१८ पुस २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

मिथकीय ढुंगो राजनीतिक टुंगो

केही वर्षअघि युरोपमा निकै चर्को खडेरी पर्‍यो। खडेरी कस्तो भने त्यहाँका जलाशयका पानी घटे, सिँचाइका जलस्तरहरू न्यूनस्तरमा पुगे। त्यहाँका किसानहरूबिच पानीका लागि झगडा बढ्न थाल्यो। त्यतिबेला एउटा अचम्मको खबर युरोपेली मिडियामा भाइरल बन्न पुगेको थियो। समाचारअनुसार युरोपको एल्बी नदीमा सन् १६१६ ताका खोपिएका केही अक्षरहरू सतहमा देखिए। विज्ञजनले सतहमा देखिएका अक्षरको अर्थ खोज्न थाले। पछि पत्ता लाग्यो ती त इतिहासमा अंकित गरिएका ‘हंगर स्टोन्स’ रहेछन्।

त्यसताका नदी सतह सबैभन्दा तल पुगेका बेला ढुंगामा खोपिएको थियो। त्यसमा लेखिएको थियो, ‘तिमीले मलाई देख्यौ भने छाती पिट्न थाल्नु किनभने अब खडेरी उच्च तहमा पुगेको छ ।’ चार सय वर्षअघि खोपिएको सो सन्देश यतिबेला सर्वसाधारणलाई सचेत गराउन पर्याप्त छ। सयौं वर्षअघिका अनुभव सयौं वर्षपछि काम लाग्छन्। परम्परागत रूपमा हासिल गरिएका त्यस्ता ज्ञान र ज्ञानका मूलहरूको रक्षा गरिनुपर्छ। संसारभरिका अनुभवले पनि यही कुरा सिकाइरहेको छ।

केही वर्षअघि नेपालमा पनि खुवालुङको निकै ठूलो चर्चा हुने गरेको थियो। केहीका लागि खुवालुङ मात्र ढुंगो थियो, आदिवासी–जनजातिहरूका लागि भने त्यो सभ्यता थियो। अन्ततः स्थानीयले खुवालुङको महत्त्व बुझाइसकेपछि भने जलयात्रा सहज बन्न पुग्यो। नत्र त, खुवालुङ पत्थरलाई फुटाउने कि पाखा लगाउने वा त्यहीं छाड्ने भन्नेबारे ठूलो चर्चा, परिचर्चा र राजनीतिसमेत भयो।

यी सारा कुराको चर्चाका पछाडि अहिले अर्को ढुंगाको चर्चा भइरहेको छ। काठमाडौं उपत्यकामा अर्को एउटा मिथकसँग जोडिएको ढुंगो चर्चाको केन्द्रमा छ। चोभारको गल्छीमा रहेको ढुंगोले काठमाडौं उपत्यकाको पानीको बहाव रोकिरहेको र त्यो बहावको तीव्रताका लागि यहाँका ढुंगाहरूलाई काट्ने प्रस्ताव गरिएको खबर अहिले चर्चामा छ।

काठमाडौं उपत्यका बस्न लायक बनाउन मञ्जुश्रीले खड्ग प्रयोग गरी यहाँको पहाड काटेर तलाउको पानीलाई मार्ग खोलेको मिथक छ। अहिले यही ठाउँमा पानीको बहाव रोकिने गरेको काठमाडौंबासीको अनुभव छ। गएको वर्ष भएको वर्षामा नदी क्षेत्र वरपरका घरहरू पानीमा डुबुल्की लगाउन पुगे। लाखौं व्यवसायीका व्यवसायहरू चुर्लुम्म डुबे। यस्तो किन भयो भन्ने विश्लेषण गरी ल्याउँदा केही विशेषज्ञहरूले चोभारको साँघुरो गल्छीको उदाहरण दिइरहेका छन्। गल्छीको साँघुरोपन काठमाडौं डुबानको एक्लो कारण होइन। यहाँको अव्यवस्थित बसोबास र नाफाका लागि खोलानालासमेत मिच्ने नियत ठूलो कारण हो। हिउँदमा खोलालाई तह लगाउने मान्छेको उदण्डताको जवाफ वर्षायामको खोलाले दिएको हो। त्यति मात्र होइन आकाशको पानी सोस्न सक्ने गरी विगतमा रहेका संरचना टाल्दै काठमाडौंलाई कंक्रिटको जंगल बनाउँदाको परिणाम पनि हो - यो।

