१६ पुस २०८२ बुधबार
image/svg+xml
सम्पादकीय

विश्वविद्यालयमा द्रुतमार्गको नियुक्ति

त्रिभुवन विश्वविद्यालय अनुसन्धानको उत्कृष्ट केन्द्र बनाउने उद्देश्यले अनुसन्धान र विद्यावारिधि गरेका उपप्राध्यापक भित्र्याउने तयारीमा छ। विश्वविद्यालयको प्रवेश विन्दु उपप्राध्यापबाटै स्थायी नियुक्ति गरिनेछ। त्यसका निम्ति लिखित परीक्षा आवश्यक हुने आवश्यक हुने छैन। उत्कृष्ट जनशक्ति भित्र्याएर संस्था निर्माण गर्ने संसारभरिको चलन हो। हामीकहाँ उत्कृष्ट जनशक्ति भित्र्याउन पनि नसक्ने र भइरहेको जनशक्तिलाई परिचालन गर्न पनि नपाउने कठिन परिस्थिति छ। स्वाभाविकरुपमा कुनै राम्रो काम गर्न खोज्दा विरोध हुन्छ नै। ‘फास्ट ट्रयाक’ विधिबाट यसरी भर्ना गरिँन लागेका अध्यापकको संख्या १३० भए पनि सबै भन्दा बढी अर्थात सयजना उपप्राध्यापक हुने छन्। यसो हुँदा यसको पक्ष र विपक्षमा धारणा व्यक्त हुनु स्वाभाविक हो। सरकारले ठुलो रकम खर्च गरेर पढ्न पठाएपछि मात्र प्राप्त हुने यस्तो जनशक्ति सिधै विश्वविद्यालयमा भित्र्यान खोज्नु ‘स्मार्ट’ कदम हो।

अनुसन्धान विश्वविद्यालयका लागि अत्यावश्यक योग्यता हो। जसले अनुसन्धान गरेको छैन त्यसले उच्च शिक्षाका विद्यार्थीलाई गतिलो शैक्षिक खुराक प्रदान गर्न सक्दैनन्। तिनले शिक्षार्थीलाई मार्गदर्शन गर्ने अवस्था रहँदैन। त्यसैगरी विद्यावारिधि शिक्षक हुनका लागि अर्को त्यस्तो योग्यता हो जसले कुनै न कुनै सैद्धान्तिक चरण पार गरेर आएको हुन्छ र उसको यस्तो विज्ञता र अनुभवले विद्यार्थी दीक्षित हुने सम्भावना रहन्छ। यसरी हेर्दा अहिले त्रिविले आफूलाई अब्बल बनाउन द्रुत मार्ग उपप्राध्यापकको जुन अवधारणा अघि सारेको छ, त्यसलाई नकारात्मकतवरले लिनुपर्ने देखिन्न। संस्था निर्माणका लागि यस्ता विधि पनि उत्तिकै उपयोगमा ल्याउनुपर्छ।

तर, यस्तो विधिको उपयोग गर्दा गलत मानिसले सहजै प्रवेश नपाऊन भन्नेतर्फ विशेष ध्यान दिनुपर्छ। आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्तिहरू पहिचान गर्न गाह्रो छैन। तिनलाई संस्थामा भित्र्याउने र मुलुककै जेठो विश्वविद्यालयलाई उत्कृष्टतातर्फ उन्मुख गराउन ध्यान पुर्‍याउनुपर्छ।

शैक्षिक क्षेत्रमा योगदान गर्न सक्ने र अनुसन्धानमा विशेष दखल राखेका कैयन नेपाली यतिबेला छन्। नेपालकै सन्दर्भमा केहीले विद्यावारिधिलाई केबल उपाधि आर्जनको रुपमा मात्र अंगीकार गरेका र योगदान गर्न नसकेका उदाहरण पनि छन्। तर, विश्वविद्यालयले भित्र्याउन खोजेका व्यक्ति यी होइनन् भन्नेमा ढुक्क हुन सकिन्छ। योग्य नेतृत्वले छान्ने यस्ता शिक्षण क्षेत्रका व्यक्ति पनि उम्दा हुनेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ। विश्वविद्यालयमा उत्कृष्ट व्यक्तिको प्रवेश हुँदा त्यसले स्वाभाविकरुपमा शैक्षिक उन्नयनमा मद्दत पुग्छ। हाम्रा विश्वविद्यालयहरू यत्तिकै कमजोर भएका होइनन्। तिनमा रहेको अत्यधिक राजनीतीकरण यसको कारक हो। अतिराजनीतीकरणलाई कम गर्दै अध्ययन/अध्यापनको वातावरण सुधार अहिलेको आवश्यकता हो। यसै पनि हाम्रा विश्वविद्यालयले पछिल्ला वर्षमा अनुसन्धान जर्नलहरूमा योगदान गर्दै आएको देखिन्छ। हामीले केही भएन भन्दाभन्दै पनि केही भइरहेको छ।

