विकासको अभिशापबाट मुलुकलाई मुक्त गरौँ ।

प्रकाशित: १२ असार २०७७ १०:५६ शुक्रबार

Download Nagarik App
Download Nagarik App