रह्यो चोभारको गल्छीको ढुंगा काटी पानीको बहाव खुलाउने योजनाका लागि स्थानीय तहमा भइरहेका चर्चा, त्यसमा सर्वसाधारण जनतालाई रत्तिभर विश्वास छैन। सा-साना स्वार्थका लागि पूरै संसद्लाई भ्रममा राखेर ऐन बनाउनेहरूको जमातका रूपमा सांसद, नेता र कर्मचारी एकमुष्ठ रूपमा बदनाम भइसकेका छन्। त्यसैले उनीहरूले ढुंगो छिमल्ने नाममा त्यहाँ के के मात्र ताण्डव मच्चाउने हुन्, विश्वास गर्न गाह्रो हुन्छ। पहिलो कुरा त प्रकृतिले खुलाएको बाटोलाई प्रकृतिले नै स्वतः बनाउँछ। मान्छेको हतारो वा अप्ठेरो उसले बुझ्दैन। अहिलेको सानो स्वार्थमा यहाँको पानी चाँडो छिचोल्न गरिने क्रियाकलापले भोलिका दिनमा चोभार क्षेत्रको जलचर तथा पक्षीहरूको जीवनमा आउने भुइँचालो कल्पना पनि गर्न सकिन्न। तसर्थ आफ्नो बाटो बनाउने काम प्रकृति आफैंले गर्छ। यसमा मान्छेले छेडखानी गर्नु भनेको अर्को अज्ञात समस्या निम्त्याउनु हो। बरु काठमाडौं किन यस्तो भइरहेको छ ? त्यसको गहिराइमा पुगेर समस्या समाधानतिर लाग्नु आवश्यक छ।

विगत ६० वर्षदेखि काठमाडौं उपत्यकाका नदीहरूमाथि दोहन चलिरहेको छ। यिनलाई प्रदूषित गर्ने अपराध भइरहेको छ। अहिले त्यो अन्यायको चरममा यहाँका नदीले आफ्नो बदला लिइरहेका छन्। प्रकृतिसँग हामीले जुझ्ने होइन, उनीहरूसँग तालमेल मिलाउने हो। एउटा ढुंगो छिमलेर उपत्यकाका सबै जल समस्या समाधान हुन्छ भन्नु मूर्खता मात्र हो। काठमाडौंका मान्छेहरूको महत्त्वाकांक्षा, लोभ र सुविधाको तिरो ती ढुङ्गाले तिर्नुपर्छ भन्ने छैन। यसका बाबजुद समयानकूल हुने नाममा चोभारको पानी बहावका लागि त्यहाँको ढुङ्गो नै समस्या हो भने विज्ञजनहरूको गहन परामर्श र छलफलपछि विज्ञानसम्मत तरिकाले काम गर्नुपर्छ। काठमाडौंलाई समग्रमा बस्न अयोग्य बनाउने यहाँको नीति निर्माण क्षेत्र र कार्यान्वयनको तह जिम्मेवार छ। बेहिसाबको विकास यसको कारक हो। बेलैमा नचेत्ने र त्यसको सजाय कुनै एउटा ढुंगालाई दिने हो भने हामी कुन युगका बासिन्दा हौं भन्न सकिन्न।

प्रकाशित: १८ असार २०८२ ०५:५८ बुधबार

Download Nagarik App
Download Nagarik App