त्रिभुवन विश्वविद्यालयमा असल प्राध्यापकहरूको प्रवेश नभएको ठानेर विगतमा विश्व बैंकको सहयोगमा तिनलाई भित्र्याइएको पाठ पनि हामीले लिएका छौं। त्यसरी भित्र्याइएका प्राध्यापकहरूले राम्रो योगदान गर्न सकेका छन्। ती त्यस्ता प्राध्यापक थिए, जसलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयले सजिलै लिन सक्थे। कैयनले त्यो काम थालिसकेका पनि थिए। तिनलाई विश्वविद्यालयले लिएपछि गुणस्तर वृद्धिमा सहयोग पुगेकै हुँदा अहिले द्रुत मार्गबाट फेरि अध्यापकहरू भित्र्याउन खोजिएको बुझ्न सकिन्छ। कहिलेकाहीं यसरी पनि काम गर्नुपर्छ। हाम्रा स्कुलकलेजमा यसरी पनि शिक्षक भित्र्याउन खोजियो भने बल्ल गुणस्तरमा योगदान पुग्छ।

आंशिक शिक्षकहरूले पनि द्रुत मार्गका नाममा बिनापरीक्षा भित्र्याइने शैलीको आफूहरूले विरोध गर्ने बताएका छन्। उनीहरूले यस्तो व्यवस्थाबाट त्रिविमा लामो समयदेखि काम गर्दै आएकाहरू मर्कामा पर्ने दाबी गरेका छन्। यस्तो अवस्था सिर्जना हुनुमा आन्दोलन वा पहुँचका भरमा छिरेकाहरू मात्र हैन, यिनै आधारमा सेवामा छिराउनेहरू पनि उत्तिकै जिम्मेवार छन्। कसैले पहिल्यै विश्वविद्यालयमा पहुँचका आधारमा जिम्मेवारी पाएका छन् भन्दैमा नयाँ क्षमतावान व्यक्ति भित्र्याउन पाइँदैन भन्ने हुँदैन। विरोधका लागि विरोध गर्ने मात्र प्रवृत्तिले कहीं पुर्‍याउँदैन। यसअघि पनि कैयनले पहुँचका भरमा प्रवेश लिएर फेरि त्यहाँको स्थायी नियुक्ति लिएका छन्। यस्तो प्रवृत्तिले गुणस्तर कायम गर्न सहयोग पुग्दैन।

विश्वविद्यालयको शैक्षिक गुणस्तरका लागि यसको स्वायत्तताको अभ्यासलाई पनि प्राथमिकतामा राख्नु पर्छ। विश्वविद्यालयलाई स्वायत्त भने पनि राजनीतिकदेखि अनेकन कारणले यसको अभ्यास हुन पाएको छैन। अझ कतिपय अवस्थामा यसमा कार्यरत जनशक्तिले नै उन्नतिमा अवरोध गर्ने गरेको पनि देखिन्छ। नयाँ योग्य व्यक्ति विश्वविद्यालयमा भित्र्याउनुको अर्थ त्यहाँ भइरहेकाहरूको अवनति होइन। भइरहेका प्राध्यापक र कर्मचारीले पनि यसलाई उदारतापूर्वक लिन सक्नुपर्छ। सधैँ सबै विषयलाई राजनीतिक दृष्टिकोणले मात्र हेरेर पुग्दैन। विश्वविद्यालय सुधार्न गरिने जस्तासुकै कठोर कदमका निम्ति तयार हुनुपर्छ। अनि मात्र शैक्षिक उन्नयन हुन्छ। योग्यता र क्षमता भएका व्यक्तिलाई सहज प्रवेशको व्यवस्था नभई संस्था बन्दैनन्। त्यसमा सबैको ध्यान पुग्नुपर्छ।  

प्रकाशित: २८ जेष्ठ २०८२ ०५:५६ बुधबार

Download Nagarik App
Download Nagarik App